पैसा खाएको भन्दै गायक अशोक दर्जीमाथि कुटपिट गरेको भिडिओ भाइरल, के हो वास्तविकता ?
साउन ११, २०८३ १३:५४
काठमाडौं । सामाजिक सञ्जालमा बाल गायक तथा कलाकार अशोक दर्जीमाथि ‘पैसा लगेको’ भन्दै दुर्व्यवहार भएको देखिने एक भिडिओ निकै भाइरल भइरहेको छ । आइतबार दिउँसो करिब चार बजेतिर ‘Jonathan Tangluwa Baheeng Rai’ नामका प्रयोगकर्ताले अशोक दर्जीले पैसा लगेको भन्दै केही युवाले अश्लील शब्द प्रयोग गर्दै कुटिरहेको भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओलाई अन्य प्रयोगकर्ताहरूले समेत डाउनलोड गर्दै शेयर गरेपछि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
सार्वजनिक ३१ सेकेन्डको भिडिओमा ‘ तँ … गायककार मान्छे पैसा खाने अर्काको’ भन्दै एक युवकले दर्जीलाई बिच सडकमै गालामा थप्पड हानिरहेका छन् । दर्जी भने निरीह देखिएका छन् । गालामा हात राख्दै डराउँदै आफूलाई कुटिरहेका युवकलाई हेरिरहेको भिडिओमा देख्न सकिन्छ ।
भिडिओमा युवकहरूले “विचराको तनावको पैसा लगिदिने । दु:ख गरेर कमाएको पैसा लैजाने । गायककार भएर पैसा लगिदिने । के गरेको पैसा? पैसा कहिले दिने?” भनिरहेको सुन्न सकिन्छ । एक युवकले दर्जीलाई कुटपिट गरिरहेको भिडिओ खिच्न आग्रह गरेका छन् । दर्जीलाई कुटपिट गरिरहेका अर्का युवकले घटनाको भिडिओ गरिरहेको बताएका छन् ।
भिडिओ भाइरल भएपछि टेकपानाले गायक दर्जीलाई सम्पर्क गरेको छ । अशोक दर्जीले उक्त घटना करिब डेढ महिना पुरानो भएको बताए । उनले भने, “यस विषयमा मैले प्रहरीमा निवेदन समेत दिइसकेको छु । कसको गल्ती छ भन्ने कुरा त अनुसन्धानले नै देखाउँछ ।” उनले आफू हाल काठमाडौंमा भएको र घटनाको बारेमा आफैंले भिडिओ सार्वजनिक गरेर जानकारी दिने तयारी गरिरहेको उनले बताए ।
यता चलचित्र निर्माता तथा कलाकार नीता ढुङ्गनाले अशोक दर्जीको उक्त भिडिओ पुरानो भएको र सो सन्दर्भमा उजुरी दिएको जानकारी दिँदै निवेदनको फोटो शेयर गरेकी छिन् । आफ्नो प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’ का बाल कलाकार समेत रहेका दर्जीको उक्त भिडिओ सार्वजनिक भएकोमा दु:ख व्यक्त गर्दै उक्त निवेदन सार्वजनिक गरेकी हुन् ।
पोस्टमा उनले पनि घटना पुरानो भएको दाबी गरेकी छिन् । उनले लेखेकी छिन्, “घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर आएको छैन । हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि, सत्य के हो भन्ने कुरा निष्पक्ष रूपमा छानबिन हुन आवश्यक छ । कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन ।”
के छ निवेदनमा ?
इलाका प्रहरी कार्यालय अनारमणी बिर्तामोडलाई २२ असार २०८३ मा गायक दर्जीले आफू माथि चोरको आरोप लगाउँदै कुटपिट गरेर भिडिओ बनाउनेलाई कारबाहीको माग गर्दै निवेदन दिएको देख्न सकिन्छ । उक्त निवेदनमा एक महिना पहिला मामाघर जाँदा अंकीत प्रधान नाम गरेका व्यक्तिले महानन्द चोक गेट छेउमा मामाघरको दाजु पर्ने काजी नाम गरेका व्यक्तिबाट एक हजार रुपैयाँ लिएर गल्लीतर्फ गएको उल्लेख गरेका छन् । त्यसपछि लामो समयसम्म कुर्दा पनि नआएपछि आफूहरू स्कुटरमा बसेर घर फर्किएको उल्लेख गरेका छन् ।
उक्त घटनाको एक हप्तापछि देवी वस्तिको गेट नजिकै बोतलको पेट्रोल स्कुटरमा हालिरहेको बेलामा अंकीत प्रधान र शनिश्चरे बस्ने शुक्रे नाम गरेका युवकले आफूलाई एक्कासि चोर भन्दै भिडिओ बनाएको उनले निवेदनमा उल्लेख गरेका छन् । साथै आफूमाथि कुटपिट पनि गरेको, हजार रुपैयाँ चोरी गरेको आरोप लगाएको निवेदनमा उनले बताएका छन् । सो घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत राखिदिएको र आफ्नो भविष्यसँग खेलबाड गर्न खोजेको भन्दै उनले प्रहरीलाई गुहारेका छन् । ती युवकहरूलाई आफ्नो भिडिओ हटाउन अनुरोध गर्दा पनि धम्क्याइएको भन्दै उनीहरूमाथि कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले उक्त निवेदन इलाका प्रहरी कार्यालय अनारमणीमा २२ असारमा नै दर्ता भएको पुष्टि गरे । उनले भने, “यो निवेदन दिएपछि उहाँ कन्सर्टहरूमा सहभागी हुने भएर काठमाडौं तिर जानुभएको रहेछ । घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ । इलाका प्रहरी कार्यालयबाट घटनाको विषयमा थप बुझिरहेका छौँ ।” उक्त घटना जेठको अन्तिम तिरको भएको उनले बताए ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १३:५४
