काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लिगका रूपमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) अवैध सट्टेबाजीका कारण विवादमा तानिएको छ । लिगलाई सहप्रायोजन गर्ने ‘उल्फ७७७ न्युज’को पृष्ठभूमि अनलाइन सट्टेबाजी भएकाले प्रतियोगिता विवादमा परेको हो ।
नेपालमा कुनै पनि प्रकारको सट्टेबाजी प्रतिबन्धित छ । तर उल्फ७७७ ले भित्रभित्रै सञ्जाल विस्तार गर्न मिडियाका रूपमा एनपीएलमा उपस्थिति जनाएको छ । “एनपीएलमा अनलाइन सट्टेबाजी उल्फ७७७ लागिरहेको सूचनापछि हाम्रो टोली खटिएर निगरानी गरिरहेको छ,” केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले भने, “कतै फेला पर्यो भने कानुनी कारबाहीमा ल्याइहाल्छौं ।”
सरोगेट विज्ञापनमार्फत एनपीएलमा प्रवेश गरेको उल्फ७७७ न्युजमाथि पनि अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले सुनाए ।
त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि यसमा अनुसन्धान थालेको छ । “एनपीएलमा अनलाइन सट्टेबाजीको कनेक्सन के हो कसरी भइरहेको छ, त्यसमा अनुसन्धान गर्न हामीलाई माथिबाट निर्देशन आएको छ,” कार्यालयका एक अधिकारीले भने, “यसमा धेरै नेपाली संलग्न गरेको देखिन्छ । अनुसन्धान गरिरहेका छौं ।”
उल्फ७७७ सँग एनपीएलको सम्बन्ध !
फेसबुकमार्फत नेपाली प्रयोगकर्तालाई लक्षित गरी अत्यधिक विज्ञापन गर्ने अवैध प्लेटफर्ममा उल्फ७७७ शीर्ष स्थानमा पर्छ । वनएक्स बेटपछि नेपालमा धेरै प्रयोग हुने बेटिङ प्लेटफर्ममा पनि उल्फ७७७ पर्ने ट्राफिक मनिटरिङ साइट सिमिलर वेबबाट देखिन्छ ।
त्यस्तै २ असार २०८१ मा सीआईबीबाट खटिएको प्रहरी टोलीले उल्फ७७७ कै छ जना एजेन्टलाई पक्राउ गरेको थियो । सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले छ जनाले विभिन्न समयमा २४ करोडभन्दा बढीको कारोबार गरेको फेला पारेको थियो । उनीहरूको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामै छ ।
उल्फ७७७ ले सेरोगेट एड्भार्टाइजिङ मार्फत एनपीएलमा ल्याएको न्युज साइट पनि कामचलाउ देखिन्छ । आफूलाई न्युज पोर्टलका रूपमा प्रस्तुत गर्ने यो प्लेटफर्मबाट गत मार्चपछि कुनै पनि समाचार आएका छैनन् ।
लोगोकै सन्दर्भमा पनि अनलाइन क्यासिनो मुख्य धन्धा भएको उल्फ७७७ र उल्फ७७७ न्युजको एउटै छ । फरक त्यसको तलपट्टि सानो अक्षरमा ‘News’ लेखिएको छ ।
एनपीएलले पनि आफ्ना प्रायः सबै प्रायोजकको नाम पारदर्शी रूपमा खुलाएको छ । तर, उल्फ७७७ को नाम औपचारिक रूपमा घोषणा गरिएको थिएन । न त आयोजक क्यानले पारदर्शी रूपमा कतै यसबारे उल्लेख गरेको छ ।
शनिबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा बाउन्ड्री र स्टम्प पछाडि एक्कासि उल्फ७७७ न्युजको लोगो राखेको देखिएको थियो भने फ्लेक्स बोर्डहरूमा पनि अन्य प्रायोजकहरूसँगै राखिएको थियो ।
के हो सेरोगेट विज्ञापन ?
सेरोगेट एड्भर्टाइजिङ भनेको कुनै उत्पादन वा सेवाको प्रत्यक्ष विज्ञापन गर्न कानुनी रोक लागेको अवस्थामा अप्रत्यक्ष रूपमा त्यसैलाई प्रवर्द्धन गर्ने विज्ञापन प्रवृत्ति हो । यसमा प्रतिबन्धित वस्तुजस्तै मदिरा, चुरोट वा जुवाजस्ता उत्पादनहरूको सट्टा अन्य वैध उत्पादन वा सेवाको नाममा ब्रान्डलाई प्रोत्साहन गरिन्छ ।
उदाहरणका लागि कुनै मदिरा कम्पनीले मदिराको विज्ञापन गर्न नपाए पनि त्यही ब्रान्डको नाममा पानी, म्युजिक कन्सर्ट, खेलकुद इभेन्ट वा अन्य वैध उत्पादनको प्रचार गर्ने गर्दछ । यसरी कानुनी रूपमा प्रत्यक्ष विज्ञापन गर्न नमिल्ने वस्तुको ब्रान्डलाई लोकप्रिय बनाउन अप्रत्यक्ष तरिकाको उपयोग गरिन्छ ।
यो विधि नियमनकारी निकायलाई छल्न प्रयोग गरिन्छ, तर यसले नैतिक प्रश्न र विवाद जन्माउन सक्छ । सेरोगेट विज्ञापनबारे कानुन नभएको देशमा त्यसैको फाइदा उठाउँदै यस्ता प्लेटफर्मले विज्ञापन गर्ने गर्छन् ।
यसअघि पनि नेपालमा वनएक्स बेट, स्काइ एक्सचेन्ज, डाफा बेट लगायतका बेटिङ प्लेटफर्मले नेपालमा सेरोगेट एड्भर्टाइजिङमार्फत आफ्नो विज्ञापन गरेका थिए । त्यतिबेला केही खेलाडीमाथि म्याच फिक्सिङ गरेको आरोप लागेको थियो ।
उल्फ७७७ बेटिङ कम्पनी हो भन्ने क्यान स्वयम् जानकार छ । तर, कानुनी छिद्रको आडमा उल्फ७७७ एनपीएलमा एउटा न्युज पार्टनरका प्रस्तुत भएको छ । “नेपाल क्रिकेट संघ क्यानले विगतमा पनि सरोगेट कम्पनीको विज्ञापन गरेकै हो,” टेकपानासँग कुरा क्यानका प्रवक्ता छुम्बी लामाले भने, “अहिले नेपाल प्रिमियर लिगमा पनि सेरोगेट कम्पनीका रूपमा उल्फ७७७ पार्टनर भई आएको छ ।”
उनले अगाडि भने, “क्यानले बेटिङको प्रवर्द्धन गर्दैन । यसका आफ्नै नियमहरू हुन्छन् । खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रायलयका आफ्नै नियम हुन्छन् । आईसीसी, एसीसीको प्रोटोकलभित्र रहेर काम गर्छ । सबै प्रक्रिया पूरा भएर नै उल्फ७७७ न्युज प्रायोजकका रूपमा आएको छ ।”
यसअघि पनि क्यानले आयोजना गरेका विभिन्न प्रतियोगितामा डाफा बेटको डाफा न्युजलाई पनि सेरोगेट कम्पनीका रूपमा प्रायोजकका रूपमा लिइएको उनले सुनाए । डाफा बेट जसरी नै उल्फ७७७ पनि प्रायोजकका रूपमा सहयोग गर्न आएपछि आफूहरूले स्वीकारेको प्रवक्ता लामाले सुनाए ।
विश्व खेलकुदको परिदृश्यको उदाहरण दिंदै लामाले सबै ठाउँमा सेरोगेट कम्पनीले सहजै विज्ञापन गर्न सक्ने सुनाए । “हाम्रो पार्टनर सिद्धार्थ बैंक पनि छ, एनसेल पनि छ, हामीले सबैलाई त्यही अकाउन्ट बनाउनुपर्छ भनेर भन्दैनौं,” लामाले भने, “एनपीएलमा पनि उल्फ७७७ न्युज यसरी नै स्पोन्सरका रूपमा आएको हो । मान्छेको भ्रम चाहिं यो बेटिङ कम्पनी भन्ने छ ।”
नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ मा नेपालमा बेटिङ साइटमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । त्यसयता प्रमुख मानिएका बेटिङ साइट नेपालमा ब्लक छन् । अर्थात् सामान्य ब्राउजरबाट वनएक्स बेटको आधिकारिक साइट खोल्न सकिंदैन । तर, यो उल्फ७७७ भने खुला रूपमा सञ्चालन भइरहेको छ । वनएक्स बेटले पनि प्रतिबन्धबाट आफूलाई टाढा राख्न नेपलकै लागि छुट्टै डोमेन सञ्चालनमा ल्याएको छ । त्यसमा मासिक लाखौं नेपाली सट्टेबाजी गर्ने गर्छन् ।