close

शिक्षिकाले विद्यार्थी पिटेको भाइरल भिडिओपछि बाल अधिकार परिषद्‌ भन्छः यस्तोमा १०९‍८ मा कल गर्नु

टेकपाना टेकपाना

असार ३२, २०८३ ११:४४

शिक्षिकाले विद्यार्थी पिटेको भाइरल भिडिओपछि बाल अधिकार परिषद्‌ भन्छः यस्तोमा १०९‍८ मा कल गर्नु

काठमाडौं । काठमाडौँको बौद्ध, सिमलटारमा रहेको खवालुङ गुम्बा स्कुलमा एक शिक्षिकाले सानो बालकलाई निर्मम रूपमा कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय बाल अधिकार परिषद्ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषद्ले यस्ता हिंसाजन्य कार्य विरुद्ध बाल हेल्पलाइनको १०९‍८ नम्बरमा कल गरी उजुरी गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको ३२ सेकेन्ड लामो भिडिओमा शिक्षिका सोना रानाले एक विद्यार्थीलाई लाठीले हत्केलामा पटक-पटक हानेको देखिन्छ । लाठी प्रहारबाट विद्यार्थी पीडाले छटपटाउँदै लामो-लामो सास फेरिरहेको र अन्य विद्यार्थीहरू त्रसित अवस्थामा रहेको भिडिओमा प्रस्ट देखिन्छ । शिक्षिकाले विद्यार्थीलाई 'तिमीहरूले मलाई हेपेको होइन ? अब म तँलाई एक चान्स पनि दिन्नँ' भन्दै आक्रोशित मुद्रामा पिटेकी छिन् ।

भिडिओ सार्वजनिक भएपछि परिषद्ले विज्ञप्ति जारी गर्दै मन्दिर जस्तो पवित्र स्थलमा बालबालिकालाई यसरी क्रूरतापूर्वक पिट्नु अमानवीय, हृदयहीन र निर्दयी कार्य भएको बताएको छ । टेकपानाले गरेको खोजबिनका क्रममा यो घटना करिब एक वर्ष अगाडिको भएको पाइएको थियो । घटना पुरानो भए पनि यसले विद्यालयमा बालमैत्री सिकाइ वातावरण नभएको र शिक्षिकाको व्यवहार अमानवीय रहेको प्रमाणित गरेको परिषद्‌को ठहर छ ।

परिषद्ले बालबालिका सम्बन्धी ऐन, २०७५ को उल्लेख गर्दै बालबालिकालाई घर वा विद्यालयमा शारीरिक वा मानसिक दण्ड दिनु कसुर भएको स्पष्ट पारेको छ । यस्तो कार्य गर्नेलाई ऐनको दफा ७२ (३) (क) बमोजिम ५० हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । परिषद्ले विद्यालयमा बाल संरक्षण मापदण्ड लागु भए/नभएको र दोषीमाथि कारबाही भए/नभएको विषयमा पनि प्रश्न उठाएको छ ।

१०९‍८ मा उजुरी गर्न आह्वान

परिषद्ले विद्यालय वा जुनसुकै स्थानमा बालबालिकामाथि यस्ता दुर्व्यवहार वा हिंसा भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा राष्ट्रिय बाल हेल्पलाइन सेवाको निःशुल्क फोन नम्बर १०९‍८ मा सम्पर्क गरी उजुरी दर्ता गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रत्येक विद्यालयले बालबालिका विरुद्धको हिंसा रोक्न संस्थागत रूपमा बाल संरक्षण मापदण्ड निर्माण गरी लागु गर्नुपर्नेमा पनि परिषद्ले जोड दिएको छ ।

खवालुङ मोनेस्ट्री स्कुलका प्रिन्सिपल सुनिल रानाले उक्त भिडिओ पुरानो भएको र भिडिओमा देखिएकी शिक्षिकाले जेठ २०८२ मै व्यक्तिगत कारण देखाई जागिर छाडिसकेको बताएका छन् । भिडिओमा देखिएका बालक हाल सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

 

पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १२:४०