फ्याक्टचेक: नेपाल-भारत सीमामा ठोरी-३ का वडाध्यक्षले हालै काँडेतार लगाए भन्दै फैलिएको दाबी भ्रामक
असार ६, २०८३ २०:१
काठमाडौं । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नेपाल-भारत सीमा विवादको चर्चा चुलिएका बेला पर्साको ठोरी गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष सूर्यबहादुर लामाले सीमामा तारबार गरेको दाबीसहितका तस्बिर भाइरल भइरहेका छन् । खुला सीमाका कारण नेपाली भूमि मिचिएको गुनासो आइरहेका बेला लामाले ‘साहसी कदम’ चालेको भन्दै प्रयोगकर्ताहरूले उनको प्रशंसा गरिरहेका छन् ।
तर, टेकपाना फ्याक्टचेकको अनुसन्धानका क्रममा यो दाबी भ्रामक पाइएको छ। सूर्यबहादुर लामा हाल ठोरी-३ को वडाध्यक्ष नरहेको र उनले काँडेतार लगाएको घटना करिब ६ वर्ष पुरानो रहेको पुष्टि भएको छ । हाल सो स्थानमा पुरानो काँडेतार हटाएर नयाँ ‘मेस जाली’ (तारजाली) लगाइएको छ ।
दाबी
‘Juntara Khabar’ ले १६ जुन बिहान ११:५८ मा पोस्ट गरेको छ । पोस्टमा साहसी वडाध्यक्षले ठुलो जोखिम मोलेर काँडेतार लगाइएको दाबी गरिएको छ ।
पोस्टमा लेखिएको छ, “नेपाल-भारत सीमा विवाद र मिचिने शृङ्खला चलिरहेका बेला पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष सूर्यबहादुर लामाले ठुलो साहस देखाएका छन्। भारतीय पक्षबाट हुने निरन्तरको दुर्व्यवहार, नेपाली भूमिमा बनाइएको अवैध बाँध र जङ्गली जनावरको आतङ्कबाट आफ्ना ८ हजार जनतालाई जोगाउन उनले सीमा क्षेत्रमा काँडेतार लगाउने उदाहरणीय कार्य गरेका हुन्।”
उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म चार हजार बढीले रियाक्ट गरेका छन् । पोस्टमा ३६९ पटक कमेन्ट र २८९ पटक शेयर भएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
१८ जुन बिहान ८:४८ मा ‘Greater Nepal TV’ नामको फेसबुक पेजबाट पनि सोही दाबी सहितको पोस्ट सार्वजनिक भएको छ । उक्त पोस्टमा शेयर गरिएको तस्बिरमा लेखिएको छ, ‘साहसी वडा अध्यक्ष जसले ठुलो जोखिम मोलेर साढे 4 किलोमिटर सिमानामा लगाए काँडेतार’’ उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म २१ सय बढी रियाक्सन गरिएको छ । पोस्टमा १७४ कमेन्ट र ९२ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

टिकटकमा पनि सोही दाबी भाइरल भइरहेको पाइयो । १७ मे २०२६ मा टिकटक आईडी ‘global.tiktok4’ बाट काँडेतारको बार अगाडि उभिएका सूर्यबहादुर लामाको तस्बिरसहित उक्त दाबी शेयर गरिएको छ । जहाँ नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिमानाको बारेमा विवाद गरिरहेको देखिने एआई सिर्जित तस्बिरसमेत राखिएको छ ।
तस्बिरको स्टाटसमा लेखिएको छ, “वडाध्यक्ष सूर्य लामाका अनुसार, विगत तीन वर्षदेखि निरन्तर बजेट छुट्याएर (पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र चालु आर्थिक वर्षमा ८ लाख) साढे ५ किलोमिटर सीमा क्षेत्रमध्ये ४ किलोमिटरमा सफलतापूर्वक काँडेतार लगाउने काम सम्पन्न भइसकेको छ ।”
तस्बिरलाई आठ हजार बढीले लाइक गरेका छन् भने एक लाख ४९ हजारभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् टिकटक भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट ।

सामाजिक सञ्जालमा उक्त दाबी भाइरल भएको पाइएपछि हामी पर्साको ठोरी गाउँपालिकाको वडा नं ३ का वडाध्यक्षले सीमामा तारजाली लगाएको समाचार खोज्यौँ । खोज्ने क्रममा ६ वर्ष पहिला ‘बीबीसी नेपाली’मा सार्वजनिक भएको समाचार फेला पर्यो ।
१५ मे २०२० मा प्रकाशित उक्त समाचारमा ठोरी गाउँपालिका वडा नम्बर- ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले आफ्नो वडाको भारतसँग सीमा जोडिएको साढे पाँच किलोमिटर क्षेत्रमध्ये साढे चार किलोमिटरमा काँडेतार लगाएको उल्लेख छ । जहाँ भारतीय पक्षको दुर्व्यवहार र जङ्गली जनावरका कारण भोग्नुपरेको सास्तीबाट छुटकारा दिन सीमामा काँडेतार लगाएको वडाध्यक्ष लामाले बताएका छन् । २०७४ साल मंसिरदेखि काँडेतार लगाउन सुरु गरिएको समाचारमा उल्लेख छ ।
नौ वर्षदेखि काँडेतार लगाउने काम सुरु भएको र ६ वर्षअघि नै हाल भइरहेको दाबीसँग मिल्दो समाचार आएको पाइएपछि हामीले हाल उनै लामा वडाध्यक्ष छन् कि छैनन् बुझ्ने कोसिस गर्यौँ ।
गाउँपालिकाको वेबसाइटमा जनप्रतिनिधिको विवरण खोज्ने क्रममा वडा नं ३ को अध्यक्ष पदमा ‘सूर्यबहादुर लामा’ नभई ‘शम्भु खड्का’ रहेको देखियो । वडाध्यक्ष शम्भु खड्कालाई टेकपाना फ्याक्टचेक डेस्कले टेलिफोन सम्पर्क गर्दा अघिल्लो कार्यकालको वडाध्यक्ष लामाले काँडेतार लगाएको बताए । तर हाल उक्त स्थानबाट काँडेतार हटाएर मेस जाली लगाइएको वडाध्यक्ष खड्काले जानकारी दिए ।
उनले भने, “पहिला त्यहाँ काडेतार लगाइएको थियो । त्यो तार जीर्ण भएपछि त्यसलाई हटाएर मेस जाली लगाएको हो ।” यसरी जाली नाप्ने बेलामा पिल्लरबाट दशगजा नापेर भारतको एसएसबी, नेपालको एसपीएफ सहितको टोली र जनप्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा तारबार लगाइएको उनले बताए । यस क्रममा दशगजाबाट नेपालतर्फ ३० फिट र भारततर्फ ३० फिट ‘नोमेन्स लाइन’ छाडिएको छ ।
उनका अनुसार चार किलोमिटर भन्दा पनि बढी क्षेत्रमा तारबारको काम सम्पन्न भएको छ । वडाको वरिपरीको सीमाक्षेत्र नौ किलोमिटर क्षेत्रफल रहेको र बजेट व्यवस्थापन भएमा यसै वर्ष वडाका सबै क्षेत्रमा मेस जाली राखिने उनले बताए । बजेटका लागि मधेस प्रदेशको वन मन्त्रालयसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।
उक्त क्षेत्रमा सीमा विवाद नरहेको वडाध्यक्ष खड्काले बताए । “यहाँ त्यस्तो सीमा विवाद केही छैन । दशगजा, नो मेन्स लाइन एकदमै क्लियर छ । सीमा स्तम्भबाट उत्तरतिर ३० फिट र दक्षिणतिर ३० फिट छाडेर जाली लगाएका हौँ ।”
उनले नेपालतर्फका किसान भारत तर्फबाट ठुलो परिणाममा आउने निरगाई, बँदेल, हरिण लगायतका जनावरले बाली नष्ट गर्दा मर्कामा परेको सुनाए । वडाध्यक्ष खड्काले भने, “ती जनावरलाई काँडेतारले रोक्न सकेन त्यही भएर मेस जाली लगाइएको हो ।” उनले सुरक्षा निकायसँगको छलफल र मेस जाली लगाइरहेको अवस्थाको तस्बिर र भिडिओहरू पनि टेकपाना फ्याक्टचेक डेस्कसँग शेयर गरेका छन् ।


दाबी
नेपाल-भारत सीमा विवादका बीच ठोरी गाउँपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले सीमामा काँडेतार लगाए ।
दाबीकर्ता
‘Juntara Khabar’, ‘Greater Nepal TV’, ‘global.tiktok4’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य
सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर र दाबी ६ वर्ष पुरानो (सन् २०२० को) हो । तस्बिरमा देखिएका सूर्यबहादुर लामा ठोरी गाउँपालिका वडा नं. ३ का अघिल्लो कार्यकालका वडाध्यक्ष हुन् । वर्तमान वडाध्यक्ष शम्भु खड्का हुन् । हाल उक्त सीमा क्षेत्रमा पुरानो काँडेतार हटाएर दुवै देशका सुरक्षा निकायको प्रत्यक्ष सहभागितामा स्थानीय जनप्रतिनिधिले मेस जाली लगाएका छन् । त्यहाँ सीमा विवाद नरहेको र जङ्गली जनावर रोक्न यो जाली लगाएको वडाध्यक्ष खड्काले पुष्टि गरे ।
निष्कर्ष
नेपाल-भारत सीमा विवादका बीच ठोरी गाउँपालिका-३ का वडाध्यक्ष सूर्यबहादुर लामाले हालसालै सीमा क्षेत्रमा काँडेतार लगाएको भनी सामाजिक सञ्जालमा भइरहेको दाबी भ्रामक हो । सूर्यबहादुर लामा पूर्ववडाध्यक्ष हुन् र उनले तार लगाएको घटना ६ वर्षअघिको हो । हाल सो स्थानमा वर्तमान वडाध्यक्षको नेतृत्वमा पुरानो तार हटाई नयाँ जाली लगाउने कार्य भएको छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८३ २०:१९
