रियल-टाइममा अनुवाद गर्ने गुगलको नयाँ एआई: अब फरक भाषा बोल्ने व्यक्तिबिच बिना रोकावट कुराकानी हुने
जेठ २७, २०८३ १२:२६
काठमाडौँ । गुगलले आफ्नो अत्याधुनिक नयाँ अडियो मोडेल ‘जेमिनाई ३.५ लाइभ ट्रान्सलेट’ (Gemini 3.5 Live Translate) सार्वजनिक गरेको छ । यो एआई अनुवाद मोडेलले लगभग रियल टाइम (Near Real-Time) मा एक बोलीबाट अर्को बोली (Speech-to-Speech) मा अनुवाद गर्न सक्ने गुगलले जनाएको छ । यो माेडेलले विश्वभरका ७० भन्दा बढी भाषा र २ हजार भन्दा बढी भाषाका समिश्रणहरूमा काम गर्नेछ ।
लाइभ ट्रान्सलेट मोडेलले कुराकानी चलिरहेकै क्रममा निरन्तर अनुवाद गर्न सक्छ । यसले गर्दा दुई फरक भाषा बोल्ने व्यक्तिहरू बिना कुनै रोकावट सहजै संवाद गर्न सक्नेछन् । अनुवाद गर्दा बोल्ने व्यक्तिको लवज, गति र स्वरको उतारचढावलाई समेत ध्यान दिनु यो मोडेलको मुख्य विशेषता रहेको गुगलले जनाएको छ । गुगलका अनुसार यो नयाँ अपडेट यसै महिनादेखि गुगल वर्कस्पेसका केही सीमित व्यावसायिक ग्राहकहरूका लागि 'प्राइभेट प्रिभ्यु' का रूपमा उपलब्ध हुनेछ । आम उपभोक्ताहरूका लागि भने यस वर्षको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ ।
जेमिनाई ३.५ लाइभ ट्रान्सलेटलाई विभिन्न कम्पनीहरुले परीक्षण गरिरहेको पनि गुगलले उल्लेख गरेको छ । बहुराष्ट्रिय कम्पनी ‘ग्र्याब’ ले आफ्ना चालक र यात्रीबिचको सञ्चारलाई सहज बनाउन यसको परीक्षण गरिरहेको छ । त्यस्तै दक्षिण कोरियाली मनोरन्जन कम्पनी ‘सीजे ईएनएम’ ले पनि अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्नो सामग्री बुझाउन यसको सुरुवाती परीक्षण गरिरहेको गुगलले जनाएको छ ।
सञ्चारलाई सुरक्षित र पारदर्शी बनाउनका लागि गुगलले जेमिनाई ३.५ लाइभ ट्रान्सलेटबाट उत्पादन हुने सबै अडियोहरूमा ‘सिन्थआईडी’ मार्फत नदेखिने वाटरमार्क समावेश गरेको छ । यसले एआईद्वारा उत्पादित सामग्री पहिचान गर्न र भ्रामक सूचना फैलिनबाट रोक्न मद्दत गर्ने गुगलले उल्लेख गरेको छ ।
कहाँ-कहाँ प्रयोग गर्न सकिन्छ ?
गुगलका अनुसार यो नयाँ अडियो मोडेललाई विभिन्न माध्यममा उपलब्ध गराएकाे छ ।
गुगल ट्रान्सलेट एपः यो मोडेल एन्ड्रोइड र आईओएस दुवैमा विश्वभर उपलब्ध हुन थालेको छ । हेडफोन जोडेर प्रयोग गर्दा यसले सजिलै अनुवाद सुनाउनेछ । यसका साथै एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ ‘लिसनिङ मोड’ पनि ल्याइएको छ, जसमा फोनलाई कानमा राखेर सामान्य फोन कल गरेझैँ अनुवाद सुन्न सकिनेछ ।
गुगल मिटः व्यावसायिक प्रयोगकर्ताहरूका लागि यो फिचर गुगल मिटमा उपलब्ध गराइने गुगलले जनाएको छ । यसअघि अंग्रेजी भाषामा मात्र सीमित रहेको यो सेवा अब ७० भन्दा बढी भाषा र २००० भन्दा बढी भाषाका समिश्रणहरूमा उपलब्ध हुनेछ ।
गुगल एआई स्टुडियोः एप तथा सफ्टवेयर निर्माताहरूले गुगल एआई स्टुडियो र जेमिनी लाइभ एपीआईमार्फत आफ्नो एपमा यो मोडेल जोड्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १२:४२
