close

स्पेसएक्सले इतिहासकै सबैभन्दा ठुलो आईपीओ ल्याउने, चन्द्र-मङ्गल यात्रा र क्षुद्र ग्रह उत्खनन योजना

टेकपाना टेकपाना

जेठ ७, २०८३ १३:१६

स्पेसएक्सले इतिहासकै सबैभन्दा ठुलो आईपीओ ल्याउने, चन्द्र-मङ्गल यात्रा र क्षुद्र ग्रह उत्खनन योजना

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ इतिहासकै सबैभन्दा ठुलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तर्फ अग्रसर भएको छ । कम्पनीले आईपीओका लागि अमेरिकी धितोपत्र बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा बुधबार विवरणपत्र (प्रोस्पेक्टस) बुझाएको छ । 

स्पेसएक्सले सार्वजनिक निष्कासनबाट ७५ अर्ब अमेरिकी डलरसम्म पुँजी जुटाउने लक्ष्य राखेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् । यसबाट कम्पनीको मूल्य १.७५ ट्रिलियन डलरसम्म पुग्ने देखिन्छ । यदि यो आईपीओ निष्कासन सफल भएमा स्पेसएक्सको सूचीकरण इतिहासकै सबैभन्दा ठुलो हुने देखिएको छ । 

हाल विश्वकै सबैभन्दा ठुलो आईपीओको रेकर्ड साउदी अरबको तेल कम्पनी ‘साउदी अरामको’ सँग रहेको छ । यसले सन् २०१९ मा २९.४ अर्ब डलर बराबरको आईपीओ बिक्री गरेको थियो ।

स्पेसएक्सको आईपीओले मस्कलाई पनि सबैभन्दा प्रभावशाली उद्यमीमध्ये एकको रूपमा थप मजबुत बनाउने छ । उनको नेटवर्थ पनि बढेर एक ट्रिलियन (१० खर्ब) डलर माथि पुग्ने अनुमान छ । आईपीओपछि पनि मस्क कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO), प्रमुख टेक्नोलोजी अधिकृत (CTO) र बोर्डका अध्यक्ष रहने दायर गरिएको विवरणपत्रमा उल्लेख छ ।

स्पेसएक्सले आईपीओ प्रोस्पेक्टस मार्फत आफ्नो ३४ वर्षे इतिहासमा पहिलो पटक विस्तृत वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । फाइल अनुसार कम्पनीले सन् २०२५ मा १८.७ अर्ब डलर आम्दानी गरेको थियो भने २.६ अर्ब डलर सञ्चालन घाटा व्यहोरेको थियो । 

विवरणपत्र अनुसार स्पेसएक्समा दुई वर्ग (dual class share) को शेयर संरचना हुने छ । शेयरलाई Class A र Class B मा छुट्याइएकाे छ । मस्कसँग Class B शेयर रहने छ । Class B काे भोटिङ अधिकार एक शेयर बराबर १० भोट र Class A को एक शेयर बराबर एक भोट मात्र हुनेछ ।

मस्कले स्पेसएक्समा करिब ८५ प्रतिशत मतदान अधिकार नियन्त्रण गर्नेछन् भने लगभग ४८ प्रतिशत इक्विटीमा उनको हिस्सा हुने छ । यसले सूचीकरणपछि पनि मस्क कम्पनीमा बलियो नियन्त्रण राख्न सक्षम हुने देखाउँछ ।

यता, विवरणपत्रमा स्पेसएक्सका विभिन्न महत्त्वाकांक्षी योजनासमेत उल्लेख गरिएको छ । अन्तरिक्षमा डेटा सेन्टर निर्माण गर्ने, क्षुद्र ग्रह उत्खनन (Asteroid Mining) गर्ने, चन्द्रमा र मङ्गल ग्रहमा यात्रु पठाउनेलगायत योजनाहरु विवरणपत्रमा समावेश छन् । कम्पनीले सन् २०२८ सम्ममा एआई कम्प्युटर स्याटेलाइटहरू तैनाथ गर्न सुरु गर्ने योजना बनाएको छ । साथै, दीर्घकालीन रूपमा प्रत्येक वर्ष १०० गिगावाट कम्प्युट क्षमता पृथ्वीको कक्षमा स्थापना गर्ने लक्ष्य राखेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १४:१४