close

फ्याक्टचेक: सुकुम्बासी आन्दोलनको भन्दै हर्क साम्पाङ लगायतले शेयर गरेको भिडिओ ३ वर्ष पुरानो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

बैशाख २६, २०८३ १४:२८

फ्याक्टचेक: सुकुम्बासी आन्दोलनको भन्दै हर्क साम्पाङ लगायतले शेयर गरेको भिडिओ ३ वर्ष पुरानो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले सुकुम्बासी आन्दोलनको भन्दै शेयर गरेको एउटा भिडिओ भ्रामक र सम्पादित भएको पुष्टि भएको छ । छाता ओढेर ठुलो सङ्ख्यामा मानिसहरूले प्रदर्शन गरिरहेको उक्त दृश्यलाई कतिपय प्रयोगकर्ताले कास्कीको पोखरामा भएको आन्दोलनको रूपमा समेत दाबी गरेका छन् ।

तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानका क्रममा उक्त भिडिओ दुई फरक समय र फरक स्थानका क्लिपहरूलाई जोडेर बनाइएको पाइएको छ । यसमा काठमाडौँको नयाँ बानेश्वरको पुरानो भिडिओ र हेटौँडाको हालैको सुकुम्बासी आन्दोलनको दृश्य मिसाइएको छ। साथै, दर्शकलाई भ्रममा पार्न भिडिओको 'अडियो' समेत सम्पादन गरिएको तथ्य फेला परेको छ ।

दाबी 

हर्क साम्पाङले आफ्नो फेसबुक पेज ‘Harka Sampang A Revolution’ मा ६ मे, २०२६ राति ०८:०९ मा एक भिडिओ शेयर गरेका छन् । ३५ सेकेन्ड लामो उक्त भिडिओमा छाता ओढेका प्रदर्शनकारीहरूले ‘बन्द गर’, ‘पाइँदैन पाइँदैन’, ‘व्यवस्थापन गर’ जस्ता नारा लगाएको सुनिन्छ । भिडिओको क्याप्सनमा “सुकुमबासीको श्राप र आसुँले पोल्ने छ रातो हुनेगरि रास्वपा”  भन्दै राजनीतिक प्रहार गरिएको छ। यो भिडिओ सुरुमा ‘बुटवल हिन्दु मन राजसंस्था’ नामक पेजबाट अपलोड भएको थियो, जसलाई साम्पाङले शेयर गरेका थिए ।

उक्त पोस्टमा प्रयोगकर्ताहरूले टेकपानालाई मेन्सन गर्दै फ्याक्ट चेकका लागि अनुरोध गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 


अनुसन्धान

‘Kumar_syangtan_official’ युजर आईडी रहेको टिकटक अकाउन्टबाट ५ मेमा सोही भिडिओ शेयर भएको पाइयो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “सरकार विरुद्ध सुकुम्बासीको बृहत आन्दोलन” । हेर्नुहोस् भिडि‌‌ओ र स्क्रिनशट । 

 

 

“कास्की र पाेखरा देखि सुकुम्बासी जनताहरु अब थेक्न सक्ने छैन। याे गरिबमारा सरकारले ।” क्याप्सनसहित फेसबुक प्रयोगकर्ता ‘Dipendra Saud’ ले शेयर गरेको सोही भिडिओ फेला पर्‍यो । ५ मे दिउँसो २:११ मा उक्त भिडिओ शेयर गरिएको हो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

‘Ramesh Lama/रमेश लामा’ ले कास्कीबाट जनता सडकमा आएको दाबीसहित उक्त भिडिओ शेयर गरेका छन्  । यो भिडिओ निकै भाइरल समेत भएको पाइयो । ४ मे २०२६ साँझ ७:२८ मा राखिएको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “कास्की पोखराबाट सुरुभयो बालेन सरकार ढाल्ने सुकुम्बासी आन्दोलन, छाता ओडेरै आए जनता सडकमा, अब के होला?”

उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म चार लाख १६ हजारभन्दा धेरैले हेरेका छन् । भिडिओलाई २० हजार भन्दा धेरै रियाक्सन, १९ सय बढी लाइक र २१ सयभन्दा धेरै पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

४ मेमा फेसबुक फेसबुक प्रयोगकर्ता ‘ओम नाथ’ले पनि सोही भिडिओ राखेको फेला पर्‍यो । भिडिओको क्याप्सनमा लेखिएको छ, “कास्की पोखराबाट सुरुभयो बालेन सरकार ढाल्ने सुकुम्बासी आन्दोलनमा छाता ओडेरै आए जनता सडकमा, अब के होला?”  हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

३५ सेकेन्ड लामो उक्त भिडिओमा दुई ओटा क्लिप राखिएको छ । जहाँ एउटा अग्लो स्थानबाट खिचिएको छ भने भिडिओको अन्तिम ४ सेकेन्डमा क्लोज शट छ । 

हामीले माथिबाट खिचिएको पहिलो क्लिपको उक्त भिडिओको किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोज्ने क्रममा २९ डिसेम्बर २०२३ मा नै उक्त भिडिओ शेयर गरेको पाइयो । २५ सेकेन्ड लामो उक्त भिडिओमा ‘नयाँ बानेश्वर’ लेखिएको छ । तर यो भिडिओमा आन्दोलनका कारण हल्ला भइरहेपनि भाइरल भिडिओमा जस्तो ‘बन्द गर’, ‘पाइँदैन पाइँदैन’, ‘व्यवस्थापन गर’, ‘खारेज गर’ लगायतका नाराहरू भने सुनिएको छैन । हेर्नुहोस् भिडिओ

सोही भिडिओ २१ सेप्टेम्बर २०२३ मा टिकटक अकाउन्ट ‘pfmcfc’ बाट समेत सार्वजनिक भएको फेला पर्‍यो । जहाँ उक्त भिडिओ नयाँ बानेश्वरको शिक्षक आन्दोलनको भएको दाबी गरिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

हामीले यो क्लिपमा काठमाडौँको नयाँ बानेश्वरको दाबी गरेको पाइएपछि गुगल स्ट्रिट भ्यूबाट नयाँ बानेश्वरको हो वा होइन भनेर तुलना गर्‍यौँ । यो भिडिओ नयाँ बानेश्वरको नै रहेको पाइयो । 

त्यसपछि हामीले भिडिओको पछिल्लो भागमा राखेको क्लिपको वास्तविकता पत्ता लगाउन खोज्यौँ । उक्त भिडिओबाट स्क्रिनशट लिएर गुगल रिभर्स सर्च गर्दा ५ मे २०२६ बिहान ३:१८ मा सार्वजनिक फोटो फेला पर्‍यो । ‘Nepali Online Post’ ले राखेको उक्त फोटोमा “#Hetauda भूमि पीडितको प्रदर्शन” क्याप्सन राखिएको छ । 

सोही फोटो हामीले गुगल स्ट्रिट भ्यू बाट सर्च गर्दा हेटौँडाको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको भवनको विपरित दिशातर्फ रहेको स्थान र भिडिओको क्लिपमा रहेको स्थान मेल खायो । 


हामीले ‘भूमिहिन’, ‘हेटौँडा सुकुम्बासी’, ‘सुकुम्बासी’ लगायतका कीवर्ड सर्च गर्दा ४ मेमा हिमालय टेलिभिजनले “हेटौंडामा डोजर अभियानविरुद्ध सुकुम्बासीको प्रदर्शन: "हाम्रो आवास अधिकार सुनिश्चित गर” क्याप्सनमा सार्वजनिक समाचार फेला पर्‍यो । अर्थात् उक्त समयमा हेटौँडामा प्रदर्शन भएको पाइयो । यस्तै पोखरामा पनि ४ मेमा प्रदर्शन भएको बारेमा पनि विभिन्न समाचार फेला परे । 

दाबी 

सुकुम्बासीहरूले ठुलो सङ्ख्या प्रदर्शन गरे/पोखराबाट व्यापक रूपमा सुकुम्बासीले विरोध प्रदर्शन सुरु गरे । 

दाबीकर्ता  

हर्क साम्पाङ, फेसबुक पेज ‘बुटवल हिन्दु मन राजसंस्था’, ‘Ramesh Lama/रमेश लामा’, टिकटक अकाउन्ट ‘Kumar_syangtan_official’, फेसबुक अकाउन्ट  ‘Dipendra Saud’, ‘ओम नाथ’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

३५ सेकेन्ड लामो भिडिओमा दुईओटा फरक क्लिप जोडिएका छन् । सुरुको ३० सेकेन्ड लामो दृश्य हालको नभई करिब तीन वर्ष पुरानो हो । यो भिडिओ काठमाडौँको नयाँ बानेश्वरमा भएको आन्दोलनको हो । भाइरल भिडिओमा सुनिने 'बन्द गर', 'पाइँदैन' जस्ता नाराहरू वास्तविक भिडिओमा छैन । पुरानो भिडिओमा अर्कै प्रकारको हल्ला सुनिएको छ । यसको अर्थ हालको भिडिओमा अडियो सम्पादन गरिएको स्पष्ट हुन्छ । अन्तिम ५ सेकेन्डको क्लिप हेटौँडाको आन्दोलनको हो । 

निष्कर्ष 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सामाजिक सञ्जाल प्रयोगकर्ताले सुकुम्बासीको ठुलो प्रदर्शन देखाउन खोज्दै शेयर गरेको भिडिओ भ्रामक हो । उक्त भिडिओमा ३० सेकेन्ड लामो भिडिओ करिब तीन वर्ष पुरानो हो भने बाँकी पाँच सेकेन्डको क्लिप भने हेटौँडाको आन्दोलनको राखिएको छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १६:५१