close

राष्ट्रिय परिचयपत्र नम्बरको भरमा अनलाइनबाट मतदाता नामावली यसरी दर्ता गर्नुहोस् आफ्नो नाम

टेकपाना टेकपाना

कात्तिक २७, २०८२ १४:४५

राष्ट्रिय परिचयपत्र नम्बरको भरमा अनलाइनबाट मतदाता नामावली यसरी दर्ता गर्नुहोस् आफ्नो नाम

 

काठमाडौँ । निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगको प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको हो ।

यसअघि आयोगको वेबसाइटबाट आफ्नो व्यक्तिगत विवरणसहित प्रि-इनरोलमेन्ट गर्ने व्यवस्था मिलाइएको भए पनि बायोमेट्रिक र फोटो खिचाउन निर्वाचन कार्यालयसम्म जानुपर्ने बाध्यता रहेको थियो । अब भने प्रि-इनरोलमेन्टको साटो आफैँले मतदाता नामावली दर्ता प्रक्रिया सम्पन्न गर्न सकिने भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सहजीकरणमा आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छोटो समयमै यो प्रणाली तयार पारेका हुन् । बिहीबार मात्रै यसको परीक्षण सम्पन्न भएको थियो ।

कसरी गर्ने दर्ता ?

यदि तपाईँसँग राष्ट्रिय परिचयपत्र नम्बर छ भने यो सुविधा प्रयोग गरेर तपाईँले आफैँले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला आयोगको वेबसाइट (election.gov.np) मा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् । 

आयोगको वेबसाइटमा गइसकेपछि मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अद्यावधिक (Online Pre-Enrollment) मा क्लिक गर्नुहोस् अथवा सोझै त्यसमा जान यहाँ क्लिक गर्नुहोस् । 

अब त्यहाँ तपाईँले नयाँ मतदाता नामावली दर्ता र नामावली अद्यावधिक गरी दुई वटा विकल्प देख्नु हुनेछ ।  त्यसमध्ये नयाँ दर्तामा क्लिक गर्नुहोस् ।

त्यसभित्र गइसकेपछि तपाईँले पुनः दुई वटा विकल्प देख्नु हुनेछ । जस मध्ये पहिलो विकल्प 'राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेको  व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नको लागि' भनेर लेखिएको भागमा राष्ट्रिय परिचयपत्रको विवरण (राष्ट्रिय परिचय पत्र नम्बर, अङ्ग्रेजी जन्म मिति र नाम) भर्नुहोस् । अन्त्यमा दिइएको हिसाब जोड्दा निस्किने अङ्क रातो घेरा नहटेसम्म राख्दै जानुहोस् र हरियो घेरा आएपछि ‘NIN बाट प्रमाणीकरण गर्नुहोस्’ लेखिएको निलो बटनमा क्लिक गर्नुहोस् । 

यति गरिसकेपछि आयोगको सिस्टमले राष्ट्रिय परिचयपत्रको सिस्टमलाई सोध्छ र सम्पूर्ण विवरण मेल खाएको खण्डमा मतदाता नामावली दर्ताको प्रक्रिया सुरु गर्न सकिन्छ । नयाँ पेज खुलेपछि सुरुमा तपाईँको नागरिकता अनुसारको स्थायी देखा पर्छ, नदेखिए ठेगाना भर्नुहोस् । 

त्यसपछि व्यक्तिगत विवरण खण्डमा छुटेका विवरण राख्नुहोस् र पुनः तल दायाँ कुनामा रहेको 'अर्को' बटनमा क्लिक गर्नुहोस् । अब नागरिकता विवरण खण्ड खुल्छ । त्यसमा छुटेका विवरण खुलाउनु होस् । मतदानस्थल छनोट गर्नुहोस् । नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भएको भए सम्बन्धित कागजात अपलोड गरी नयाँ मतदानस्थल चयन गर्न सक्नुहुन्छ । 

यति गरिसकेपछि अपाङ्गता भए नभएको खुलाउनु होस् र अन्त्यमा सबै विवरण राम्रोसँग चेकजाँच गरी ‘दर्ता गर्नुहोस्’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईँको मतदाता नामावली दर्ताको काम सम्पन्न हुन्छ र आफ्नो मतदाता नम्बर सुरक्षित राख्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १६:४८