गुगलको एआई सर्चमा आफ्नो सामग्री देखाउने/नदेखाउने निर्णय अब वेबसाइट सञ्चालक आफैँले गर्न सक्ने
जेठ २१, २०८३ ७:६
काठमाडौँ । गुगलले वेबसाइट मालिक, सञ्चालक तथा प्रकाशकहरूका लागि सर्च कन्सोलमा नियन्त्रण (कन्ट्रोल) दिने नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै वेबसाइट सञ्चालकलाई आफ्नो सामग्रीको प्रदर्शन र प्रयोगबारे स्पष्ट नियन्त्रण दिन याे सुविधा ल्याएको जनाएको छ । यस फिचरबाट वेबसाइट सञ्चालक तथा प्रकाशकहरुले आफ्नो सामग्री गुगलका एआई आधारित खोजमा प्रयोग गर्न दिने वा नदिने निर्णय आफैँ गर्न सक्ने भएका छन् ।
नयाँ सुविधाअनुसार वेबसाइट मालिकहरूले गुगल सर्च कन्सोलमार्फत आफ्नो सामग्री AI Overviews र AI Mode जस्ता एआई खोज सुविधामा देखाउने वा नदेखाउने विकल्प पाउनेछन् । यदि कुनै वेबसाइटले यसबाट बाहिरिने निर्णय गरेमा उनीहरूको सामग्री गुगलको एआई सर्च नतिजाहरूमा देखिने छैन ।
यसबाट बाहिरिने वेबसाइटहरूको सामग्री एआईका जवाफहरू तयार पार्न प्रयोग नगरिने र ती एआई फिचरहरूबाट कुनै पनि ट्राफिक (भिजिटर) वा इम्प्रेसन्स नपाउने गुगलले जनाएको छ । एआई सर्चबाट सामग्री हटाए पनि वेबसाइटको परम्परागत गुगल सर्चमा देखिने अवस्था र त्यसबाट आउने ट्राफिक तथा र्याङ्किङलाई असर नगर्ने गुगलले जनाएको छ ।
बेलायतको प्रतिस्पर्धा तथा बजार प्राधिकरणले प्रकाशकहरूको सामग्री एआईमा कसरी प्रयोग हुन्छ भन्ने विषयमा थप पारदर्शिता र नियन्त्रण दिन निर्देशन दिएपछि गुगलले यो नयाँ सुविधा ल्याएको हो । पछिल्लो समय गुगलले सर्च नतिजाको सबैभन्दा माथि एआईले तयार पारेको सारांश देखाउन थालेपछि प्रयोगकर्ताहरूले मुख्य वेबसाइटमा क्लिक नगर्ने र यसले गर्दा मिडिया हाउसहरूको भिजिटर र विज्ञापन आम्दानी घटेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।
नयाँ नियमअनुसार प्रकाशकहरूले आफ्नो सामग्री एआई मोडेलको प्रशिक्षणमा प्रयोग हुन हुनबाट रोक्न पनि सक्नेछन् । गुगलले एआई प्रयोग र सामान्य खोजलाई छुट्टाछुट्टै नियन्त्रण गर्न सकिने सुविधा परीक्षणका रूपमा केही वेबसाइट सञ्चालकहरूमाझ सुरु गरिसकेको जनाएको छ । कम्पनीका अनुसार परीक्षण सफल भएपछि यसलाई थप व्यापक रूपमा विस्तार गरिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ ७:१२
