close

भाइरल हुने लोभमा व्यस्त सडकमा स्कुटर ‘स्टन्ट’ गर्ने युवकमाथि ट्राफिक कारबाही

टेकपाना टेकपाना

असार १८, २०८३ ७:३५

भाइरल हुने लोभमा व्यस्त सडकमा स्कुटर ‘स्टन्ट’ गर्ने युवकमाथि ट्राफिक कारबाही

काठमाडौं । बुटवलको व्यस्त सडकमा स्कुटर स्टन्ट गरेर चलाउने एक चालक ट्राफिक कारबाहीमा परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओको आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले चालकलाई पहिचान गरेर कारबाही गरेको हो ।

बुटवलको मिलनपथमा पहेँलो र रातो रङका दुई ओटा स्कुटरमा सवार युवकहरूले सडकको बीचमै स्टन्ट गरेको भिडिओ सार्वजनिक भएको थियो ।  उक्त भिडिओमा चालकहरूले स्कुटरको अगाडिको पाङ्ग्रा उचालेर (ह्विली गरेर) तीव्र गतिमा चलाएको देखिन्छ ।

सोही भिडिओको आधारमा प्रहरीले खोजी गर्दा लु ६४ प ७३५५ नम्बरको स्कुटर चालक विवेक श्रेष्ठलाई फेला पारेको हो । प्रहरीले उनलाई गत १२ असारमा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ अनुसार कारबाही गरी जरिबाना तिराएको छ ।

प्रहरीले कारबाहीको चिट र उक्त स्टन्टको भिडिओ सामाजिक सञ्जालमा राख्दै ट्राफिक नियमको पालना गरेर जिम्मेवार बन्न आग्रह गरेको छ । नेपाल प्रहरीले लेखेको छ, “स्टन्ट गरेर भाइरल होइन, नियम पालना गरेर जिम्मेवार बनौँ ।” 

पछिल्लो अध्यावधिक: असार १८, २०८३ ७:५३