रास्वपा सांसद श्रृष्टि भट्टराईको भिडिओ भाइरल, ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाही माग
असार २, २०८३ १७:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रृष्टि भट्टराईको झन्डै चार महिना पुरानो एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । गुडिरहेको गाडीको अगाडिको सिटमा बसेकी भट्टराईले झ्यालबाट आधा शरीर बाहिर निकाल्दै भिडिओ खिचेको दृश्य सार्वजनिक भएपछि यसले चर्चा पाएको हो ।
पछिल्लो समय प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको विषयमा चौतर्फी आलोचना भइरहेको छ । ट्राफिक प्रहरी कार्यालय सुनसरीले चिट काटेको भए पनि राईले सामाजिक सञ्जालमार्फत उक्त चिट नक्कली भएको दाबी गरेका छन् ।
सोही विषयलाई आधार बनाउँदै सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद रमेश प्रसाईंले ट्राफिक नियम उल्लंघनको आलोचना गरेका थिए । तर, सोही समयमा रास्वपाकै सांसद भट्टराईको पुरानो भिडिओ भाइरल भएको छ ।
भिडिओमा टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘क्यान वि स्किप टु द गुड पार्ट’ (Can we skip to the good part) लेख्दै प्रहरीलाई मेन्सन गरिरहेका छन् ।

ट्राफिक नियम तथा सडक अनुशासन उल्लंघन गर्नेलाई कारबाही गरिसकेपछिको भिडिओ सार्वजनिक गर्दा प्रहरीले यो थिम प्रयोग गर्ने गरेको छ । प्रहरीको यो ट्रेन्ड चर्चित रहेकाले प्रयोगकर्ताले सांसद भट्टराईलाई पनि कारबाही गरी सोही थिममा भिडिओ सार्वजनिक गर्न दबाब दिएका हुन् ।
खासगरी मनोरञ्जन वा भाइरल हुने मोहले जोखियमयुक्त स्टन्ट देखाउने, सडक अनुशासन उलङ्घन गर्ने चालक तथा यात्रुको भिडिओ राखी रमाइलो भागका रूपमा कारबाही गरिएको क्लिप राख्ने गरिएको छ ।
यसैबिच, सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत यसको खण्डन गर्दै स्पष्टीकरण दिएकी छिन् । उक्त भिडिओमा आफू सवारी चालक नभई यात्रुको रूपमा रहेको र यो आफ्नो सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्ति पूर्वको निजी समयको भएको उनले उल्लेख गरेकी छन् ।
“सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन,” उनले लेखेकी छिन्, “म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ र अन्य नागरिक सरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ ।”
यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमको पालना सबैको साझा जिम्मेवारी भएको स्वीकार्दै उनले विगतका कमजोरीबाट सिक्दै भविष्यमा यस्तो व्यवहार नदोहोर्याउने र अरूलाई पनि नियम पालना गर्न आग्रह गर्ने बताएकी छिन् । यस हर्कतलाई उनले आफ्नो निजी जीवनसँग जोडेर बचाउ गर्न खोजेको भए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले थप आलोचना गरेका छन् ।
उनको पोस्टमा कमेन्ट गर्दै श्री विकासाचार्यले लेखेका छन्, “त्यो काम निकै जोखिमपूर्ण थियो र त्यसबेला (सांसद नहुँदा) पनि नियम-कानुन लागु हुन्थ्यो । त्यसैले बेकारमा बहस नगर्नुहोस्, आफ्नो गल्ती स्वीकार गरी माफी माग्नुहोस् । किनभने तपाईं सार्वजनिक व्यक्ति हुनुहोस् वा साधारण नागरिक, गैरकानुनी काम त गैरकानुनी नै हुन्छ ।”
विकासाचार्यको जस्तै भनाइ फेसबुक प्रयोगकर्ता भीमबहादुर साउदको पनि छ । “ट्राफिक नियम समय, पद वा व्यक्तिअनुसार फरक हुँदैन, सबैका लागि बराबर लागू हुन्छ,” साउदले लेखेका छन्, “सार्वजनिक पदमा रहेकाले झन् बढी जिम्मेवारी र अनुशासन आवश्यक हुन्छ । पुरानो भिडिओ भनेर नियम उल्लङ्घन सामान्य ठहरिन सक्दैन, बरु यस्तो विषयले अरूलाई पनि गलत सन्देश दिन सक्छ । कानुन सबैका लागि बराबर हो सम्मान पनि त्यसैमा आधारित हुन्छ ।”
गल्ती स्वीकार्नुको सट्टा उल्टै आफू सार्वजनिक पदमा रहँदा गरेको गतिविधि सही थियो भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् ।
सांसद् भट्टराईले भने यसलाई विवादको विषय भन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन अनुरोध गरेकी छिन् ।
ट्राफिक नियम अनुसार यात्रुले सडक अनुशासन उल्लंघन गरेमा पनि उक्त सवारी साधनलाई कारबाही गर्ने व्यवस्था छ । यस सम्बन्धमा प्रहरीको प्रतिक्रिया बुझ्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीलाई सम्पर्क गर्दा उनी उपलब्ध हुन सकेनन् ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ १७:४२
