close

१ वर्षमा भित्रियो करिब ४९ अर्बको स्मार्टफोन, स्मार्टवाचको आयातमा आयो गिरावट

टेकपाना टेकपाना

साउन ७, २०८३ १९:१९

१ वर्षमा भित्रियो करिब ४९ अर्बको स्मार्टफोन, स्मार्टवाचको आयातमा आयो गिरावट

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन र २४ करोड रुपैयाँको स्मार्टवाच भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा कूल ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको स्मार्टफोन मुलुक भित्रिएको हो । 

गत आर्थिक वर्षमा २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा स्मार्टफोनको आयातको परिमाणमा सामान्य वृद्धि भए पनि आयात मूल्यमा भने उल्लेख्य वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा नेपालमा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको २१ लाख ८४ हजार ६९४ थान फोन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

सरकारको राजस्व आम्दानी पनि बढ्यो

स्मार्टफोनको आयतामा वृद्धि भएसँगै सरकारको राजस्व आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । स्मार्टफोन आयातबाट गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । अघिल्लो आव २०८१/८२ मा भने ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार राजस्व आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा चीनबाट सबैभन्दा धेरै ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँको १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको भन्सा विभागको तथ्यांकले देखाएको छ । दोस्रोमा भारतबाट १० अर्ब ९९ करोड रुपैयाँको ३ लाख ६४ हजार ८४२ थान फोन आयात भएको छ । स्मार्टफोनको आयातबाट हुने राजस्व आम्दानीको ठुलो हिस्सा पनि यी दुई देशले नै ओगटेका छन् ।

स्मार्टवाचको आयात घट्यो

गत आर्थिक वर्ष २०८२/८३ मा स्मार्टवाचको आयातमा उल्लेख्य कमी आएको छ । गत वर्ष २३ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको ९८ हजार ७८३ थान स्मार्टवाच आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १ लाख ७३ हजार ६७८ थान स्मार्टवाच आयात भएको थियो । जसको आयात मूल्य २९ करोड ४५ लाख ६२ हजार रहेको थियो ।

स्मार्टवाचको आयातबाट हुने सरकारको राजस्व आम्दानी पनि घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सरकारको राजस्व आम्दानी ८ करोड ९० लाखबाट घटेर गत आर्थिक वर्षमा ७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १९:२०