शैक्षिक क्यालेन्डरभन्दा अगावै आईओई प्रवेश परीक्षाले विद्यार्थीमाथि दबाब, किन सारियो मिति ?
जेठ २८, २०८३ १२:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले वार्षिक क्यालेन्डरमा तोकिएको मितिभन्दा एक महिना अगावै प्रवेश परीक्षा लिने भएपछि तयारी गरिरहेका विद्यार्थीहरूमा दबाब उत्पन्न भएको छ । आईओईको पूर्व निर्धारित वार्षिक क्यालेन्डरमा प्रवेश परीक्षा १५ साउनदेखि १५ भदौबिचमा हुने उल्लेख थियो ।
गत वर्ष पनि ३ भदौमा प्रवेश परीक्षा लिएको आइओईले पूर्व निर्धारित मिति सारेर यस पटक २८ असारदेखि नै परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ । गत २७ वैशाखमा कक्षा १२ को परीक्षा सकेका विद्यार्धीहरूले दुई महिनामै स्नातक तहको प्रवेश परीक्षा दिनुपर्ने भएको हो । शैक्षिक क्यालेन्डर पछ्याइरहेका विद्यार्थीहरूले मिति अगाडि सारिएपछि मानसिक दबाब परेको गुनासो गर्न थालेका छन् । आईओईले प्रवेश परीक्षाका लागि ३ असारदेखि फारम खुल्ने र त्यससम्बन्धी विस्तृत विवरण २ असारमा सार्वजनिक गरिने जनाएको छ ।
विद्यार्थीमा तनाव र आक्रोश
अचानक परीक्षाको मिति अघि सारिँदा मानसिक दबाब बढेको आईओईअन्तर्गत बीईको प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थी सौगात सापकोटा बताउँछन् । उनले टेकपानासँग भने, “कक्षा १२ को परीक्षा सकिएको एक महिना पनि भएको छैन । क्यालेन्डर अनुसार साउन अन्तिम वा भदौको पहिलो हप्तामा परीक्षा हुने आशामा हामीले तयारीको योजना बनाएका थियौँ ।”
सोही अनुसार अध्ययन गरिरहेका उनले परीक्षा हुनुभन्दा एक महिना अगाडि रिभिजन गर्नेगरी तयारी अघि बढाएको सुनाए । “अहिलेसम्म आधा सिलेबस पनि पढेर भ्याएको छैन । अब परीक्षा हुन एक महिना मात्र बाँकी छ । पूरै सिलेबस भ्याएर रिभिजन गर्न थाल्नुपर्ने छ ।” प्रवेश परीक्षाको मिति अघि सरेसँगै अध्ययनको समय बढाएपनि तयारी गरेर भ्याइँदैन कि भन्ने तनाब बढेको उनले बताए ।
सापकोटा मात्र नभएर आईओईको प्रवेश परीक्षा तयारी गरिरहेका अन्य विद्यार्थीहरूले पनि मानसिक दबाबमा परेको बताइरहेका छन् । परीक्षाको मिति परिवर्तन भएपछि सामाजिक सञ्जाल प्लेटफर्म ‘रेडिट’ को ‘r/IOENepal’ लगायतका सबरेडिट तथा फेसबुक लगायतका प्लेटफर्ममा विद्यार्थीले परीक्षा छिटो सुरु हुन लागेको भन्दै आक्रोश पोखिरहेका छन् । पर्याप्त तयारीको समय नदिई अचानक मिति तोकिएको भन्दै उनीहरूले संस्थानको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । रेडिट प्रयोगकर्ता ‘New_Mud4515’ ले यस वर्ष परीक्षा छिटो गर्दा क्यालेन्डर पनि सोही अनुसार सार्वजनिक नभएकोमा आक्रोश पोखेका छन् ।
क्यालेन्डरमा तोकेको समयभन्दा छिटो परीक्षा हुँदा मानसिक दबाब परेको भन्दै उनले लेखेका छन्, “आईओईले छिटो एक्जाम गर्नु थियो भने सुरुमा नै त्यसैअनुसार जानकारी गराउनु पर्ने थियो । त्यहीअनुसारको क्यालेन्डर पनि सार्वजनिक गर्नु पर्ने थियो । तर अन्तिम समयमा आएर एक्जाम छिटो गर्यो । एक्जामको मिति र क्यालेन्डरमा एक्जाम हुने भनेको मिति नै फरक छ । यसले विद्यार्थीलाई भ्रममा मात्रै पारेको छैन, मानसिक स्वास्थ्यमा पनि प्रभाव पारिरहेको छ । त्यसैले त्रिभुवन विश्वविद्यालय र नयाँ सरकारले यो अवस्थामा केही गर्नुपर्छ ।”
आईओई इन्ट्रान्स तयारी कक्षा सञ्चालन गर्ने संस्था ‘क्लाम्पहुक’ का सह-संस्थापक दिनेश प्रधानका अनुसार परीक्षा छिटो हुने भएपछि काठमाडौँमा बसेर तयारी गर्ने भन्दा दुर्गमबाट आएका विद्यार्थीहरू बढी मर्कामा परेका छन् । अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा पढ्ने लक्ष्यसहित तयारी गरिरहेको प्रधानले बताए ।
उनले भने, “हामीसँग हाल भौतिक र अनलाइन गरी तीन हजारभन्दा बढी विद्यार्थी तयारी गरिरहेका छन् । सुदूरपश्चिमका विकट ठाउँबाट प्रवेश परीक्षाकै लागि काठमाडौँमा आएर डेरा गर्नेहरू पनि छन् । यसरी टाढाबाट आएका विद्यार्थीलाई कक्षा सुरु गर्न र इन्ट्रान्समा सोधिने प्रश्न शैली फरक हुने भएकाले बुझ्न नै समय लाग्ने गरेको छ ।”
साउन अन्तिम वा भदौको पहिलो हप्तामा परीक्षा हुनेगरी नै विद्यार्थीहरूलाई तयारी गराउँदै आएकोमा नयाँ तालिका आएपछि पढाउने शैलीमा समेत परिवर्तन गरिएको उनले बताए । प्रधानले भने, “अब असार अन्तिममा नै परीक्षा हुने भएपछि हामीले पनि दैनिक कक्षाको समय ४ घण्टाबाट बढाएर ५ घण्टा पुर्याएका छौँ ।”
आईओईमा हरेक वर्ष १० देखि १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् । ती मध्ये ६ हजार बढि उत्तीर्ण हुने गरेका छन् । उत्तीर्ण परीक्षार्थीमध्ये त्रिभुवन विश्वविद्यालयको पाँच ओटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धन प्राप्त १० कलेजहरूमा दुई हजार ३०४ जना गरी जम्मा चार हजार ३४४ जना विद्यार्थीले इन्जिनियरिङ अध्ययन गर्न पाउँछन् ।
किन अगाडि सारियाे प्रवेश परीक्षा ?
आईओईका डीन प्रा.डा. सुशील बज्राचार्यले प्रवेश परीक्षाका लागि हाल तोकिएको मिति क्यालेन्डरमा तोकिएको मितिमा भन्दा धेरै छिटो नरहेको दाबी गरेका छन् । उनले भने, “क्यालेन्डरमा तोकेको भन्दा १५ दिन जति अगाडि परीक्षा हुन लागेको हो ।”
नेपाल सरकार र विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को निर्देशनअनुसार मिति सार्वजनिक गरिएको उनले बताए । प्रा.डा बज्राचार्यले भने, “एसईईको नतिजा पनि यो वर्ष छिट्टै सार्वजनिक भएको थियो । कक्षा १२ को पनि नतिजा पनि असारको दोस्रो हप्तामा सार्वजनिक गर्ने भनिएको छ । सरकारले नतिजा आएको एक महिनाभित्र इन्ट्रान्स परीक्षा लिनु भनेर निर्देशन दिएपछि त्यही अनुसार मिति तोकिएको हो ।”
छिटो परीक्षा सञ्चालन हुँदा विद्यार्थीको समय पनि बचत हुने उनको दाबी छ । “विद्यार्थीहरू विदेश जान नपरोस् भनेर पनि सरकारले यस्तो निर्देशन दिएको हो । यूजीसी र नेपाल सरकारको निर्देशनअनुसार परीक्षा सञ्चाल गर्न लागिएको हो ।” परीक्षा छिटै भएपछि आईओईमा अध्यापन पनि गत वर्षको तुलनामा छिटै सुरु गर्ने उनले जानकारी दिए । उनका अनुसार भदौसम्ममा भर्नाका कार्यक्रम पूरा गरेर १ असोजबाट कक्षा सञ्चालन गरिने छ ।
तर, आईओईको शैक्षिक क्यालेन्डरमा भन्दा छिटो मिति सार्वजनिक भएको र यसकारण विद्यार्थीहरू दबाबमा परेको विषयमा प्रश्न गर्दा डीन बज्राचार्यले भने, “शैक्षिक क्यालेन्डर अपडेट गरिएको छ । वेबसाइटमा हेर्न सक्नुहुन्छ ।” आईओईको आधिकारिक वेबसाइटको ‘एकेडेमिक क्यालेन्डर’ बुधबार (२७ वैशाश) दिउँसो परिवर्तन गरेर परीक्षा हुने मितिमा १५ असारदेखि १५ साउनको मिति राखिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ १२:२६
