close

“पोर्न वेबसाइट हेर्नेलाई कारबाही हुन्छ” भन्दै साइबर ब्यूरोको नाममा भ्रामक ई-मेल, सचेत रहन अनुरोध

टेकपाना टेकपाना

असार १८, २०८३ १८:२६

“पोर्न वेबसाइट हेर्नेलाई कारबाही हुन्छ” भन्दै साइबर ब्यूरोको नाममा भ्रामक ई-मेल, सचेत रहन अनुरोध

 

काठमाडौ‌ । नेपाल प्रहरीको साइबर ब्यूरो र विभिन्न दर्जाका प्रहरी अधिकृतहरूको नाम दुरुपयोग गरी अनधिकृत र भ्रामक ई-मेलहरू पठाउने गरिएको पाइएको छ । ब्यूरोको नाम दुरुपयोग गरी “तपाईंको इन्टरनेट आईपीले अनुपयुक्त तथा अश्लील वेबसाइटहरू हेरेको पाइएकाले कानुनी कारबाही गरिनेछ” भन्ने किसिमका भ्रामक ई-मेलहरू पठाउने गरेको पाइएको हो । साइबर ब्यूरोले बिहीबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई ठगी गर्ने नियतले पठाइएका यस्ता अफवाहयुक्त ई-मेलहरूको विश्वास नगर्न आग्रह गरेको छ । 

प्रहरीका अनुसार पछिल्लो समय सर्वसाधारणको ई-मेलमा "Attention, it shows that your internet IP has been identified by the National Nepal Police Cyber Bureau as having accessed inappropriate, obscene and pornographic websites, which is a serious violation of the laws as prohibited by this country. Be assured that serious legal action will be taken against you if you fail to respond to this message" भन्ने जस्ता धम्कीपूर्ण र भ्रमपूर्ण म्यासेजहरू पठाएर ठगी गर्न खोजिएको गुनासो ब्यूरोमा प्राप्त भएको छ ।

यस्ता गलत तथा अफवाह फैलाउने ई-मेलहरूबाट बच्न साइबर ब्यूरोले निम्न सावधानीहरू अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । 

प्रहरीको आधिकारिक ई-मेल पहिचान: नेपाल प्रहरीले सधैँ nepalpolice.gov.np डोमेन भएको ई-मेल मात्र प्रयोग गर्ने भएकाले ब्यूरोको आधिकारिक ई-मेल ठेगाना [email protected] रहेको र यसबाहेक अन्य ठेगानाबाट आउने ई-मेल आधिकारिक नहुने जानकारी प्रहरीले दिएको छ ।

इन्टरनेटमा आउने सामग्रीको तथ्य जाँच (Fact Check) गर्न आवश्यक: ई-मेल तथा इन्टरनेटका विभिन्न माध्यमहरूमा पढिने वा देखिने संवेदनशील विषयहरूलाई बिना कुनै प्रमाण विश्वास नगर्न र त्यस्ता विषयहरूको पहिले सत्यतथ्य जाँच (Fact Check) गरेर मात्र विश्वास गर्न ब्यूरोले सर्वसाधारणमा अनुरोध गरेको छ ।

फिसिङ ई-मेलहरूलाई 'स्पाम' रिपोर्ट गर्न सुझाव: यस्ता 'फिसिङ ई-मेल' (Phishing E-Mail) हरू नेपालको मात्र नभई विश्वव्यापी रूपमै मुख्य समस्याका रूपमा देखा परिरहेकाले आफ्नो इनबक्समा आउने यस्ता अफवाहयुक्त ई-मेलहरूलाई तुरुन्तै "Mark as Spam" वा "Report Spam" गरी सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ १८:२६