झर्को लाग्ने फेसबुक फ्रेन्ड्सलाई ब्लक वा अनफ्रेन्ड नगरेरै पाखा लगाउने कसरी ?
साउन १०, २०८३ ८:२८
काठमाडौं । फेसबुकमा साथीहरू थपिँदै जाँदा कतिपय यस्ता व्यक्तिहरू पनि साथी बन्न पुग्छन्, जसका लगातारका पोस्ट वा गतिविधि झर्को लाग्ने किसिमका हुन सक्छन् । कहिलेकाहीं वास्तविक जीवनको सम्बन्धमा चिसोपन आएका कारण वा उनीहरूका विचार र पोस्टहरू दिक्क लाग्दा भएकाले पनि हामी उनीहरूबाट टाढा रहन चाहन्छौं ।
तर, सामाजिक वा व्यावहारिक बाध्यताका कारण सिधै अनफ्रेन्ड वा ब्लक गर्न अप्ठ्यारो हुन सक्छ । त्यस्ता झर्को लाग्ने साथीहरूलाई फेसबुकको सम्बन्ध नबिगारीकन कसरी पाखा लगाउने त ? यसका लागि फेसबुकले केही निकै उपयोगी र गोप्य सुविधाहरू उपलब्ध गराएको छ ।
१. ३० दिनका लागि विश्राम
यदि तपाईंको कोही साथी बिदा मनाउन गएको बेला धेरै तस्बिरहरू पोस्ट गरेर फिडमा स्पाम गरिरहेको छ वा कुनै प्रतिस्पर्धामा भोट माग्न लगातार पोस्ट गरिरहेको छ भने उसलाई अस्थायी रूपमा रोक्न सकिन्छ । यस्तो अवस्थामा स्नुज (Snooze) फिचर सबैभन्दा उत्तम विकल्प हो ।
यो फिचरले सम्बन्धित साथी वा तपाईंले फलो गरेको कुनै पेजलाई ३० दिनका लागि न्युज फिडबाट गायब बनाइदिन्छ । यो फिचर प्रयोग गर्न न्युज फिडमा ती साथीको पोस्टको दायाँ कुनामा रहेको तीनवटा थोप्लो (ellipsis) मा क्लिक गरी More options हुँदै Snooze ... for 30 days विकल्प छनोट गर्नुहोस् ।
३० दिनको अवधि सकिएपछि ती व्यक्ति स्वतः तपाईंको न्युज फिडमा पुनः देखा पर्न थाल्नेछन् । यसबारे ती साथीलाई कुनै जानकारी जाँदैन । यदि तपाईंलाई आफ्नो निर्णय बदल्न मन लाग्यो भने, उसको प्रोफाइलको कुनै एउटा पोस्ट खोल्नुहोस् र दायाँ तर्फको तीन थोप्ला भएको बटनबाट Manage your Feed हुँदै स्नुज हटाउन (End Snooze) पनि सक्नुहुन्छ । स्नुज अवधि समाप्त हुनु अघि फेसबुकले तपाईंलाई नोटिफिकेसनमार्फत सचेत गराउँछ ।
२. साथी रहिरहने, तर पोस्ट नदेखिने: अनफलो
कोही साथीसँग फेसबुकमा जोडिरहन मन छ तर उसको कुनै पनि पोस्ट न्युज फिडमा देख्न चाहनुहुन्न भने अनफलो (Unfollow) सुविधा उत्कृष्ट माध्यम हो । अनफलो गर्दा तपाईं साथी त रहिरहनुहुन्छ, तर उसको पोस्ट तपाईंको न्युज फिडमा आउँदैन । यद्यपि, उसले भने तपाईंका सबै पोस्टहरू देख्न सक्छ र तपाईंले चाहेको बेला उसको प्रोफाइलमा गएर पोस्ट हेर्न सक्नुहुन्छ ।
यसका लागि साथीको प्रोफाइलमा गएर Friends हुँदै Unfollow रोज्न सक्नु हुन्छ । यस बाहेक साथीको कुनै पोस्टसँगै रहेको तीन वटा थोप्ला भएको बटन हुँदै More options भित्र Manage your Feed मा गएर पनि Unfollow रोज्न सक्नु हुन्छ । धेरै साथीहरूलाई एकै पटक अनफलो गर्न मोबाइल वा डेस्कटपको Settings & Privacy > Settings > News Feed (वा Content preferences/Feed) मा गएर Unfollow विकल्प रोज्न सकिन्छ ।
३. रेस्ट्रिक्ट गर्ने
आफ्नो नयाँ हाकिम, सहकर्मी वा सम्बन्ध चिसिएको पूर्व-प्रेमी/प्रेमिकालाई आफ्नो व्यक्तिगत जीवनका तस्बिर वा पोस्टहरू देखाउन मन छैन तर अनफ्रेन्ड गरेर सम्बन्ध पनि बिगार्न चाहनुहुन्न भने रेस्ट्रिक्ट (Restrict) सुविधा प्रयोग गर्न सक्नु हुन्छ ।
यो फिचरले साथीलाई एक्वेन्ट्यान्स (चिनेजानेको) जोनमा राख्छ । रेस्ट्रिक्टेड लिस्टमा रहेका साथीहरूले तपाईंले Friends प्राइभेसी राखेर शेयर गरेका कुनै पनि पोस्टहरू देख्न सक्दैनन् । उनीहरूले केवल तपाईंले Public गरेका वा उनीहरूलाई ट्याग गरेका पोस्टहरू मात्र देख्न सक्छन् । यसबारे उनीहरूले कुनै नोटिफिकेसन पाउँदैनन् र उनीहरूको नजरमा तपाईंको र उनको मित्रता पहिले जस्तै देखिन्छ ।
यसका लागि डेस्कटप वा मोबाइल एपमा सम्बन्धित साथीको प्रोफाइलमा जानुहोस् । Friends बटनमा क्लिक गरेर Edit Friend List मा ट्याप गरेर Restricted चयन गर्नुहोस् । यति गरेपछि यो सेटिङ लागु हुन्छ । यसरी नै उनीहरूलाई यो सूचीबाट हटाउन (Unrestrict) पनि सोही प्रक्रिया अपनाई Restricted अनचेक गर्न सकिन्छ ।
४. टेक अ ब्रेक
विशेषगरी ब्रेकअप वा विवादपछि फेसबुकमा केही दूरी बनाउन टेक अ ब्रेक (Take a Break) फिचर डिजाइन गरिएको हो । यस अन्तर्गत फेसबुकले तीनवटा मुख्य विकल्प दिन्छ । पहिलो, तपाईंले उसको पोस्ट आफ्नो फिडमा देख्नुहुन्न (अनफलो) । दोस्रो, उसले तपाईंको प्राइभेट पोस्टहरू देख्न पाउँदैन (प्रतिबन्धित सूचीमा राखिन्छ) । तेस्रो, तपाईंहरूबिच पहिले भएका पुराना पोस्टहरूको प्राइभेसी परिवर्तन गर्ने वा डिलिट गर्ने सुविधा मिल्छ । यो सुविधा प्रयोग गर्दा पनि तपाईंहरू फेसबुकमा साथी रहिरहनुहुन्छ र अर्को व्यक्तिलाई यसको नोटिफिकेसन जाँदैन । यसका लागि सम्बन्धित फेसबुक फ्रेन्ड्सको प्रोफाइलमा जानुहोस् र Friends मा थिचेर त्यसभित्र रहेको Take a break बाट उपयुक्त विकल्प रोजेर Done गर्नुहोस् ।
५. मेसेन्जरमा म्युट गर्ने
कहिलेकाहीं फेसबुक फिडमा भन्दा पनि मेसेन्जरमा आउने मेसेजहरूले दिक्क बनाउन सक्छन् । यस्तो अवस्थामा मेसेज पठाउने व्यक्तिको मेसेज नोखोली नाममाथि केहीबेर थिचेर Mute this chat? विकल्पमार्फत १५ मिनेट, १ घण्टा, ८ घण्टा, २४ घण्टा, बिहानको अलार्मसम्म वा वा पुनः आफैंले अनम्युट नगरेसम्मका लागि नोटिफिकेसन बन्द गर्न सकिन्छ ।
६. अन्तिम कदम: ब्लक
यदि माथिका कुनै पनि उपायले काम गरेन र तपाईं सम्बन्ध पुरै तोड्न चाहनुहुन्छ भने अनफ्रेन्ड वा ब्लक अन्तिम विकल्प हुन् । अनफ्रेन्ड दुईतर्फी हुन्छ, जसले गर्दा दुवै जना एकअर्काको साथीको सूचीबाट हट्छन् र भविष्यका वा भूतकालका कुनै पनि प्राइभेट पोस्टहरू हेर्न सक्दैनन् । ब्लक सबैभन्दा कडा कदम हो, जसले तपाईंलाई एकअर्काका लागि पूर्ण रूपमा अदृश्य बनाउँछ । ब्लक गरेपछि उनीहरूले तपाईंको प्रोफाइल खोज्न, ट्याग गर्न, मेसेज पठाउन वा ग्रुपमा इन्भाइट गर्न सक्दैनन् ।
७. निष्क्रिय र नचिनेका साथीहरूलाई एकै पटक सफा गर्ने
यदि तपाईंको फेसबुकमा धेरै साथीहरू छन् र तीमध्ये को-को निष्क्रिय छन् वा कोसँग कम कुराकानी हुन्छ भन्ने थाहा पाउन चाहनुहुन्छ भने फेसबुकको मोबाइल एपमै यसको सजिलो उपाय छ ।
आफ्नो फेसबुक प्रोफाइलमा गई साथीहरूको सूची (Friend list) को See all मा ट्याप गर्नुहोस् र त्यसपछि Manage मा जानुहोस् र त्यहाँ रहेको Least interacted with विकल्पमा प्रवेश गरेपछि पछिल्लो ९० दिनमा तपाईंको प्रोफाइलमा सबैभन्दा कम अन्तरक्रिया भएका वा निष्क्रिय रहेका साथीहरूको सूची देखिन्छ । त्यहाँबाट तपाईंले पालैपालो वा Select multiple विकल्प प्रयोग गरी धेरै जनालाई एकै पटक अनफ्रेन्ड गर्न सक्नुहुन्छ ।
प्रोफाइल नियमित सफाइको महत्त्व
हाम्रो फेसबुक प्रोफाइलले रोजगारदाता वा नयाँ साथीहरूमा पहिलो छाप छोड्ने भएकाले यसलाई समय-समयमा सफा गरिरहनु आवश्यक छ । साथीहरूको सूची अडिट गर्नुका साथै पुराना र अनुपयुक्त पोस्टहरू हटाउने, नचाहिँदो ट्यागहरू हटाउने (Settings & Privacy > Settings > Activity Log मार्फत), आफ्नो व्यक्तिगत विवरण अपडेट राख्ने र प्राइभेसी चेकअप (Privacy Checkup) मार्फत आफ्नो अकाउन्टलाई सुरक्षित राख्ने बानी बसाल्नुपर्छ ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८३ ८:२८
