close

अपराध अनुसन्धान तथा विश्लेषणका लागि अत्याधुनिक उपकरण र सफ्टवेयर किन्ने सीआईबीको तयारी

टेकपाना टेकपाना

असार १, २०८३ ७:५०

अपराध अनुसन्धान तथा विश्लेषणका लागि अत्याधुनिक उपकरण र सफ्टवेयर किन्ने सीआईबीको तयारी

 

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई प्रविधियुक्त बनाउन सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँबाट अत्याधुनिक उपकरण तथा सफ्टवेयर खरिद गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले घोषणा गरेबमोजिम उक्त रकम प्राप्त भई खरिदको आन्तरिक प्रक्रिया अगाडि बढेको सीआईबीले जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित सरकारले १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ को ९४ औं बुँदामा सीआईबीलाई प्रविधियुक्त बनाउन तत्काल कम्तीमा एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको थियो । सोही घोषणा अनुरूप सरकारले उक्त रकम निकास गरेकाे हो ।

सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले सरकारबाट उक्त बजेट प्राप्त भइसकेको र आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् ।

“सरकारले प्रतिबद्धता जनाएबमोजिम रकम तत्कालै उपलब्ध गराएको थियो,” एआईजी डा. केसीले भने, "सरकारी खरिद प्रक्रिया अनुसार टेन्डरमा जानुपर्ने र सामानको स्पेसिफिकेसन तयार गर्नुपर्ने भएकाले प्रक्रियागत रूपमा केही समय लागेको हो । अहिले खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।”

ब्युरोका अनुसार प्राप्त बजेटबाट हाई-इन्ड कम्प्युटर र अपराध अनुसन्धान तथा विश्लेषणका लागि आवश्यक पर्ने विशेष खालका सफ्टवेयर लगायत अन्य प्रविधिजन्य सामग्री खरिद गरिने छ । एआईजी केसीले खरिद प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएपछि ल्याइएका सामग्रीबारे विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

पछिल्लो अध्यावधिक: असार १, २०८३ ७:५०