काबो भर्डेका ४० वर्षीय गोलरक्षक रातारात भाइरल, केही घण्टामै पाए ४८ लाख इन्स्टाग्राम फलोअर्स
असार २, २०८३ ८:३५
काठमाडौं । अफ्रिकाको पश्चिमी तटबाट ५०० किलोमिटर टाढा रहेको देश केप भर्ड (काबो भर्डे) का गोलरक्षक रातारात चर्चित भएका छन् । केप भर्डले सोमबारसम्म कहिल्यै पनि विश्वकपको खेल खेलेको थिएन । तर स्पेन विरुद्धको खेलमा अन्तिम सिट्टी बज्दासम्म सम्पूर्ण खेलप्रेमीहरू उनीहरूकै चर्चा गर्न थालिसकेका थिए । विशेषगरी, केप भर्डका ४० वर्षीय गोलरक्षक भोजिन्या (जोसिमार डियाज) को चर्चा रातारात चुलिएको हो ।
केप भर्डको ऐतिहासिक विश्वकप डेब्यूमा स्पेन विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि गोलरक्षक भोजिन्यालाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो । उनले खेलमा ७ वटा उत्कृष्ट सेभ गर्दै प्रतियोगिताको दाबेदार मानिएको टोली स्पेनलाई बारम्बार रोक्न सफल भएका थिए ।
स्पेनले करिब ७५ प्रतिशत बल नियन्त्रण गर्दै कुल २७ वटा शट प्रहार गरे पनि भोजिन्हाले गोल गर्ने उपाय निकाल्न दिएनन् । यो प्रदर्शनले केप भर्डेलाई एक अङ्क मात्र दिलाएन, भोजिन्यालाई पनि रातारात प्रतियोगिताको सबैभन्दा ठुला नाममध्ये एक बनाइदियो ।
स्पेन विरुद्धको खेल सुरु हुनुअघि करिब ४३ हजार रहेको उनको इन्स्टाग्राम फलोअर्स सङ्ख्या १ घण्टामै २० लाख भन्दा माथि नाघेको थियो । खेल सकिएपछि सञ्चारकर्मीले फलोअर्सको संङ्ख्या देखाउँदा भोजिन्या आफैँ आश्चर्यचकित भएका थिए । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म उनको इन्स्टाग्राम फलोअर्स सङ्ख्या ४८ लाख बढी पुगिसकेको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ ९:२५
