‘हेलो सरकार’ मा एआई भित्र्याउने तयारी, हालसम्म साढे ६५ हजार गुनासा फर्छ्यौट
असार २, २०८३ १९:३३
काठमाडौँ । ‘हेलो सरकार’ लाई सरकार र नागरिकबिच संवाद गर्ने एकीकृत प्लेटफर्मका रूपमा विकास गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस प्रणालीलाई सार्वजनिक प्रशासनको सुधार र सुशासनको प्रमुख औजार बनाउने रणनीतिसहित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित प्रविधि भित्र्याउने तयारी गरेको छ ।
शासकीय सुधारसम्बन्धी सरकारको १०० दिने कार्यसूचीअनुसार हेलो सरकारलाई २४ सै घण्टा सञ्चालनमा ल्याइसकिएको छ । अब यसलाई फोन, मोबाइल एप, वेबपोर्टल र सामाजिक सञ्जाल गरी ‘बहुच्यानल’ प्रणालीमार्फत स्वचालित बनाउन लागिएको हो ।
हेलो सरकार शाखाका उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार, नयाँ प्रणाली लागु भएपछि टेलिफोनबाट प्राप्त हुने गुनासा एआईको सहयोगमा स्वतः शब्दमा रूपान्तरण भई सम्बन्धित निकायमा पुग्नेछन् ।
पछिल्लो समय सार्वजनिक सेवामा नागरिकको चासो बढ्दा गुनासो दर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ९३२ गुनासो आएकोमा चालु आव २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा यो सङ्ख्या ४५ हजार ६२३ पुगेको छ ।
हालसम्मको कुल तथ्याङ्क हेर्दा प्रणालीमा एक लाख १६ हजार सातवटा गुनासो दर्ता भएका छन्, जसमध्ये ५६.४४ प्रतिशत (६५ हजार ४६९) फर्छ्यौट भइसकेका छन् । वर्तमान सरकार गठन भएयता मात्रै सात हजार १५० गुनासो पूर्ण रूपमा समाधान भएका छन् भने १९ हजारभन्दा बढी प्रक्रियामा रहेको बताइएको छ ।
हेलो सरकारमा प्राप्त कुल गुनासोमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित (१० हजार ९७५) छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरण, गृह मन्त्रालय, एकीकृत डेटा व्यवस्थापन केन्द्र, स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित गुनासाहरूको चाप बढी देखिएको छ । नागरिकले मुख्यतया हेलो सरकारको वेबसाइट (४७ प्रतिशत) र नागरिक एप (४२ प्रतिशत) बाट गुनासो दर्ता गर्ने गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले हेलो सरकारलाई सरकार–नागरिक संवादको केन्द्रीय प्लेटफर्म बनाउने नीति लिएको छ । सरकारी कार्यालयहरूमा ‘डिजिटल टाइमकार्ड’ लागु गर्ने र निश्चित समयभित्र गुनासो सम्बोधन नगरे कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा नम्बर काटिने व्यवस्था समेत गर्न लागिएको छ ।
हाल ११७ वटा विभिन्न शीर्षकमा गुनासो दर्ता गर्न सकिने व्यवस्था छ । यस प्रणालीमा तीन हजार ७६९ सरकारी निकाय आबद्ध छन् भने २६ जना कर्मचारीले तीन शिफ्टमा २४ सै घण्टा सेवा प्रवाह गरिरहेको बताइएको छ ।
प्रणाली प्रभावकारी बन्दै गए पनि एउटै विषयमा पटक–पटक उजुरी आउने, पेसेवर रूपमा हैरानी दिने उद्देश्यले गुनासो गर्ने र अदालतमा विचाराधीन मुद्दाहरू समेत दर्ता हुने जस्ता चुनौती देखिएका छन् । सङ्घीय सरकारले अब प्रदेशको ‘हेलो मुख्यमन्त्री’ र स्थानीय तहको ‘हेलो मेयर’ जस्ता कार्यक्रमहरूलाई एकीकृत गरी एउटै राष्ट्रिय संरचनामा आबद्ध गर्ने तयारी गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ १९:४१
