एआईको दिमाग एआईकै 'कन्टेन्ट' हरूले भरिँदै, ‘एआई सर्च कोल्याप्स’ को सम्भावना बढ्यो
असार १२, २०८३ ८:४८
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आफ्ना उत्तरहरू तयार पार्नका लागि एआईद्वारा नै लेखिएका सामग्रीहरू झन् बढी प्रयोग गर्न थालेको छ । यसले एउटा यस्तो फिडब्याक लुप (चक्र) बनाउँदैछ जसले एआईका उत्तरहरूलाई अझ साँघुरो, खल्लो र सजिलै प्रभावित गर्न सक्ने किसिमको बनाउने जोखिम बढेको छ ।
सामान्य सर्च इन्जिनहरूले मानिसहरूलाई विभिन्न किसिमका स्रोतहरूसम्म पुर्याउँछन् । तर यदि एआई आधारित खोज प्रणाली मुख्यतः एआईले नै सिर्जना गरेका सामग्रीमा निर्भर हुन थाल्यो भने मानिसहरूले आफ्ना विचार र धारणा बनाउन प्रयोग गर्ने जानकारीका स्रोतहरू सीमित हुँदै जाने देखिएको छ ।
एआई कोड समीक्षा गर्ने कम्पनी ‘ग्राफाइट’ को नयाँ अनुसन्धान अनुसार एआईले नै सिर्जना गरेको सन्दर्भ सामग्रीमा निर्भर रहने मोडेलहरूले समयसँगै एउटै प्रकारका सिफारिस वा सुझाव दिने सम्भावना झन् बढ्दै गएको पाइएको छ । ग्राफाइटको अनुसन्धानपत्रमा एआई मोडेलहरूले एआई-निर्मित सामग्रीलाई सन्दर्भ बनाउँदै जाँदा एउटै प्रकारका सिफारिस दोहोर्याउने सम्भावना बढेको देखिएको हो । कम्पनीले यस अवस्थालाई ‘एआई सर्च कोल्याप्स’ नाम दिएको छ ।
यो अवधारणा सन् २०२४ मा ‘नेचर जर्नल’ मा प्रकाशित ‘मोडेल कोल्याप्स’ सम्बन्धी अध्ययनबाट प्रेरित हो । उक्त अध्ययनले जेनेरेटिभ एआई मोडेललाई पहिलेका एआई मोडेलले उत्पादन गरेका सामग्रीमै बारम्बार प्रशिक्षण दिँदा तिनको गुणस्तर क्रमशः खस्किन सक्ने चेतावनी दिएको थियो ।
ग्राफाइटले यसअघि गरेको अध्ययनले इन्टरनेटमा रहेका लेख-शैलीका वेबपेजहरू मध्ये करिब आधा हिस्सा एआई सिर्जित सामग्रीहरूले ओगटेको देखाएको थियो । यदि च्याटबटहरूले यिनै एआई निर्मित वेबपेजहरूलाई स्रोत सामग्रीका रूपमा प्रयोग गर्न थाले भने तिनका उत्तरहरूमा मानिसको रुचि, विवेकपूर्ण निर्णय र प्रत्यक्ष अनुभवको झल्को क्रमशः घट्दै जाने सम्भावना रहेको अध्ययनले औँल्याएको छ ।
ग्राफाइटले ओपनएआई, जेमिनाई र एन्थ्रोपिकका मोडेल प्रयोग गरेर विभिन्न सिमुलेसन गरेको थियो । त्यसक्रममा एआईले एआई निर्मित सामग्रीमा बढी निर्भर हुँदा उत्तरहरूमा विविधता घटेको र एउटै निष्कर्ष दोहोरिने प्रवृत्ति बढेको देखाएको थियो । यसले भविष्यमा एआईले आफ्नै सामग्रीलाई पुनः प्रयोग गर्ने चक्र अझ तीव्र हुन सक्ने चिन्ता बढाएको छ ।
यद्यपि अनुसन्धानकर्ताहरूले वास्तविक संसारको एआई खोज प्रणाली अहिले नै ‘कोल्याप्स’ भइसकेको वा इन्टरनेट अनिवार्य रूपमा एउटै दृष्टिकोणमा सीमित हुने निष्कर्ष भने निकाल्न नसकिने स्पष्ट पारेका छन् । तर एआई खोज प्रणाली लोकप्रिय बन्दै जाँदा कम्पनीहरूले त्यसमा देखिनका लागि सामग्रीलाई विशेष रूपमा अनुकूल बनाउन थालेका छन् । यसले परम्परागत एसईओजस्तै नयाँ प्रतिस्पर्धा सुरु भइसकेको उनीहरूको भनाइ छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एआईले वेब खोजीलाई अझ छिटो र सहज बनाउन सक्छ । तर यदि स्रोतहरूको विविधता घट्दै गयो भने नयाँ विचार, फरक दृष्टिकोण र सिर्जनात्मक खोजको सम्भावना पनि कमजोर हुन सक्छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ ८:५१
