close

ट्राफिक नियम उल्लंघन गर्ने हर्क साम्पाङलाई कारबाही गर्छौँ: प्रहरी

टेकपाना टेकपाना

जेठ २३, २०८३ १७:२९

ट्राफिक नियम उल्लंघन गर्ने हर्क साम्पाङलाई कारबाही गर्छौँ: प्रहरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही हुने भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको पाइएकाले कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।

साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडिओ खिचेको र हेल्मेटको फिता समेत नलगाएको दृश्य सार्वजनिक भएको थियो । डीआईजी घिमिरेले साम्पाङबाट स्पष्ट रूपमा नियम मिचेको देखिएकाले मातहतका प्रहरी कार्यालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

“उहाँ (साम्पाङ)ले ट्राफिक नियम उल्लंघन गरेको प्रष्ट छ,” डीआईजी घिमिरेले टेकपानासँग भने, “कारबाहीको दायरामा ल्याइन्छ, यसका लागि मातहतको कार्यालयले प्रक्रिया अघि बढाउनेछ ।”

उदयपुरको कटारीबाट फर्कने क्रममा साम्पाङ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटना हुनुअघि उनले आफैँले मोबाइल समातेर सेल्फी भिडिओ खिच्दै लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको देखिन्छ ।

सामाजिक सञ्जालमा भाइरल भिडिओमा उनले एक हातले मात्र ह्यान्डल समातेको र सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फिता समेत नलगाएको प्रष्ट देखिन्छ ।

दुर्घटनामा उनको हात र शरीरका केही भागमा सामान्य चोट लागेको छ । साम्पाङले भने बाटोमा रहेको ढुङ्गाका कारण सन्तुलन बिग्रिएर दुर्घटना भएको बताएका छन् ।

नियम बनाउने तहमा रहेका जनप्रतिनिधिले नै सडकमा लापरवाही गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । सर्वसाधारणले प्रहरीलाई सामाजिक सञ्जालमार्फत मेन्सन गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १८:२९