डीगोले सन् २०२६ को ‘टप एन्ड टी-२०’ सिरिज नेपालमा लाइभ प्रसारण गर्ने, निःशुल्क हेर्न सकिने
असार ३२, २०८३ १४:१५
काठमाडौं । ओटीटी प्लेटफर्म ‘डीगो’ ले अस्ट्रेलियामा आयोजना हुने ‘२०२६ स्टडी एनटी टप एन्ड टी-२०’ सिरिज नेपालमा आधिकारिक रूपमा प्रसारण गर्ने भएको छ । अस्ट्रेलियाको डार्विनमा आगामी २० देखि ३० अगस्टसम्म आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू डीगो एपमार्फत नेपालभर प्रत्यक्ष हेर्न सकिनेछ ।
प्रतियगिताको प्रत्यक्ष प्रसारण मोबाइल, स्मार्ट टिभी वा कनेक्टेड डिभाइसमा डीगो एप डाउनलोड गरी वा डीगोको वेबसाइटमार्फत निःशुल्क हेर्न सकिने डीगोले जनाएको छ ।
डीगोका खेलकुद प्रमुख विपुल भट्टराईले नेपाली क्रिकेट समर्थकहरूको उत्साहलाई ध्यानमा राख्दै प्रतियोगिता निःशुल्क उपलब्ध गराउन लागिएको बताए । हरेक वर्ष डार्विनमा आयोजना हुँदै आएको टप एन्ड टी-२० सिरिज अस्ट्रेलियाको महत्वपूर्ण टी-२० प्रतियोगितामध्ये एक मानिन्छ ।
प्रतियोगितामा अस्ट्रेलियाका घरेलु तथा ‘बिग बास लिग’ सँग सम्बन्धित टोलीहरूसँगै पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्ड जस्ता टेस्ट खेल्ने राष्ट्रहरूसँग सम्बन्धित टोलीहरूको समेत सहभागिता रहने भएकाले यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पनि चासोका साथ हेरिँदै आएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत संस्करणमा पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो । डार्विनमा नेपालले खेलेका खेलहरूमा त्यहाँ रहेका नेपाली समर्थकहरूको उल्लेखनीय उपस्थिति र समर्थन देखिएको थियो ।
सन् २०२६ को संस्करणमा नेपाली टोली पुनः डार्विन फर्किने भएकाले यो प्रतियोगिता नेपाली क्रिकेट समर्थकहरूका लागि अझ विशेष हुने अपेक्षा गरिएको छ ।
डीगोले नेपालमा प्रमुख खेलकुद सामग्रीहरू दर्शकमाझ पुर्याउँदै आएको छ । यसअघि नेपाल प्रिमियर लिग लाइभ गरेको डीगोले फिफा विश्वकप २०२६ को पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ । डीगोले टप एन्ड टी-२० सिरिजमार्फत आफ्नो खेलकुद प्रसारणलाई थप विस्तार गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १४:४९
