चीनको सबैभन्दा ठुलो साइबर सुरक्षा कम्पनीले बनायो एन्थ्रोपिकको ‘मिथोस’लाई टक्कर दिने एआई उपकरण
असार ११, २०८३ १६:८
काठमाडौं । चीनको सबैभन्दा ठुलो साइबर सुरक्षा कम्पनी ‘३६० सेक्युरिटी टेक्नोलोजी’ ले अमेरिकी कम्पनी एन्थ्रोपिकको ‘मिथोस’ मोडेललाई टक्कर दिने घरेलु विकल्प विकास गरेको दाबी गरेको छ । कम्पनीले बुधबार उक्त मोडेल सार्वजनिक गर्ने क्रममा मिथोसलाई अमेरिकाको एक रणनीतिक साइबर क्षमताका रूपमा चित्रण गर्दै त्यस्तै क्षमताबिन चीन रहन नसक्ने बताएको छ ।
सफ्टवेयरका कमजोरीहरू पत्ता लगाउने एउटा प्रणालीको रूपमा मिथोसलाई गत अप्रिलमा प्रिभ्यु गरिएको थियो । तर साइबर सुरक्षा विज्ञहरूले भने यसले साइबर आक्रमणहरूलाई थप शक्तिशाली र तीव्र बनाउन सक्ने चेतावनी दिएका छन् । राष्ट्रिय सुरक्षाको चासोलाई कारण देखाउँदै अमेरिकाले यसै महिना एन्थ्रोपिकलाई यस प्रोग्रामको कम शक्तिशाली भर्सनको निर्यातमा समेत रोक लगाउन आदेश दिएको थियो ।
बेइजिङमा बुधबार आयोजित ‘ISC.AI 2026’ साइबर सुरक्षा सम्मेलनमा बोल्दै ३६० सेक्युरिटीका संस्थापक चाउ होङ्यीले ‘यितियान तुलोङ’ नामको ब्यानरमा दुईवटा एआई सुरक्षा ‘टुल्स’ हरू सार्वजनिक गरेका छन् । यो नाम एउटा चर्चित चिनियाँ मार्शल आर्ट्स उपन्यासबाट लिइएको हो, जसको ‘अर्थ दिव्य तरवार र ड्रागन खड्ग’ हुन्छ ।
चाउका अनुसार ‘तुलोङफेङ’ नामक पहिलो उपकरण सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी स्वतः पत्ता लगाउन डिजाइन गरिएको छ । उनले यसलाई ‘चीनको आफ्नै मिथोस’ को रूपमा व्याख्या गरेका छन् । त्यस्तै, दोस्रो प्रणाली ‘यितियनझेन’ साइबर प्रतिरक्षा तथा साइबर सुरक्षा घटनापछि गरिने प्रतिक्रियालाई स्वचालित बनाउन विकास गरिएको हो ।
चाउले सुरक्षा कमजोरी पत्ता लगाउने एआई प्रविधिलाई राष्ट्रिय रणनीतिक सम्पत्तिका रूपमा वर्णन गरेका छन् । उनका अनुसार यस्तो प्रविधि एकातिर महत्त्वपूर्ण पूर्वाधारहरूको सुरक्षा गर्न प्रयोग गर्न सकिन्छ भने अर्कोतर्फ साइबर आक्रमणमा रणनीतिक लाभ हासिल गर्न पनि उपयोग हुन सक्छ । ३६० कम्पनीले सार्वजनिक गरेको वक्तव्यमा चाउले भनेका छन्, “साइबर आक्रमण र प्रतिरक्षाको वर्तमान स्वरूप नै परिवर्तन गर्न सक्ने यस्ता शक्तिशाली हतियार अरूको हातमा मात्र रहनु हुँदैन ।”
चीन र अमेरिकाबिच एकअर्कामाथि महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गर्दै आक्रामक साइबर गतिविधि सञ्चालन गरेको आरोप लगाउने लामो इतिहास छ । यसै सन्दर्भमा ३६० कम्पनीले सार्वजनिक गरेको ‘यितियान तुलोङ’ परियोजनालाई हालसम्म एन्थ्रोपिकको मिथोस मोडेलप्रति चीनको ‘हाई-प्रोफाइल’ जवाफका रूपमा हेरिएको छ ।
- रोयटर्स
पछिल्लो अध्यावधिक: असार ११, २०८३ १६:८
