प्रम बालेनले हिमालय भट्टसँग अनुमति लिएरै राखेका थिए अपि बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको भिडिओ
असार १, २०८३ ९:४०
काठमाडौँ । शनिबार बिहान प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेलिरहेको भिडिओ शेयर गरे । जसको पृष्ठभूमिमा उनी आफैँले गाएको ‘जय महाकाली’ गीत थियो भने क्याप्सनमा ‘अपि हिमाल, बेस क्याम्प दार्चुला’ लेखेका थिए ।
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ फेसबुकमा मात्र ७८ लाख भन्दा धेरै पटक हेरिएको छ । उनले सोही भिडिओ इन्स्टाग्राम र टिकटकमा पनि राखेका छन्, जहाँ क्रमशः २२ लाख र ३० लाखभन्दा धेरैले हेरेका छन् । बालेनले यो भिडिओ राखेपछि सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरूले समेत उक्त भिडिओ, त्यसबाट निकालिएका फोटोहरू शेयर गरिरहेका छन् । यही सन्दर्भलाई पारेर विभिन्न सामाजिक सञ्जाल पेज तथा मिडियाहरूले समेत कभरेजको विषय बनाएका छन् ।
बालेनले शेयर गरेसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओ कैद गर्ने व्यक्ति भने दार्चुलाका हिमालय भट्ट (फेरुवा) हुन् । जसले आफ्नै गाउँ ठाउँमा बसेर सुदूरको सुन्दरतालाई क्यामेरामा कैद गरेर पर्यटन प्रवर्धन गर्दै आएका छन् ।
भट्टका अनुसार शुक्रबार उनलाई प्रधानमन्त्रीको सचिवालयबाट भिडिओ प्रयोग गर्ने अनुमति माग्न कल आएको थियो । प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार विवेक मिश्रसँग आफ्नो पहिले देखिकै चिनजान रहेको उनले सुनाए ।
बालेनले भिडिओमा चासो देखाएपछि उनका सल्लाहकार कुमार बेनले मिश्रमार्फत भिडिओ राख्न अनुमति मागेका थिए । भट्टले अनुमति दिएपछि शनिबार उक्त भिडिओ प्रधानमन्त्रीको सामाजिक सञ्जालमा राखिएको हो ।
भिडिओको सन्दर्भ
भिडिओमा हरियो मैदानमा केही युवाहरू क्रिकेट खेलिरहेका छन् । ड्रोन शट मार्फत कैद गरिएको उक्त भिडिओको वरिपरि हिउँले सेताम्य हिमाल देखिन्छ । हिमाललाई पृष्ठभूमि पारेर युवाहरूले खेलिरहेको क्रिकेटको दृश्य निकै सुन्दर देखिएको छ ।
२५० किमि पैदल यात्रा तय गरेपछि उक्त दृश्य कैद गर्ने अवसर मिलेको भट्ट बताउँछन् । उनका अनुसार २६ मे २०२६ मा उक्त भिडिओ खिचिएको हो । डकुमेन्ट्री खिच्न अपि हिमाल बेसक्याम्प पुगेका उनले क्रिकेट खेलिरहेको दृश्य कैद गरेर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका थिए । सोही भिडिओ देखेपछि बालेनले आफ्नो सामाजिक सञ्जालमा राख्न चाहेका हुन् ।
उनका अनुसार हिमाली भेगमा यार्सागुम्बा टिप्न गएका युवाहरूले फुर्सदमा क्रिकेट खेलिरहेका थिए । त्यही दृश्य भिडिओमा कैद गरिएको हो । “प्रायःजसो यो समयमा हिमालमा यार्सागुम्बा टिप्न जाने गरिन्छ । यार्सागुम्बा टिप्ने बेला बाक्लो हिउँ पर्यो भने बेस क्याम्पमा झरेर यहाँका युवाहरूले हिउँ पग्लिने दिन कुर्छन् । यसरी हिउँ पग्लिन कुर्दा मैदानमा क्रिकेट खेल्ने गर्छन् । त्यही भिडिओ नै कैद गरिएको हो,” भट्टले भने ।
उनका अनुसार अपि हिमालको बेसक्याम्प (भिडिओमा देखिएको मैदान) मा त्यहाँका स्थानीयले वर्षौदेखि क्रिकेट प्रतियोगिता समेत आयोजना गर्दै आएका छन् । “पहिले पहिले त यहाँ स्थानीय स्तरको क्रिकेट प्रतियोगिता नै आयोजना हुन्थ्यो । तर अहिले पहिले जस्तो क्रेज नभए पनि नगद पुरस्कार दिने गरि सानोतिनो प्रतियोगिता आयोजना भइरहेको हुन्छ,” उनले थपे । पछिल्लो समयमा युवाहरू वैदेशिक रोजगारीतर्फ लाग्दा यार्सागुम्बा टिप्न जानेको सङ्ख्या कम भएको र बेसक्याम्पमा खेलिने क्रिकेटको क्रेज पनि केही घटेको उनको भनाई छ ।
भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा कतिपयले प्रधानमन्त्री शाहले उक्त स्थानमा क्रिकेट रङ्गशाला बनाउने बिचार गरेको समेत अड्कल काटेका छन् । पछिल्लो समय यसबारे आफूलाई पनि प्रश्न आइरहेको उनी बताउँछन् । उनले भने, “यहाँका स्थानीय वातावरणमा घुलमिल हुनसक्ने भएका मानिस भएकाले मात्र चार हजार भन्दा माथिको उचाइमा खेल्न सकेका हुन् । बाहिरबाट आउने मानिसहरूलाई यति उचाईमा सामान्य रूपमा स्वास फेर्न पनि समस्या हुन सक्छ । यहाँ रंगशाला बनाउन लागिएको भन्ने कुरामा कुनै सत्यता छैन ।”
तर भिडिओ जसरी भाइरल भइरहेको छ, आफ्नो सामाजिक सञ्जालमा भने त्यति ठुलो प्रभाव नदेखिएको भट्टले सुनाए । भिडिओ भाइरल भएसँगै पछिल्लो दुई दिनमा उनको इन्स्टाग्राममा दुई हजार र फेसबुकमा ८ हजार फलोअर्स बढेका छन् । उनले भने, “राम्रा राम्रा दृश्य धेरै खिचिएको हुन्छ । ती मध्ये केही भिडिओहरू कहिलेकाहीँ धेरै भाइरल हुन्छन् । अहिलेको भिडिओ पनि त्यस्तै भाइरल मध्येकै एक हो ।”
यो सामग्री तयार पार्दासम्म उनले राखेको फेसबुक भिडिओमा ३ लाख ८७ हजार र इन्स्टाग्राममा ४ लाख ९२ हजार भ्युज आएको छ ।

घरै बसेर सुदूरलाई चिनाउने कर्म
हेल्थ असिस्टेन्ट (एचए) को पढाइ सकेर सरकारी जागिरे बन्ने लक्ष्य सहित भट्ट विसं २०७४ मा दार्चुलाबाट काठमाडौँ लागेका थिए । काठमाडौँमा हुँदा उनले यहाँका मानिसहरूमा भएको हिउँप्रतिको मोह देखे । काठमाडौँ नजिकैका ठाउँहरूमा हिउँ खेल्न जाने मानिसहरूको भीड देख्दा उनले आफ्नो सुदूरपश्चिम सम्झिए र त्यहाँका मनोरम दृश्यबारे मानिसहरूलाई थाहै नभएको महसुस गरे ।
त्यसपछि उनी सरकारी जागिरे बन्ने सपना त्यागेर सुदूरपश्चिमको सुन्दरतालाई फोटो र भिडिओमा कैद गरेर सामाजिक सञ्जालमा राख्न थाले । भट्ट भन्छन्, “आठ वर्ष पहिला फेसबुकमा राखेको एउटा फोटोमै एक लाखभन्दा बढि रियाक्सन आउने अवस्था थियो ।”
अहिले उनको भेरिफाइड इन्स्टाग्राम अकाउन्ट ‘Phaeruwa’ मा हाल ५५ हजार बढी फलोअर्स र ‘Himalaya Bhatt - Phaeruwa ’ नामको फेसबुक पेजमा एक लाख ९ हजार बढी फलोअर्स छन् ।
दार्चुला स्थित आफ्नै घरमा बसेर कामलाई निरन्तरता दिँदै आएको भट्ट बताउँछन् । उनले भने, “काठमाडौँ, धनगढी जस्ता ठुला ठुला सहरमा गएर बस्यो भने मात्र यस्तो काम गर्न सक्छन् भनेर मानिसहरूले एउटा धारणा बनाएका हुन्छन् । तर, म केही काम पर्यो भने महेन्द्रनगर-काठमाडौँ पुगिरहेको हुन्छु । होइन भने घरमै बसेर काम गरिरहेको हुन्छु ।”

अहिलेको डिजिटल समयमा मानिसहरूले बोलेको शब्दलाई भन्दा देखेका दृश्यलाई रुचाउने र विश्वास गर्ने उनको अनुभव छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बालेनले स्विजरल्यान्डजस्तो बनाउनु नपर्ने र त्यो भन्दा राम्रो ठाउँ ‘बडिमालिका’ सुदूरपश्चिममा रहेको बताएका थिए । बालेनको उक्त भाषणपछि सामाजिक सञ्जालमा बडिमालिकाका अनेकौँ तस्बिर र भिडिओहरू निकै भाइरल भए ।
सोही प्रसङ्ग निकाल्दै भट्ट भन्छन्, “बोलेर बडिमालिकालाई राम्रो ठाउँ भनियो । त्यसपछि बडिमालिका साँच्चै राम्रो छ भन्ने कुरा त्यहाँको फोटो, भिडिओहरूबाट देखियो ।” सो समयमा बडिमालिकाको सुन्दरता देखाउन आफूले खिचेका कयौँ तस्बिर र भिडिओहरू भाइरल भएको उनले सुनाए ।
सामाजिक सञ्जालमा राख्ने गरेका फोटो-भिडिओ र डकुमेन्ट्रीबाट उनको जीविकोपार्जन हुने गरेको छ । भट्टले भने, “ग्याजेट किन्न, खिच्न जाने ठाउँहरू घुम्ने लगायतका खर्च यसैगरी जुटाउँछु ।” तर, नेपाललाई चिनाउन लागिपरेका युवाहरूलाई प्रोत्साहनको कमि रहेको उनले बताए ।
विदेशमा तस्बिर र भिडिओ कसैलाई मन परेर खरीद गरेर प्रयोग गर्ने चलन रहे पनि नेपालमा त्यस्तो नरहेको उनले बताए । उनले भने, “राम्रो लाग्यो क्रेडिट दिएर राख्छु नि भनेर सोध्छन् । हुँदैन भन्यो भने एउटा भिडिओ राख्दैमा के फरक पर्छ र भन्छन् ।” एउटा तस्बिर खिच्न फोटोग्राफरले गरेको मेहेनत र कलालाई सम्मान नभएको उनले बताए ।
यही कारणले धेरै युवाहरू पर्यटन प्रवर्धन गर्ने रहर हुँदा हुँदै पनि काम छाडेर वैदेशिक रोजगारीमा होमिएको भट्ट बताउँछन् । केही भने आफ्नो सीपलाई पर्यटन क्षेत्र छाडेर अन्यत्र प्रयोग गरिरहेका छन् ।

‘भिडिओ भाइरल भएपछि अफवाह फैलाइयो’
शनिबारदेखि अपि बेसक्याम्पको भिडिओ भाइरल भएपछि आफ्नो बारेमा सामाजिक सञ्जालमा धेरैले लेखिरहेको कुरा भट्टले नियालीरहेका छन् । उनले भने, “मसँग कुराकानी नगरि मेरो बारेमा छापिएका पुराना समाचारहरू हेरेर लेखिएको छ । मैले चार पाँच वर्ष पहिलाका अन्तर्वार्तामा सुरुमा यो काममा लाग्दा खासै सपोर्ट मिलेको थिएन भनेको थिएँ । पछि काम राम्रो हुँदै गएपछि सबैको साथ मिलेको छ । तर सामाजिक सञ्जालमा मलाई आफन्त छिमेकीले ‘आवारा’, ‘छाडा’ भन्थे भनेर बढाइ चढाइ लेखिरहेका छन् ।” सामाजिक सञ्जालमा आफ्नो बारेमा तोडमोड गरेर सामग्री आएको भन्दै उनले आपत्ति जनाए ।
यता भिडिओ भाइरल हुँदा उक्त स्थानमा धेरैको ध्यान पर्ने भएपनि पर्यटकीय स्थानको ‘प्रमोसन’ मात्र गरेर नपुग्ने भट्ट बताउँछन् । उनले भने, “यदी बडिमालिकामा दिनहुँ पाँच सय जना पर्यटक आएर टेन्ट लगाएर बस्न थाले भने चार पाँच वर्षमा नै सुन्दरता हराएर जान सक्छ । त्यसैले कुनै पर्यटकीय स्थानको प्रमोसन गर्ने हो भने पर्यटक आउँदा पनि प्रकृति नमासिने तरिकाले कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्छ ।” यस्तो बेलामा प्रकृति र त्यहाँका स्थानीयको भूगोल बुझेका मानिसहरूसँग सल्लाह लिएर प्राकृतिक सम्पदाको संरक्षणका बारेमा ध्यान दिनुपर्ने उनले बताए ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ ११:४६
