काठमाडौँ । शुक्रबारदेखि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले रोलेक्सको घडी लगाएको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । मन्त्रालयले तिलिचो बेसक्याम्पमा फोरजी सञ्चालनमा आएको जानकारी दिंदै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडिओमा मन्त्री खरेलले घडी लगाएको देखिएको थियो ।
त्यही भिडिओबाट लिइएका क्लिपलाई आधार मान्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री खरेलले एक करोड बढी मूल्य पर्ने रोलेक्स घडी लगाएको दाबी गरेका छन् । टेकपाना फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा सञ्चारमन्त्री खरेलले लगाएको घडी रोलेक्स नभई जापनिज ब्रान्ड रुस्टर भएको पुष्टि भएको छ ।
दाबी
‘मिसन पीएम’ नामको फेसबुक पेजले शुक्रबार (१७ अक्टोबर २०२५) राति १०ः२९ बजे एक पोस्ट राख्यो । पोस्टको क्याप्सनमा लेखिएको थियो, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाएका छन।” उक्त पोस्टको फोटोमा मन्त्री खरेलले घडी लगाएको फोटो एउटा छेउमा र अर्को छेउमा मन्त्री खरेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेको फोटो राखिएको छ । र, माथि खरेलले लगाएको घडी ‘रोलेक्स डेटोना एल्लो गोल्ड ओएस्टरफ्लेक्स च्याम्पान्जे डायल ४० एमएम (Daytona Yellow Gold Oysterflex Champagne Dial 40mm) रहेको स्क्रिनशट राखिएको छ ।
उक्त स्क्रिनशटमा घडीको मूल्य ७० हजार डलर रहेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६५८ रियाक्सन, ११८ कमेन्ट र १३५ पटक शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट,आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले खरेलले लगाएको घडीबारे आएका विभिन्न दाबीबारेका पोस्ट खोज्न थाल्यो । त्यस क्रममा ‘कमल बोहरा आरएसपी’* नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाएका छन। हैन नेता भय सी करोडको घडी लगाउनु पर्छ र स्रोत समाजिक संजाल ।” यसमा पनि त्यही फोटो राखिएको छ । कमल बोहराले राति १०ः५१ बजे पोस्ट राखेको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
‘सचेत खबर’ नामको फेसबुक पेजले फोटोको ठाउँमा भिडिओ राखेको छ । राति १०ः१४ बजे राखेको यही भिडिओ पहिलो पटक राखेको देखिन्छ । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेल लाई कान्तिपुरका मालिकले दिएको लगभग 1 करोडको रोलेक्सको घडी लगाएर रमाए।” हर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
नेपाल सरकारका पूर्वसचिव समेत रहेका भीम उपाध्यायले शनिबार त्यही फोटो राख्दै लेखेका छन्, “यो पनि AI नै होला केरे । रोलेक्स सक्कली कि नक्कली कि AI ले टॉसेको हो कि? धनिले नै भने हुन्तो कर!” उक्त पोस्टमा ३४०० बढी रियाक्सन, ४९८ कमेन्ट र ५६ ओटा शेयर आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै युवराज पौडेल सफलले त्यही स्क्रिनशट राखेका छन् । त्यसको क्याप्सनमा लेखेका छन्, “त्यही भएर घडी नलगाएको मैले ।एकपटक एकजना मेरो नजिकैको साथीले नक्कली रोलेक्स घडी करिब नेपाली ३५/४० हजार पर्ने दिनु भएको थियो ,त्यो घडी मैले लगाउन सकिन ,कारण मेरो त्यति रुपैयाँको घडी किन्ने हैसियत थिएन ,लगाएपछि मान्छेले स्रोत खोज्छन् पक्कै । कुनै साथी ,आफन्त ,मित्रले सानातिना उपहार दिनु अलग्गै हो तर करोडौंको घडी दिनेले निस्वार्थ त पक्कै दिएको होइन होला ? यस्तो आदर्शको कुरा गर्नेहरुले किन यसरी करोडौंको घडी लगाएको होला ??” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।