close

फिलिपिन्समा हिंस्रक अनलाइन गेम ‘गोरबक्स’ को प्रभावमा स्कुल गोलीकाण्ड भएको आशंका, एप प्रतिबन्धित

टेकपाना टेकपाना

असार १०, २०८३ १५:१८

फिलिपिन्समा हिंस्रक अनलाइन गेम ‘गोरबक्स’ को प्रभावमा स्कुल गोलीकाण्ड भएको आशंका, एप प्रतिबन्धित

काठमाडौं । फिलिपिन्सले अनलाइन गेमिङ एप ‘गोरबक्स’ माथि अस्थायी प्रतिबन्ध लगाएको छ । गत सोमबार ट्याक्लोबान सहरको सान जोसे नेशनल हाई स्कुलमा तीन जना विद्यार्थीको ज्यान जाने र अन्य २० जना घाइते हुने गरी भएको एक दुर्लभ विद्यालय गोलीकाण्डको केही दिनपछि उक्त एपमा प्रतिबन्ध लगाएको हो । विद्यार्थीहरूमाथि गोली चलाएको आरोपमा कक्षाा ९ मा अध्ययनरत एक जना १४ र अर्का १५ वर्ष उमेरका किशोरहरूलाई पक्राउ गरिएको छ । 

अनुसन्धानकर्ताहरूले पक्राउ परेका मध्ये एक किशोरले नियमित रूपमा सो गेम खेल्ने गरेको पाएपछि फिलिपिन्स सरकारले अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त गेममा खेलाडीहरूले विभिन्न हतियारहरू प्रयोग गर्न पाउनुका साथै यसमा अत्यधिक मात्रामा हिंसात्मक दृश्यहरू हुने गर्छन् ।

गुगल प्लेमा राखिएको गेमको विवरणमा गोरबक्सलाई “विभिन्न हतियार र विष्फोटक पदार्थहरूको विशाल भण्डार प्रयोग गरी क्रूर लडाइँमा सामेल हुने सकिने, अङ्गभङ्ग भएका दृश्यहरूलाई जीवन्त रूपमा देखाउने यथार्थपरक र्‍यागडल फिजिक्स तथा चरम हिंसात्मक प्रणालीको प्रत्यक्ष प्रभाव अनुभव गर्न सकिने खेल” का रुपमा रूपमा वर्णन गरिएको छ ।

सन् २०२३ मा एफटु गेम्स ले बजारमा ल्याएको गोरबक्स गुगल प्लेमा १ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यसमा देखाइने अत्यधिक हिंसात्मक दृश्यहरूका कारण उमेर वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था International Age Rating Coalition  ले यसलाई आर१८ (१८ वर्षभन्दा माथिका लागि मात्र उपयुक्त) को श्रेणीमा राखेको छ । 

फिलिपिन्सको साइबर अपराध अनुसन्धान तथा समन्वय केन्द्र (सीआईसीसी) ले अनुसन्धान नसकिउन्जेलसम्मका लागि पूर्वसावधानी उपाय स्वरूप उक्त मोबाइल गेमिङ एपमाथि अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ । सीआईसीसीका उपसचिव अबोय पराइसोले भने, “यो दुःखद घटनामा कुनै अनलाइन प्रभावले भूमिका खेलेको हुनसक्ने सम्भावनालाई हामी बेवास्ता गर्न सक्दैनौं ।”

गार्डियनमा प्रकाशित रिपोर्टअनुसार गेममाथि लगाइएको अस्थायी प्रतिबन्धले उक्त प्लेटफर्मले पक्राउ गरेका किशोरहरूको गतिविधिमा कुनै भूमिका खेलेको थियो वा थिएन भन्ने विषयमा अधिकारीहरूलाई अनुसन्धान र मूल्याङ्कन गर्न समय उपलब्ध गराउने पराइसोले बताएका छन् । यो अस्थायी प्रतिबन्धसँगै युवा प्रयोगकर्ताहरूका लागि जोखिम निम्त्याउन सक्ने कुनै पनि अनलाइन माध्यमहरूको पहिचान गर्न र तत्काल उपयुक्त कदम चाल्न अनुगमन प्रयासलाई अझ सुदृढ बनाइने पनि उनले बताए ।

फिलिपिन्समा गैरकानुनी हतियारहरूको बढ्दो सङ्ख्याका कारण बन्दुकको प्रयोग हुने अपराधहरू सामान्य मानिन्छन् । तर विद्यालयहरूमा हुने गोलीकाण्ड भने तुलनात्मक रूपमा दुर्लभ नै हुन् । फिलिपिनो प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार प्रारम्भिक सोधपुछबाट घटनामा संलग्न कक्षा ९ मा अध्ययनरत १४ र १५ वर्षका किशोरहरू विद्यालयमा दुर्व्यवहारमा परेको र सोही बदला लिनका लागि यो आक्रमण गरिएको हुन सक्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८३ १५:२२