काठमाडौं । कहिलेकाहीँ सोसल मिडियामा आउने 'स्पाम' जस्तो लाग्ने एउटा मेसेजले मानिसको जीवन र करिअरलाई कसरी पुरै बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्, रोबर्टो लोपेस । उनको कथा हलिउडको कुनै फिल्मको स्क्रिप्टभन्दा कम लाग्दैन ।
१० वर्षअघि आयरल्यान्डको डब्लिनस्थित एक बैंकमा मोर्गेज सल्लाहकार (ह्वाइट-कलर डेस्क जब) को रूपमा काम गर्ने ३३ वर्षीय यी डिफेन्डर अब २०२६ को विश्वकपको नकआउट चरणका लागि केप भर्डेको राष्ट्रिय टोलीबाट साउदी अरेबिया विरुद्ध जित निकाल्ने दाउमा छन् ।
फुटबल जगतमा पिको उपनामले चिनिने रोबर्टो आयरल्यान्डमा जन्मिएका हुन् र उनले आयरल्यान्डको अन्डर-१९ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । पहिले उनी बैंकमा काम गर्दै बोहेमियन्स क्लबका लागि पार्ट-टाइम फुटबल खेल्थे । तर, अफिसको काममा त्यति रमाइलो महसुस नगरेका उनलाई सन् २०१७ मा शामरक रोभर्स क्लबले फुल-टाइम फुटबल खेल्ने प्रस्ताव राख्यो, जसलाई स्वीकार्दै उनले जागिर छाडे ।
उनको जीवनको सबैभन्दा ठुलो र रोचक मोड त्यतिबेला आयो, जब केप भर्डेको राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक एवं पूर्व बेन्फिका स्ट्राइकर रुइ अगुआसले उनलाई प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनमा सम्पर्क गरे । प्रशिक्षक अगुआसले रोबर्टोका बुबा कार्लोस, केप भर्डेका हुन् भन्ने पत्ता लगाएका थिए ।
सुरुमा अगुआसले पोर्चुगिज भाषामा मेसेज पठाएका थिए । तर रोबर्टोले त्यसलाई कुनै स्पाम (अनावश्यक मेसेज) ठानेर पुरै बेवास्ता गरे । रोबर्टो हाँस्दै भन्छन्, "नौ महिनापछि उहाँले मलाई फेरि अङ्ग्रेजीमा मेसेज गर्दै प्रस्तावबारे केही सोच्नुभयो कि भनेर सोध्नुभयो । मलाई पहिले मेसेजको रिप्लाई नगरेकोमा एकदमै नराम्रो लाग्यो । त्यसपछि मैले त्यो पुरानो मेसेज गुगल ट्रान्सलेटमा राखेर अनुवाद गरें । त्यसमा 'के तपाइँ केप भर्डेको राष्ट्रिय टिमबाट खेल्न इच्छुक हुनुहुन्छ ?' भनेर सोधिएको रहेछ । म एकदमै उत्साहित भएँ र १०० प्रतिशत खेल्न तयार छु भनें ।"
यसरी सन् २०१९ मा टोगोविरुद्ध २-० को जित निकाल्दै उनले केप भर्डेको ब्लु सार्क्स टिमबाट डेब्यु गरे । त्यसयता उनी टिमको रक्षापङ्क्तिको मुख्य आधार (सेन्टर-ब्याक) बनेका छन् । अफ्रिकन कप अफ नेसन्स २०२३ मा इजिप्ट जस्तो बलियो टोलीलाई पछि पार्दै समूह विजेता बनेको यो टोली क्वाटरफाइनलमा भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तर अक्टोबरमा इस्वाटिनीलाई ३-० ले हराउँदै केप भर्डेले आधिकारिक रूपमा विश्वकप २०२६ को टिकट काट्यो । विश्वकपमा छनोट भएको केही दिनमै रोबर्टो र उनकी श्रीमती लिआले आफ्नो पहिलो सन्तान (छोरा) डिएगोलाई जन्म दिए, जसले उनको खुसीको सीमा नै रहेन ।
एक सानो टापु राष्ट्रको ठुलो सपना
पश्चिमी अफ्रिकाको तटमा अवस्थित १० वटा टापुहरू मिलेर बनेको केप भर्डेको जनसङ्ख्या करिब ५ लाख २५ हजार मात्र छ । सन् १९८६ मा मात्र फिफाको सदस्यता पाएको यो देश, जनसङ्ख्याको हिसाबले विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा साना देशहरूमध्ये एक हो ।
यहाँको फुटबल सङ्घमा जम्मा ७ जना मात्र पूर्णकालीन कर्मचारी छन् भने अन्तर्राष्ट्रिय खेलका टिकटहरू स्थानीय बेकरी र पेट्रोल पम्पहरूमा बेचिन्छन् । ५ जुलाई १९७५ मा पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेयता, विश्वकप छनोटलाई यस देशको सबैभन्दा ठुलो ऐतिहासिक घटना मानिएको छ ।
सन् २००० मा अमिल्कार काब्राल कप जित्न मद्दत गरेका पूर्व मिडफिल्डर तथा फरवार्ड एन्सेल्मो जायर रिबेरो त्यो समय सम्झिन्छन्, जब टोली फिफा वरीयतामा १८२ औं स्थानमा थियो र उनले खेल्न जाँदा आफ्नै खर्चमा प्लेनको टिकट काट्नु पर्थ्यो । आज टोली विश्व वरीयतामा ६३ औं स्थानमा आइपुगेको छ र ४ पटक अफ्रिका कप अफ नेसन्स खेलिसकेको छ । ५१ वर्षीय जायर भावुक हुँदै भन्छन्, "म मेरा हजुरबुबा र हजुरआमालाई सम्झिरहेको छु, किनभने उहाँहरू हाम्रो देशको यो ऐतिहासिक क्षण प्रत्यक्ष हेर्न आज हामीमाझ हुनुहुन्न ।"
प्रवासीहरूको उत्साह र आशा
केप भर्डेको यो सफलताले विदेशमा रहेका नागरिकलाई पनि ठुलो उत्सवको मौका दिएको छ । अमेरिकाको म्यासाचुसेट्स राज्यमा मात्र करिब ७० हजारदेखि ९० हजारको सङ्ख्यामा केप भर्डेका नागरिकहरू बसोबास गर्छन्, जो सन् १८५० को दशकदेखि ह्वेल माछा मार्ने र समुद्री कामदारको रूपमा त्यहाँ पुगेका थिए ।
बोस्टनको डोर्चेस्टरमा रहेको थोनिज बार्बरशपका मालिक एन्टोनियो आल्भेसका लागि यो गर्वको विषय हो । १८ वर्षको उमेरमा अमेरिका पुगेका एन्टोनियोको पसलको भित्तामा केप भर्डियन फुटबल फेडेरेसनको ब्यानर छ र छतमा निलो र सेतो रंगको सार्क झुन्ड्याइएको छ । "मेरा ग्राहकहरू यहाँ कपाल काट्न मात्र आउँदैनन्, राजनीति, जीवन र खेलकुदका गफ गर्न आउँछन्," उनी भन्छन् ।
एन्टोनियो र उनकी श्रीमती नेउजाले राजधानी प्राइयास्थित १५,००० दर्शक क्षमताको राष्ट्रिय रङ्गशालामा बालबालिकाहरूलाई गएर खेल हेर्न टिकटको प्रायोजन समेत गर्दै आएका छन् । "केप भर्डेको हरेक टापु र कुनामा खाली खुट्टा फुटबल खेल्ने बच्चाहरूको सपना प्रोफेसनल खेलाडी बन्ने हुन्छ," एन्टोनियो थप्छन् ।
फिफाले ३२ टिमबाट बढाएर ४८ टिम पुर्याएको यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भइरहेको छ । विश्वकपको पहिलो खेलमा सन् २०१० को च्याम्पियन स्पेनलाई ०:० मा रोकेर सनसनी मच्चाएको केप भर्डेले सोमबार दुई पटक (१९३० र १९५० को) को विश्व विजेता उरुग्गेसँग २:२ गोलको बराबरी खेल्यो ।
यो समूहमा साउदी अरेबिया पनि छ, जोसँग केप भर्डेले आउँदो सनिबार समूह चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । उच्च मनोबलमा रहेको यो टोलीले साउदीलाई पराजित गरेमा सजिलै नकआउट चरणमा पुग्नेछ ।
रोबर्टो लोपेस आफ्नो टोलीको अठोट व्यक्त गर्दै भन्छन्, "हामी कठिन समूहमा छौं भन्ने हामीलाई थाहा छ, तर हामीले यो योग्यता आफ्नै बलबुतामा हासिल गरेका हौं । हाम्रो पहिलो लक्ष्य समूह चरण पार गर्नु हो ।"
एउटा अनपेक्षित लिंक्डइन मेसेज, गुगल ट्रान्सलेटको सहयोग र एउटा बैंक कर्मचारीले देखेको विश्वकपको सपना-यी सबैले गर्दा आज केप भर्डेको विश्वकप यात्रा फुटबल इतिहासकै एउटा सबैभन्दा सुन्दर र प्रेरणादायी कथा बनेको छ ।
-रोयटर्स/बीबीसी
पछिल्लो अध्यावधिक: असार १०, २०८३ १५:४४
