विश्व प्रतिस्पर्धामा वायु प्रदूषण मापन गर्ने सस्तो उपकरण बनाएको नेपाली स्टार्टअप
मंसिर ७, २०८२ १५:४७
काठमाडौँ । नेपाली स्टार्टअप ‘वायुदृष्टि’ वर्ल्ड समिट अवार्ड (डब्लूएसए) मा प्रतिस्पर्धाका लागि छनोट भएको छ । आगामी फेब्रुअरीमा आयोजना हुने समिटको वातावरण तथा हरित ऊर्जा विधामा प्रतिस्पर्धाका लागि उक्त स्टार्टअप छनोट भएको हो ।
यससँगै वायुदृष्टिले उक्त समिटमा १८० भन्दा धेरै देशहरूसँग नेपालको प्रतिनिधित्व गर्ने वायुदृष्टिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सक्रीय पाण्डेले बताए । प्रतिस्पर्धामा उपाधि जित्न सक्ने क्षमता रहेको उनले विश्वास व्यक्त गरे ।
डब्लूएसएले हरेक वर्ष विश्वभरका १८२ देशका विज्ञहरूको सिफारिस र कडा छनोट प्रक्रियामार्फत विभिन्न आठ विधामा कूल ४० उत्कृष्ट परियोजनालाई सम्मानित गर्दै आएको छ । यस्तै पाँच जना डब्लूएसए योङ इनोभेटर्स छानिने गरेका छन् । यस प्रतिस्पर्धामा सहभागिता जनाउने देशहरूले हरेक विधाबाट एक एक परियोजनाका लागि प्रतियोगी पठाउन सक्छन् ।
सन् २०२२ मा नेपालबाट डब्लूएसएमा नागरिक एप ‘गभर्नमेन्ट एन्ड सिटिजन इन्गेजमेन्ट’ विधाको बिजेता बनेको थियो । यस्तै सन् २०२३ मा नेपाली एप ‘कारोबार’ले योङ इनोभेटर्स अवार्ड र सन् २०२४ मा मोबाइल एप 'कता हो' ले ‘स्मार्ट सेटलमेन्ट्स एन्ड अर्बनाइजेसन’ अवार्ड पाइसकेको छ ।
के हो वायुदृष्टि ?
‘वायुदृष्टि’ वायु प्रदूषण मापन गर्ने सस्तो र बोक्न सजिलो उपकरण निर्माण गर्ने स्टार्टअप हो । यसले वास्तविक समयमा वायुको गुणस्तरको जानकारी दिनुका साथै एआईमार्फत सात दिनपछिको प्रदूषणको अवस्थाबारे भविष्यवाणी समेत गर्न सक्छ ।
१९ वर्षीय सक्रिय पाण्डे, २३ वर्षीया श्रीशा पाण्डे, २१ वर्षीया मञ्जिला पाण्डे र २५ वर्षीय विक्रम थापा सम्मिलित टोलीले वायुदृष्टि उपकरण विकास गरेको हो । हाल बजारमा उपलब्ध ३० हजार डलर (करिब ४१ लाख रुपैयाँ) पर्ने महँगा उपकरणको तुलनामा वायुदृष्टिको उपकरणले मात्र २५० डलर (करिब ३५ हजार रुपैयाँ) मा नै भरपर्दो नतिजा दिने दाबी गरिएको छ ।
वायुदृष्टि गत सेप्टेम्बरमा विद्यार्थी स्टार्टअप प्रतियोगिता ‘हल्ट प्राइज’ को विश्वव्यापी प्रतिस्पर्धामा शीर्ष २० सम्म पर्न सफल भएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १८:२५
