बालेनको युट्युब च्यालनमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत ! ह्याक भएको हो ?
जेठ ११, २०८३ ७:४४
काठमाडौँ । १३ लाख सब्सक्राइबर भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलमा ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत देखिएको विषय यतिबेला चर्चामा छ । गणतन्त्र नेपालका प्रधानमन्त्रीले नै राजतन्त्रको पक्षमा रहेको आशय लाग्ने म्युजिक अपलोड गरेको भन्दै यसप्रति चासो र बहस भइरहेको छ ।
कतिपयले भने प्रधानमन्त्री बालेनको युट्युब च्यानल ह्याक भएको आशङ्का पनि गरेका छन् । २० फेब्रुअरीमा अपलोड भएको उक्त म्युजिकले यो सामग्री तयार पार्दासम्म ४५०० भन्दा बढी भ्युज पाइसकेको छ । यो ‘शिरमाथि नेपाल आमालाई’ बोलको गीतको एआई भर्सन हो ।
प्रधानमन्त्री बालेनले राजाको आवश्यकता भएको वा राजाको प्रशंसा गरेको भन्दै यसको निकै चर्चा भइरहेको छ । वास्तवमा यो गीत न बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसामा राखेका हुन्, न त उनको युट्युब च्यानल नै ह्याक भएको हो ।
बालेन प्रधानमन्त्री हुनुका साथै एक र्यापर अर्थात् आर्टिस्ट पनि हुन् । युट्युबले उनलाई सङ्गीतकार (र्यापर, गीतकार, म्युजिक कम्पोजर) का रूपमा मान्यता दिएकाले उनको च्यानल ‘अफिसियल आर्टिस्ट च्यानल’को रूपमा रहेको छ ।
यस्ता आधिकारिक आर्टिस्ट च्यानलमा युट्यबले सन् २०२४ देखि नै ‘रिलिजेज’ भन्ने विशेष ट्याब दिँदै आएको छ । नेपालमा भने हालैका दिनमा मात्र यो फिचर आर्टिस्टको च्यानलमा देखिएको छ ।
यो ट्याब सामान्य भ्लग वा भिडिओका लागि नभई आधिकारिक साङ्गीतिक एल्बम, ईपी र सिङ्गल गीतका लागि स्वतः तयार हुने प्लेटफर्म हो । कुनै पनि डिजिटल म्युजिक डिस्ट्रिब्युटर (जस्तै: TuneCore, DistroKid वा म्युजिक लेबल) मार्फत अडियो ट्र्याक रिलिज गर्दा युट्युबले स्वचालित रूपमा त्यस्ता सामग्रीलाई तानेर ‘रिलिजेज’ ट्याबमा राख्ने गर्छ ।
यो फिचर स्पोटिफाई वा एप्पल म्युजिकको जस्तै हो, जहाँ अडियो ट्र्याक युट्युब म्युजिकसँग सिधै सिंक हुन्छन् ।
कुनै सामान्य प्रयोगकर्ताले साधारण भिडिओ अपलोड गरेर वा ह्याशट्याग राखेकै भरमा मात्र भिडिओ यो ट्याबमा समावेश हुँदैन । तर, डिजिटल प्लेटफर्ममार्फत गीत वितरण गर्दा बालेनलाई मेन्सन गरिदिएको खण्डमा युट्युबको प्रणालीले त्यसलाई स्वचालित रूपमा बालेनकै च्यानलमा ‘आर्ट ट्र्याक’ (एल्बम कभरसहितको अडियो) को रूपमा देखाइ दिन्छ ।
यही प्राविधिक कारणले गर्दा पूर्वराजाको गीत मात्र नभई बालेनलाई मेन्सन गरिएका अन्य थुप्रै असम्बन्धित एआई गीत पनि उनको च्यानलमा देखिएका हुन् । उनको च्यानलमा ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा बतास चल्यो’, ‘बाइरोडमा ड्राइभर, हर्न बजाउँदै’, ‘अबकी बार बालेन सरकार’, ‘तर अन्तिम पल्ट’ लगायतका गीतहरू पनि युट्युबको यही स्वचालित प्रणालीका कारण अपलोड भएका हुन् ।
पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ ८:३८
