गुगलको नयाँ एआई जेमिनाई ओम्नी सार्वजनिक, आफ्नै अवतार र आवाजमा भिडियो बनाउन मिल्ने
जेठ ६, २०८३ ७:५२
काठमाडौँ । गुगलले भिडियो निर्माण र सम्पादनका लागि नयाँ एआई 'जेमिनाई ओम्नी' मंगलबार (१९ मे मा) सार्वजनिक गरेको छ । यसको सुरुवात ‘जेमिनाई ओम्नी फ्ल्यास’ मोडलबाट बाट गरिएको गुगलले जनाएको छ । जेमिनाई ओम्नी फ्ल्यास विश्वभरका गुगल एआई प्लस, प्रो र अल्ट्रा सब्स्क्राइबरहरूले जेमिनाई एप र गुगल फ्लोमार्फत तत्काल प्रयोग गर्न सक्नेछन् । साथै, युट्युब सर्ट्स र युट्युब क्रिएट एपका प्रयोगकर्ताले पनि यसलाई निःशुल्क रूपमा पहुँच गर्न सक्नेछन् ।
जेमिनाई ओम्नी फ्ल्यासले सुरुवाती चरणमा जुनसुकै इनपुटबाट भिडियो सिर्जना गर्न सक्नेछ । तर आगामी समयमा फोटो र अडियोजस्ता आउटपुट दिनसक्ने बनाइने गुगलले आफ्नो ब्लगमा उल्लेख गरेको छ । ओम्नीमार्फत भिडियो सिर्जना गर्न इनपुटको रूपमा फोटो, अडियो, भिडियो र टेक्स्टलाई मिसाउन पनि सकिन्छ । साथै, कुराकानीकै माध्यमबाट आफ्ना भिडियोहरू सजिलैसँग सम्पादन (एडिट) गर्न पनि सकिन्छ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईका अनुसार जेमिनाई ओम्नीले वास्तविक देखिने दृश्यहरू बनाउनुका साथै दृश्यमा अब के हुनुपर्छ भन्ने कुराको तार्किक विश्लेषण पनि गर्ने गर्दछ । साथै, यसले भौतिक विज्ञानको स्वाभाविक बुझाइलाई जेमिनाईको इतिहास, विज्ञान र सांस्कृतिक सन्दर्भको ज्ञानसँग संयोजन गर्ने उनको भनाइ छ ।
ओम्नीले छोटा प्रम्प्टबाटै प्रभावशाली एक्प्लेनर भिडियोहरू बनाउन सक्ने र जसले जटिल आइडियाहरूलाई पनि स्पष्ट रूपमा बुझाउनसक्ने दृश्यहरू सिर्जना गर्ने गुगलको दाबी छ । जेमिनाई ओम्नीमार्फत प्रयोगकर्ताले आफ्नै अवतार सिर्जना गरी आफ्नै आवाजमा भिडियोहरू पनि बनाउन सक्नेछन् । अवतार फिचर बाहेक, अडियो र बोली परिवर्तन गर्नका लागि भिडियो सम्पादन गर्ने क्षमताका सन्दर्भमा भने अझै परीक्षण गरिरहेको गुगलले जानकारी गराएको छ ।
Gemini Omni doesn't just build scenes that look real, it reasons about what should happen next. It combines an intuitive understanding of physics with Gemini's knowledge of history, science, and cultural context.
— Sundar Pichai (@sundarpichai) May 19, 2026
Rolling out today starting with video outputs to Google AI Plus,… pic.twitter.com/EkLjv5O0dN
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ ८:१०
