अनुदानमा दिएका मौरीको घारको अनलाइन मनिटरिङ गर्दै स्याङ्जाको फेदीखोला गाउँपालिका
असार १७, २०८३ १९:१६
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रविधिको प्रयोग गरी मौरीपालन व्यवसायको अनुगमन सुरु गरेको छ । गाउँपालिकाले गत ४ असारमा ‘प्रथम फेदीखोला मौरी दिवस’ आयोजना गर्दै मौरीका घारको निरन्तर निगरानीका लागि ‘बी हाइभ मोनिटर’ (Bee Hive Monitor) प्रणाली सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार यो प्रणालीमार्फत स्थानीय कृषकलाई अनुदानमा उपलब्ध गराइएका मौरीका घारको प्रभावकारिता अध्ययन गरिनेछ । गत वर्ष गाउँपालिकाले २४ घरधुरीलाई प्रतिघर २५ वटाका दरले घार वितरण गरेको थियो । ती घारमा गाउँपालिकाको ७० प्रतिशत र सम्बन्धित किसानको ३० प्रतिशत लगानी रहेको छ ।
अनुदानमा दिइएका घारको दुरुपयोग नहोस्, स्थानान्तरणका नाममा अन्य व्यक्तिलाई बिक्री नगरियोस् र मौरीको अवस्थाबारे जानकारी भइरहोस् भन्ने उद्देश्यले यो प्रणाली ल्याइएको अध्यक्ष सुवेदीले बताए । यो प्रणाली ‘भूमि सेवा’ नामक संस्थाले गाउँपालिकाको आवश्यकताअनुसार तयार पारेको संस्थाका प्रबन्ध निर्देशक मदन पौडेलले जानकारी दिए ।

यसरी गरिन्छ अनुगमन
गाउँपालिकाले मौरीपालक किसानको सम्पूर्ण विवरण अनलाइनमा सूचीकृत गरेको छ । अनुदानमा दिइएका प्रत्येक घारमा ‘क्युआर कोड’ टाँसिएको छ । मोबाइलबाट उक्त कोड स्क्यान गर्दा घार कुन किसानको हो र कहाँ राखिएको छ भन्ने जानकारी तुरुन्तै प्राप्त हुन्छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार किसान र गाउँपालिकाका कर्मचारी दुवैले विवरण अद्यावधिक गर्न सक्ने गरी दुई किसिमका ‘ड्यासबोर्ड’ निर्माण गरिएको छ । किसानले घारको अवस्था, मौरीको स्वास्थ्य, स्थानान्तरण र चरिचरनको विवरण तस्बिर र भिडिओसहित अपलोड गर्नुपर्ने हुन्छ ।
यसका लागि किसानले आफूलाई सहज लाग्ने सरल भाषा प्रयोग गर्न सक्छन् । यदि मौरीमा कुनै समस्या देखिएमा यही प्रणालीमार्फत कृषि शाखामा जानकारी गराई प्राविधिक सहयोग माग्न सकिने व्यवस्था छ ।

यो प्रणाली ‘कोबोटुलबक्स’ (KoboToolbox) नामक ओपन सोर्स प्रविधिमा आधारित छ । किसानले तस्बिर वा भिडिओ पठाउँदा घार रहेको स्थानको लोकेसनसमेत ड्यासबोर्डमा संकलन हुन्छ । यसले गर्दा घार तोकिएको ठाउँमा छ कि छैन भन्ने स्पष्ट हुन्छ ।
कर्मचारीहरूले यसैका आधारमा किसानको काम र उत्पादनको तुलनात्मक अध्ययन गर्छन् । प्रविधिमा कम साक्षर रहेका किसानलाई लक्षित गरी यो प्रणाली सजिलै चलाउन सकिने बनाइएको छ । यसअघि नै किसानहरूलाई यसबारे अभिमुखीकरण तालिम समेत दिइएको थियो ।

‘कोसेली घर’ मार्फत मह बिक्री
फेदीखोला गाउँपालिकाको कुल भू-भागको करिब ४६ प्रतिशत क्षेत्र सामुदायिक वनले ढाकेको छ । बाक्लो वन र चरनको उपलब्धताका कारण यहाँ ‘सेरेना’ जातको मौरी पालनमा किसानको आकर्षण बढेको छ । स्थानीय वातावरण अनुकूल हुने र यसको मह औषधीय गुणयुक्त हुने भएकाले सेरेना प्रजातिलाई प्राथमिकता दिइएको हो ।
हाल गाउँपालिकामा दुई हजार ६०० भन्दा बढी घारमा मौरी पालन भइरहेको छ । आगामी आर्थिक वर्षमा घारको संख्या १० हजार पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ५० प्रतिशत अनुदानमा थप १२० परिवारलाई घार वितरण गर्ने योजना रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
मौरीका लागि चरन क्षेत्र विस्तार गर्न गाउँपालिकाले हालै कृषकहरूलाई एक हजार वटा चिउरी र ४०० वटा कल्कीका बिरुवा वितरण गरेको छ । चिउरी र कल्की मौरीका लागि महत्त्वपूर्ण बहुवर्षीय पुष्पीय वनस्पति हुन्, जसले यो व्यवसायलाई दिगो बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ ।
उत्पादित मह बिक्रीका लागि गाउँपालिकाले सिद्धार्थ राजमार्गको किनारमा ‘कोसेली घर’ स्थापना गरेको छ । त्यहाँबाट प्रतिमाना १५ सय रुपैयाँका दरले मह बिक्री भइरहेको छ । सेरेना मौरी कृषक समूहले मह संकलन र बिक्रीको जिम्मेवारी लिएको छ । बजारमा महको माग राम्रो रहेकाले सबै उत्पादन कोसेली घरबाटै बिक्री भइरहेको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८३ १९:३७
