‘कनेक्ट आईपीएस खाता अस्थायी रूपमा निष्क्रिय भयाे’ भन्दै आउने एसएमएसबाट सतर्क सहन एनसीएचएलकाे आग्रह
जेठ १९, २०८३ ७:११
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आईपीएस’ को नाममा आउने विभिन्न नक्कली एसएमएसबाट सतर्क रहन आग्रह गरेको छ । कनेक्ट आईपीएसको नाम प्रयोग गरेर ठगी गर्ने प्रयास बढेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन एनसीएचएलले आग्रह गरेको हो ।
एनसीएचएलले एक सूचना जारी गरी ‘कनेक्ट आईपीएस खाता अस्थायी रूपमा निष्क्रिय भयाे’’ (connectIPS account temporarily disabled) भन्दै विभिन्न नक्कली यूआरएलबाट पठाइने एसएमएसहरू फेक भएको जानकारी गराएको छ । एनसीएचएलले ‘𝐜𝐨𝐧𝐧𝐞𝐜𝐭𝐈𝐩𝐬.𝐧𝐞𝐭’, httpps://connectipsverify.com लगायतका अनधिकृत लिङ्कबाट आउने सन्देशहरूमा विश्वास नगर्न र त्यस्ता लिङ्कमा क्लिक नगर्न प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
साइबर अपराधीहरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैङ्किङ विवरण चोरी गर्ने उद्देश्यले यस्ता फिशिङ सन्देश पठाइरहेका हुन्छन् । ह्याकरहरूले प्रयोगकर्ताको खातामा पहुँच पाएपछि बैङ्क खाता नै रित्याइदिन सक्छन् । डिजिटल कारोबार बढेसँगै बैङ्किङ तथा भुक्तानी सेवासँग सम्बन्धित फिशिङ र अनलाइन ठगीका घटना पनि बढिरहेका छन् । त्यसैले अपरिचित लिङ्कमा क्लिक नगर्न, ओटीपी वा पासवर्ड कसैलाई नदिन तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न साइबर सुरक्षा विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ ८:९
