close

एन्ड्रोइडको नयाँ अपडेटः स्क्याम कल पत्ता लगाउनेदेखि आईफोनमा सिधै फोटो र भिडिओ पठाउनेसम्मका फिचर

टेकपाना टेकपाना

जेठ २०, २०८३ ८:११

एन्ड्रोइडको नयाँ अपडेटः स्क्याम कल पत्ता लगाउनेदेखि आईफोनमा सिधै फोटो र भिडिओ पठाउनेसम्मका फिचर

काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि सुरक्षा र कनेक्टिभिटीमा केन्द्रित नयाँ फिचरहरू सार्वजनिक गरेको छ । यस अपडेटमा मुख्यतया बढ्दो फोन स्क्याम (ठगी) विरुद्ध लड्न फेक कल डिटेक्सन र एप्पलको एयरड्रपसँगको अनुकूलतालाई थप एन्ड्रोइड उपकरणहरूमा विस्तार गरिएको छ ।

एन्ड्रोइडको यो नयाँ सुरक्षा सुविधाले तपाईँको कन्ट्याक्ट लिस्टमा भएका व्यक्तिको नाममा आउने नक्कली कलहरूलाई पहिचान गर्छ । उदाहरणका लागि यदि कसैले तपाईँको परिवारको सदस्यको आवाज क्लोन गरेर वा नम्बर स्पुफ गरेर फोन गर्‍यो भने सिस्टमले त्यसलाई शङ्कास्पद मान्नेछ । यस्तो अवस्थामा फोनको स्क्रिनमा 'यो तपाईँको कन्ट्याक्टमा भएको व्यक्ति नहुन सक्छ' भन्ने चेतावनीपूर्ण नोटिफिकेसन देखिनेछ ।

यो प्रविधिले रियल-टाइममा काम गर्छ । जब एउटा एन्ड्रोइड फोनबाट अर्कोमा कल जान्छ, फोनले आरसीएस सञ्चार मापदण्ड प्रयोग गरेर एक प्रकारको साइलेन्ट कन्फर्मेसन सिग्नल पठाउँछ । यदि कल गर्ने व्यक्तिले इन्टरनेट सफ्टवेयर वा एआई आवाजको प्रयोग गरिरहेको छ भने उसको फोनसँग त्यो आधिकारिक सिग्नल हुँदैन र रिसिभ गर्ने व्यक्तिको फोनले तुरुन्तै चेतावनी दिन्छ ।

कल शङ्कास्पद देखिएमा फोनले कन्ट्याक्ट फोटो हटाउँछ र कल लगमा उक्त नम्बरलाई अननोन (Unknown) को रूपमा दर्ता गर्छ । यो सुविधा एन्ड्रोइड १२ र सोभन्दा माथिका भर्सनमा उपलब्ध हुनेछ र यसका लागि दुवै तर्फ गुगलको फोन एप (Google Dialer) र आरसीएस सक्रिय हुनुपर्छ ।

एयरड्रप सुविधा विस्तार

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि अर्को महत्त्वपूर्ण खबर भनेको क्विक शेयर (Quick Share) मार्फत एप्पलको एयरड्रपसँगको सहजता हो । अब एन्ड्रोइड फोनबाट सिधै आईफोनमा फोटो र भिडिओहरू पठाउन सजिलो भएको छ ।

यो सुविधा यसअघि गुगल पिक्सेल ९, १० र सामसङ ग्यालेक्सी एस-२६ सीरीजमा मात्र सीमित थियो । अब यो सुविधा सामसङ ग्यालेक्सी जेड फोल्ड ७, जेड फ्लिप ७, जेड ट्राइफोल्ड, एस-२४ सिरिज, जेड फोल्ड ६ र जेड फ्लिप ६ मा पनि उपलब्ध हुनेछ ।

यसका साथै वनप्लस १५, साओमी १७-टी प्रो, अनर म्याजिक भी-६ र भिभो एक्स-३०० सिरिजका फोनहरूमा पनि यो अपडेट उपलब्ध गराइएको छ ।

बालबालिकाका लागि सुरक्षा फिचर

१३ वर्ष मुनिका बालबालिकाका लागि गुगलले पर्सनल सेफ्टी एपमा नयाँ सुविधाहरू थप गरेको छ । अब बालबालिकाको फोनको लक स्क्रिनमा उनीहरूको मेडिकल जानकारी र आपत्कालीन सम्पर्क नम्बरहरू राख्न सकिनेछ ।

यसका साथै कार क्र्याश डिटेक्सन (Car Crash Detection) सुविधा पनि उपलब्ध गराइएको छ । जसले दुर्घटना भएको खण्डमा स्वचालित रूपमा आपत्कालीन सेवा र अभिभावकलाई सन्देश पठाउँछ ।

अन्य नयाँ सुविधा

यस बाहेक एन्ड्रोइडको सर्कल टु सर्च फिचरमा फाइन्ड द लुक (Find the Look) फिचर थपिएको छ । यसले फोटो वा स्क्रिनशटबाट पुरै पहिरन खोज्न मद्दत गर्छ र एआईको सहयोगमा त्यो पहिरन तपाईँमा कस्तो देखिन्छ भनेर भर्चुअल ट्राइ-अन गर्ने सुविधा दिन्छ ।

त्यस्तै गुगल फोटोज वार्डरोब फिचरले तपाईँको फोटो ग्यालरीमा भएका लुगाहरूको क्याटलग बनाउँछ र तपाईँलाई आफ्नो अर्को लुक तयार गर्न 'मिक्स एन्ड म्याच' गर्ने सुविधा दिन्छ । यो हाल अमेरिका, भारत र ब्राजिलका प्रयोगकर्ताहरूका लागि रोलआउट हुँदैछ ।

यसैगरी गुगल प्ले बुक्समा पढिरहेको किताबको सारांश हेर्न क्याच मी अप (Catch me up) फिचर थपिएको छ । प्रयोगकर्ताले कुनै पनि अनुच्छेद हाइलाइट गरेर पात्र वा विषयवस्तुबारे प्रश्न सोध्न सक्नेछन् ।

जिबोर्ड (Gboard) मा नयाँ इमोजी स्टिकरहरूको संयोजन थपिएको छ । जसले प्रयोगकर्तालाई आफ्नो भावना थप रचनात्मक रूपमा व्यक्त गर्न सघाउँछ ।

यी सबै फिचरहरू गुगलको एन्ड्रोइड १७ अपडेटमा समावेश छन् । जसमा जेमनाई इन्टेलिजेन्स एआईलाई अपरेटिङ सिस्टमको गहिराइसम्म जोडिएको छ । यसले स्मार्टफोनलाई एक वास्तविक असिस्टेन्टको रूपमा काम गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ ८:१२