close

फ्याक्टचेकः पूर्वमन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको भन्दै फैलिएको दाबी झुटो

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ४, २०८३ १६:४१

फ्याक्टचेकः पूर्वमन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको भन्दै फैलिएको दाबी झुटो

काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको दाबीसहितका पोस्ट भाइरल भएका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । 

दाबी

आइतबार, १७ मे २०२६ बेलुका ८ः४७ मिनेटमा ‘शिक्षा Updates’ नामक फेसबुक पेजले एक पोस्ट राख्यो । पोस्टमा लेखिएको छ, “RSP छाडीकी पूर्व सांसद सुमना श्रेष्ठ वर्कर भिसामा जापान जाँदै😮।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १८ सय बढी रियाक्सन, १५७ कमेन्ट आएका छन् भने ८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँचका क्रममा फेसबुकमा ‘सुमना श्रेष्ठ जापान’ कीवर्ड सर्च गरेर हेर्‍यो । त्यस क्रममा ‘Laxmi Gyanwali’ नामको आईडीबाट १७ मे २०२६ बिहान १०ः२७ बजे ‘पूर्व सांसद् श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको’ दाबी गर्दै पोस्ट राखेको फेला पर्‍यो । जहाँ देखिएको छ, “RSP छाडीकी पूर्व सांसद सुमना श्रेष्ठ वर्कर भिसामा जापान जाँदै😮 ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४१०० बढी रियाक्सन र २८० कमेन्ट आएका छन् । त्यस्तै उक्त पोस्ट १५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

त्यस्तै nayapusta.com नामको फेसबुक पेजले पनि ‘पूर्व सांसद श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको’ दाबी गर्दै पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

‘Mahesh Mahara’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीसहितको पोस्ट राखेका छन् । उनको पोस्टमा ७६८ रियाक्सन र ७६ कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको दाबी गर्दै पोस्ट राख्ने अन्य दर्जनौं फेसबुक अकाउन्ट र पेजहरू भेटिएका छन् । हेर्नुहोस् स्क्रिन रेकर्ड ।

यसबारे तथ्यजाँच गर्न हामीले सबैभन्दा पहिले यी पोस्टमा प्रयोग गरिएको भाषा नियाल्यौं । यहाँ ‘RSP छाडीकी’ भनिएको छ । अर्थात भाषा बिग्रिएको छ । त्यसबाहेक यो सूचनाको आधिकारिक स्रोत के हो, कसले भनेको हो, कहिले भन्यो जस्ता प्रश्नको जवाफ राखिएको छैन । अन्तिममा उत्सुकता जगाउने किसिमको इमोजी प्रयोग गरिएको छ । अधिकांशले त्यही अशुद्ध हिज्जेसहितको पोस्ट कपी गर्दै आफ्नो वालमा सार्वजनिक गरेका छन् । 

त्यसपछि हामीले सुमना श्रेष्ठका आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्म नियाल्यौं । श्रेष्ठका फेसबुक (,), एक्स इन्स्टाग्राम अकाउन्टमा ‘जापान’बारे केही पनि जानकारी नराखेको पाइयो । पूर्वमन्त्री, पूर्व सांसद र युवा नेतृ रहेकी श्रेष्ठ जापान जान लागेको विषय साँचो भएको भए विभिन्न व्यावसायिक सञ्चारमाध्यममा सामग्री आउने थिए । तर कहीँ फेला परेन । 

श्रेष्ठलाई नै सम्पर्क गरेर यसबारे बुझ्दा उनले सोझै यस्तो दाबी मिथ्या भएको बताइन् । उनले भनिन्, “यी सबै फेक पोस्ट हुन् । म नेपालमै छु । यस्ता पेजले जहिल्यै भ्रम छर्छन् ।” 

यी विभिन्न तथ्यबाट पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वसांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेकी छन्  । 

दाबीकर्ता

‘शिक्षा Updates’, ‘Laxmi Gyanwali’, ‘nayapusta.com’, ‘Mahesh Mahara’ नामका फेसबुक पेज तथा अकाउन्ट लगायत अन्य । 

तथ्य

  • भाइरल भएका पोस्टमा हिज्जे अशुद्ध छ र सूचनाको कुनै आधिकारिक स्रोत खुलाइएको छैन । 

  • सुमना श्रेष्ठका आधिकारिक सामाजिक सञ्जाल (फेसबुक, एक्स र इन्स्टाग्राम) अकाउन्टमा जापान जानेबारे कुनै जानकारी राखिएको छैन ।

  • कुनै पनि व्यावसायिक र विश्वसनीय सञ्चारमाध्यममा यसबारे समाचार प्रकाशित भएको छैन ।

  • स्वयम् सुमना श्रेष्ठलाई सम्पर्क गर्दा उनले आफू नेपालमै रहेको स्पष्ट पार्दै भनिन्, “यी सबै फेक पोस्ट हुन् । म नेपालमै छु ।”

निष्कर्ष

पूर्वमन्त्री एवम् पूर्वसांसद सुमना श्रेष्ठ वर्किङ भिसामा जापान जान लागेको भन्दै सामाजिक सञ्जालमा फैलिएको दाबी मिथ्या हो ।




 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १८:४१