एन्ड्रोइड फोनमा एप इन्स्टल गर्दै हुनुहुन्छ ? यी ५ पर्मिसनहरु सजिलै नदिनुहोस्
जेठ १०, २०८३ ११:४५
काठमाडौँ । स्मार्टफोनमा कुनैपनि एप इन्स्टल गर्दा दिइने अनुमति अर्थात पर्मिसनले हाम्रो डिजिटल सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ । धेरैजसो प्रयोगकर्ताले एप छिट्टै प्रयोग गर्ने हतारमा स्वीकृति (Allow) बटन थिचेर फोनका संवेदनशील फिचरहरूमा सजिलै पहुँच दिने गर्छन् । तर, यस्ता कतिपय पर्मिसनहरू एपको मुख्य कार्यका लागि जरुरी नै हुँदैनन् । तिनको दुरुपयोग भएमा व्यक्तिगत डेटा चोरी हुने, वित्तीय ठगीमा परिने वा फोनमा मालवेयर जस्ता हानिकारक सफ्टवेयर प्रवेश गर्ने जोखिम रहन्छ ।
एन्ड्रोइडले यी पर्मिसनहरूलाई प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर व्यवस्थित गरेको हुन्छ । तर यसलाई प्रयोगकर्ताले पनि समयमै सावधानीपूर्वक जाँच गर्नु आवश्यक हुन्छ ।
एक्सेसिबिलिटी
एन्ड्रोइडको ‘एक्सेसिबिलिटी’ (Accessibility) सेवा विशेषगरी शारीरिक समस्या भएका व्यक्तिहरूलाई फोन प्रयोग गर्न सहज बनाउने उद्देश्यले विकास भएको हो । यसले एपलाई स्क्रिनमा देखिएका कुरा पढ्ने र प्रयोगकर्ताको तर्फबाट क्लिक गर्ने सुविधा दिन्छ ।
यद्यपि, मालवेयर वा गलत नियतका एपहरूले यही सुविधाको दुरुपयोग गरी प्रयोगकर्ताको गतिविधिमा निगरानी गर्ने, पासवर्ड चोरी गर्ने वा बैङ्कको ओटीपी मार्फत अनधिकृत कारोबार गर्ने जोखिम हुन्छ । त्यसैले फ्ल्यासलाइट, भिडिओ स्ट्रिमिङ वा सामान्य गेम जस्ता एपले यस प्रकारको अनुमति मागेमा त्यसलाई अस्वीकार गर्नु उपयुक्त हुन्छ । साथै, सेटिङमा गई शंकास्पद एपको एक्सेस हटाउनु पर्छ ।
स्क्रिन ओभरले
‘Draw Over Other Apps’ भनेर पनि चिनिने यो सुविधा ट्रूकलर जस्ता एपले प्रयोग गर्छन्, जसले फोन आउने बित्तिकै स्क्रिनमा पपअप देखाउँछ । यो पर्मिसनले कुनैपनि एपलाई अन्य एपको माथि विन्डो देखाउन अनुमति दिन्छ । यो फिचर विशेषगरी मेसेजिङ एपका लागि उपयोगी भए पनि सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ ।
हानिकारक एपले बैङ्किङ वा पासवर्ड म्यानेजर जस्ता महत्त्वपूर्ण एपमाथि नक्कली लगइन स्क्रिन देखाएर प्रयोगकर्ताको गोप्य विवरण चोर्न सक्छन् । त्यसैले ‘Special app access’ सेटिङमा गएर अनावश्यक एपको यो फिचर हटाउनु उचित हुन्छ ।
एसएमएस पर्मिसन
कुनैपनि एपलाई एसएमएस पढ्ने वा पठाउने अनुमति दिनु अत्यन्त संवेदनशील विषय हो । धेरै बैङ्किङ ठगीमा यस्ता पर्मिसनको दुरुपयोग हुने गरेको पाइन्छ, जहाँ एपले प्रयोगकर्ताको जानकारी बिनै ओटीपी चोरी गर्ने वा प्रिमियम दरका नम्बरमा मेसेज पठाएर आर्थिक नोक्सानी पुर्याउन सक्छ ।
म्यासेज पठाउने वा कल ब्लक गर्ने जस्ता सुविधा पाएका एपबाहेक अन्यलाई यस्तो एक्सेस दिनु हुँदैन । प्रयोगकर्ताले पर्मिसन म्यानेजरमा गएर कुन कुन एपले आफ्नो एसएमएसमा एक्सेस पाएका छन् नियमित जाँच गर्नुपर्छ ।
क्यामेरा, माइक्रोफोन र लोकेसन ट्र्याकिङ
क्यामेरा, माइक्रोफोन र लोकेसनको अनुमतिले एपलाई प्रयोगकर्ताको निजी जीवनमा हस्तक्षेप गर्ने मौका दिन्छ । कतिपय एपहरूले प्रयोगमा नभएको अवस्थामा पनि ब्याकग्राउन्डबाट अडियो वा भिडियो रेकर्ड गर्ने तथा गतिविधि ट्र्याक गर्ने जोखिम हुन्छ । यसबाट बच्नका लागि अनुमति दिँदा ‘Only while using’ अप्सन् छान्नु राम्रो हुन्छ । त्यसैगरी नेभिगेसन वा सुरक्षा सम्बन्धी एपबाहेक अन्यलाई ‘Always allow’ वा ‘Allow all the time’ सुविधा नदिनु नै उचित मानिन्छ ।
गोपनीयताको सुरक्षा र सावधानी
एन्ड्रोइड फोनको गोपनीयता र सुरक्षा कायम राख्न प्रयोगकर्ताले समयसमयमा आफ्नो फोनको ‘पर्मिसन मेनेजर’ (Permission Manager) र ‘Privacy Dashboard’ जाँच गर्नुपर्छ । यसबाट पछिल्लो एक हप्तामा कुन एपले कुन फिचरको कति पटक प्रयोग गर्यो भन्ने विवरण सजिलै हेर्न सकिन्छ ।
कुनैपनि एप इन्स्टल गर्दा त्यसले मागेका पर्मिसन एपको कामसँग मेल खान्छन् वा खाँदैनन् भनेर जाँच्नु नै डिजिटल सुरक्षाको पहिलो खुड्किला हो । एक पटक दिएकाे अनुमित आवश्यक परेको खण्डमा सेटिङमा गएर जुनसुकै बेला हटाउन सकिन्छ । यसले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्छ ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८३ १२:१७
