काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा पाकिस्तानी महिला क्रिकेटकी कप्तान फातिमा सानाले भारतीय महिला क्रिकेटर स्मृति मन्धनाको खुट्टा ढोगेको तस्बिर भाइरल छ । विशेष गरि भारतीय प्रयोगकर्ताहरूले क्रिकेट मैदानमा फातिमाले स्मृतिको खुट्टा ढोगेको तस्बिर राखेका छन् ।
उनीहरूले आईसीसी महिला विश्वकपमा भारत र पाकिस्तान बिचको खेलमा पाकिस्तानले हार व्यहोरेपछि फातिमाले आफ्नो आइडल स्मृतिको खुट्टा ढोगेको भन्दै उक्त फोटो भाइरल गराएका हुन् । तर टेकपाना तथ्यजाँचमा उक्त तस्बिर एआईबाट तयार पारेर सामाजिक सञ्जालमा राखिएको देखिएको छ ।
दाबी
सामाजिक सञ्जाल युट्युबमा ‘Sports Edge Cricket’ नामक युट्युब च्यानलले ६ अक्टोबरमा ९ मिनेट ३५ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेको छ । ‘देखिए, हार के बाद PAK कप्तान Fatima ने Smriti के छुए पैर तो भड़क उठे पाकिस्तानी दिग्गज दिए बड़े बयान’ शीर्षकमा सार्वजनिक उक्त भिडिओमा फातिमाले खेल हारेपछि स्मृतिले खुट्टा ढोगेको दाबी गरिएको छ । मुसलमान भएर भारतीय क्रिकेटरको खुट्टा ढोगेको भनेर फातिमाको आलोचना भएको उक्त भिडिओमा बताइएको छ । उक्त भिडिओमा यो सामग्री तयार पार्दा सम्म ४ लाख भन्दा धेरै भ्युज आइसकेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
स्पोर्ट्स एज क्रिकेट च्यानलले जस्तै सामाजिक सञ्जालमा फातिमाले स्मृतिले खुट्टा छोएको र फातिमाको शिरमा स्मृतिले हात राखेका कयौँ पोस्टहरू फैला परे । ‘Divya Singh’ नामक फेसबुक पेजले सोही सन्दर्भमा सार्वजनिक गरेका फरक फरक दुई वटा फेसबुक पोस्टहरू फेला परे ती पोस्टमा विश्वकपको खेलमा हार ब्यहोरेपछि पाकिस्तानी कप्तान फातिमा सानाले स्मृति मन्धनाको खुट्टा छोएको दाबी गरिएको छ । ६ अक्टोबर बिहान १:५३ मा सार्वजनिक उक्त पोस्टमा ५१ हजारभन्दा धेरैले रियाक्सन गरेका छन् भने १९ भन्दा धेरैले शेयर गरेका छन् । उक्त पोस्टमा राखिएको तस्बिरको क्याप्सनमा भने ‘AI PIC’ (एआईबाट तयार पारिएको) बताइएको छ ।
सोही फेसबुक पेजबाट ६ अक्टोबर बिहान ९:५३ मा फातिमाले स्मृतिको खुट्टा छोएको देखेर इन्डियन क्रिकेटका पूर्व कप्तान एमएस धोनी छक्क परेको समेत दाबी गरिएको छ ।
‘Sports Edge Cricket’, ‘Divya Singh’ जस्तै कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले खुट्टा ढोगेको तस्बिर राखेका छन् । ‘Smriti Mandhana Fans’ नामक फेसबुक पेजले सोही दाबी सहित पोस्ट सार्वजनिक गरेको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
स्मृतिको खुट्टा फातिमाले ढोगेको दाबी गरिएका केही पोस्टमा राखिएको तस्बिर एआईबाट तयार पारिएको उल्लेख गरिएको छ । तर धेरै जसो पोस्टमा भने एआईबाट तयार पारिएको कुरा खुलाइएको छैन । त्यसैले हामीले एआई निर्मित तस्बिरहरूको वास्तविकता पत्ता लगाउने विभिन्न एआई टुलहरूमा फातिमाले स्मृतिको खुट्टा ढोगेको तस्बीर राखेर हेर्यौँ ।
जसमा हाइभ मोडेरेसन टुलले उक्त तस्बिर ९९.९% एआई निर्मित रहेको देखायो । उक्त तस्बिर तयार पार्न जेमनाई एआई प्रयोग भएको देखायो ।
यस्तै साइट इन्जिन डटकमबाट पनि उक्त तस्बिर एआई निर्मित हो की होइन भनेर राख्दा ९९% एआई निर्मित रहेको देखायो । जहाँ ९९ प्रतिशत अनुहारमा परिवर्तन भएको देखायो ।