close

वन कर्मचारीले टेम्पाे भीरबाट खसालेकाे घटनामा १० जना पक्राउ, के हो प्रकरण ?

टेकपाना टेकपाना

जेठ ३१, २०८३ १९:५

वन कर्मचारीले टेम्पाे भीरबाट खसालेकाे घटनामा १० जना पक्राउ, के हो प्रकरण ?

काठमाडाैँ । टेम्पाे भीरबाट खसालेकाे घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार घटनाबारे अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएकाे हाे ।   घटनाकाे निष्कर्ष नआइसकेकाे र अहिले दुई पक्षबिच जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफल भइरहेकाे डीएसपी महराले जानकारी दिए । 

के हाे घटना ?

डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले एउटा टेम्पाेलाई भीरबाट खसालेकाे भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । भिडिओमा सडक छेउमा रहेकाे निलाे रङकाे टेम्पाेलाई एक जना बर्दीमा रहेका वन कर्मचारीसहितकाे समूहले ठेलेर भीरबाट खसालेको देखिन्छ । 

टेम्पाेका सञ्चालक घनश्याम धामीकी श्रीमती धनादेवी धामीले टेम्पाे घरमै ल्याउने गरेकाे, कहिलेकाहीँ मात्र पसल राखेकाे ठाउँमा छाेड्ने गरेकाे बताएकी छन् । जेठ २९ मा पनि आफ्ना श्रीमान र वनका कर्मचारीबिच पसल हटाउने विषयमा  घम्साघम्सी परेकाे उनकाे भनाइ छ । त्यस समयमा आफू घरमा रहेकाे भएपनि घम्साघम्सीकाे खबर पाए लगत्तै घटनास्थल पुगेर टेम्पाेमा राखिएका सामान (पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत) ओसार्न खाेज्दा खाेज्दै भीरबाट खसालिएकाे बताएकी छन् । उनले भनेकी छन्, “गाडी घर ल्याउने लैजाने गरेका थियाै‌ं । वनका मान्छे आउँछन् भन्ने थाहा थिएन ।  पसलमा आज बुढा (श्रीमान्) हुनुहुन्थ्याे । गाडी फाल्दैछन् भन्ने थाहा पाउँदा बित्तिकक्कै गइसक्या थेँ । उनीहरू (वन कर्मचारी) ले सामान फालिहाले । सामान राख्न दिनुस्, म गाडी घर लैजान्छु भन्दै ढाेगे, तर सुनेनन् ।” 

‘कर तिरेकाे टेम्पाे हाे, अवस्था राम्रै छ’ भन्दा समेत नसुनेर टेम्पो भीरबाट खसालिएकाे उनकाे भनाइ छ । 

 

तर वन कार्यालयले टेम्पाे केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहराको रूपमा राखिएको बताएकाे छ । वन कार्यालयले विज्ञप्ति निकालेरै टेम्पाेकाे अवस्था केवल फलामे अस्थिपञ्जरमा सीमित रहेकाे जिकिर गरेकाे छ । “सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढङ्गले भागबण्डा गरी भित्रि रूपमा बेचबिखन गर्ने र खोका/छाप्रा खडा गरी सरकारी वन/जमिन कब्जा गर्ने श्रृङ्खला विगत लामो समयदेखि चल्दै आएको छ । वन प्रशासनले समय समयमा सो अतिक्रमण खाली गर्ने कार्य गर्दै आइरहेकाे छ”, कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ । 

वन कार्यालयका अधिकृत दीपक यादवले पनि टेम्पाे भीरबाट कर्मचारीले नखसालेकाे दाबी गरेका छन् । सडक किनारमा राखिँदै आइएकाे टेम्पाे पटक-पटक हटाउन भनिए पनि सुनुवाइ  नभएकाे उनकाे भनाइ छ । गत शुक्रबार पनि सडक किनारका ५० वटा अनधिकृत घरटहरा भत्काइएकाे र साेही क्रममा प्रयाेग विहीन अवस्थामा रहेकाे उक्त टेम्पाेलाई त्यहाँबाट हटाउन खाेज्दा भीरबाट खसेकाे अधिकृत यादवकाे भनाई छ । 

“पहिले पनि त्यही टेम्पाेलाई हटाउन खाेज्दा झडप भएकाे थियाे । अहिले नि हटाउन खाेजिएकाे हाे । किनारमा भएकाे टेम्पाे माथि तान्न खाेज्दा तल खसेकाे हाे, खसालेकाे हाेइन । तर सामाजिक सञ्जालमा खसालेकाे जस्ताे बनाएर देखाइँदै छ”, उनले दाबी गर्दै भने ।

 

 

 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १९:५