काठमाडौं । काठमाडौं विश्वविद्यालय कृषि क्लब (केयूएसी) ले ‘एग्री ह्याकाथन’ आयोजना गर्ने भएको छ । ‘एग्री पल्स २०२६’ अन्तर्गत आउँदाे सोमबार अर्थात् २२ जुन (८ असार) मा उक्त ह्याकाथन सञ्चालन गर्न लागिएको हो । “नेपालको भविष्यका लागि स्मार्ट र उत्थानशील कृषि” भन्ने मूल नाराका साथ ह्याकाथन आयोजना हुन लागेको हो ।
यसमा सहभागी हुनका लागि विद्यार्थीहरूले ५ असार ( १९ जुन) सम्म आवेदन दिन सक्नेछन् । सहभागी हुने प्रत्येक टोलीमा ३ देखि ४ जनासम्म सदस्य रहन सक्नेछन् । जसमध्ये कम्तीमा एक जना कृषि विज्ञान अध्ययनरत विद्यार्थी अनिवार्य हुनुपर्ने सर्त राखिएको छ । कुनै समूहमा कृषि विज्ञान अध्ययरत विद्यार्थी नभएमा क्लबले नै त्यस्ता विद्यार्थी राख्न सहयोग गर्ने बताएको छ ।
प्रतियोगितामा सहभागी हुन प्रति टोली ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । तर काठमाडौं विश्वविद्यालयमा बीएससी एग्रीकल्चर अध्ययनरत र क्लबका सदस्यहरूका लागि भने दर्ता शुल्क २ हजार ७५० रुपैयाँ मात्र निर्धारण गरिएको छ । विद्यार्थीहरूले यहाँ क्लिक गरेर ह्याकाथनका लागि आफ्नो समूह दर्ता गर्न सक्नेछन् ।
ह्याकाथनमा सहभागी हुन चाहने विद्यार्थीहरूलाई बुधबार (३ असार) देखि ५ असारसम्म अनलाइन कक्षा र मेन्टरिङको समेत व्यवस्था गरिएको छ । डिस्कर्ड ग्रुपमा सहभागी भएर विद्यार्थीहरूले उक्त कक्षा लिन सक्नेछन् । जहाँ प्रम्ट इन्जिनियरिङ, एआई टुलको प्रयोग, बिजनेस मोडल डेभलपमेन्ट र इन्भेस्टमेन्ट स्ट्राटेजीको बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूले तालिम दिनेछन् ।
ह्याकाथनको थिममा आधारित भएर समूहले परियोजना घरमै बसेर समेत तयार गर्न सक्ने आयोजकले जानकारी गराएकाे छ । विद्यार्थीले माटोको स्वास्थ्य, बाली संरक्षण, बजार व्यवस्थापन र जलवायु अनुकूल कृषि जस्ता चुनौतीको समाधान दिने प्रोटोटाइप वा व्यावसायिक योजना पेस गर्न सक्नेछन् । परियोजना भने २२ जुन (८ असार) मा काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयमा हुने प्रदर्शनीमा प्रस्तुतिका लागि लिएर जानु पर्नेछ ।
टाढाबाट प्रदर्शनीमा जाने विद्यार्थीका लागि वासस्थानको व्यवस्था समेत क्लबले मिलाउने बताएको छ । आयोजकका अनुसार यस प्रतिस्पर्धामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ह्याकाथनसँगै सोही दिन अनुसन्धान पत्र प्रस्तुति, कृषि ओलम्पियाड, टक शो, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ ६:५७
