काठमाडौँ । विन्डोज १० को सपोर्ट समाप्त भएसँगै कम्प्युटर उद्योगमा भारी उछाल देखिएको छ । विन्डोज १० को सपोर्ट बन्द गर्न १४ अक्टोबरका लागि माइक्रोसफ्टको पूर्व निर्धारित समय सीमाका कारण म्याकको ढुवानी (शिपमेन्ट) मा भारी वृद्धि देखिएको हो ।
काउन्टरपोइन्ट रिसर्चले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार अक्टोबर २०२५ को सो समयसीमाभन्दा पहिले विश्वव्यापी रूपमा स्थापित पीसी ग्राहक मध्ये करिब ४०% विन्डोज १० चलाइरहेका थिए ।
यसले व्यावसायिक र उपभोक्ता दुवै च्यानलमा नयाँ पीसीको माग बढ्ने अपेक्षा गरिएको थियो । काउन्टरपोइन्टका अनुसार सोही अनुरूप सन् २०२५ को तेस्रो त्रैमासिकमा एप्पलको विश्वव्यापी म्याक शिपमेन्ट १४.९% ले वृद्धि भएको छ ।
नयाँ म्याकबुक मोडेलहरूको माग र इन्टरप्राइज क्षेत्रमा एप्पलको हार्डवेयरको बढ्दो प्रयोगले यस वृद्धिलाई सहयोग पुर्याएको छ । समग्र पीसी बजारमा शीर्ष पाँच निर्माताहरूले यस अवधिमा विश्वव्यापी पीसी बजारको झन्डै तीन-चौथाइ हिस्सा नियन्त्रण गरेका छन् ।
लेनोभो सबैभन्दा ठुलो पीसी निर्माता हो । यसले १७.४% को उच्च वृद्धि हासिल गरेको छ । एसुसले १४.१% को वृद्धि गरेको भने एचपीले व्यावसायिक क्षेत्रमा प्रवेशका कारण १०.३% को वृद्धि हासिल गरेको छ ।
यद्यपि डेलको शिपमेन्ट भने ०.९% ले घटेको छ । यसबाहेक साना ब्रान्डहरूको वृद्धि भने स्थिर वा नकारात्मक रहेको रिपोर्टमा उल्लेख छ ।
काउन्टरपोइन्टले कम्प्युटर कम्पनीहरूले न्युरल प्रोसेसिङ युनिट (एनपीयू) र एकीकृत एआई सुविधा भएका सिस्टमहरूको बजारीकरण सुरु गरेको पनि उल्लेख गरेको छ । यी सुविधालाई पीसी विक्रीमा महत्त्वपूर्ण चालकको रूपमा नहेरिए पनि इन्टरप्राइज क्षेत्रमा भने यसले कारकको रूपमा काम गर्न थालेको बुझिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १७:३
