close

सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

टेकपाना टेकपाना

माघ २, २०७७ १५:३८

सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

काठमाडौं । सरकारले संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त एप सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाईनमार्फत उपलब्ध गराउन थालिएको छ । तर सेवा लिने माध्यम फरक फरक हुँदा सेवाग्राहीलाई झन्झट हुनेगरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो । यसले जनताको हातहातमा सरकारी सेवा पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले बताएका छन् ।

सचिव बस्यालका अनुसार वेटा भर्सनमा सार्वजनिक गरिएकाे एपमा हाल ९ वटा सेवा समेटिएकाे छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रुपमा लिइएको छ । त्यसैले यो एप राष्ट्रिय गौरवको आयोजना समेत बनाइएकाे मन्त्री गुरुङले बताएका छन् ।

मन्त्री गुरुङका अनुसार सबै सरकारी सेवालाई एउटै एपमार्फत उपलब्ध गराउने उदेश्यले याे एप सार्वजनिक गरिएकाे हाे । जसमा प्यान नम्बर लिने देखि आफूले बुझाएकाे करकाे विवरण समेत एपमार्फत हेर्न सकिने छ । भने, अबको तीन महिनाभित्र सबै सरकारी सेवा यो एपमा समावेश गर्ने समेत मन्त्री गुरुङले बताएका छन् ।

कार्यक्रममा भिडियो सन्देश मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई एप प्रयोग गर्न र आवश्यक सुधारका लागि सुझाव दिन आग्रह गरे ।

मन्त्रालयका अनुसार एपका लागि गृह मन्त्रालयसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको छ ।

यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर(प्यान) प्राप्त गर्न सकिने भएको छ ।

यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा लिन सक्नुहुनेछ । भने, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमकाे जनकारी समेत लिन सकिने छ । त्यस्तै एपमार्फत नै सरकारलाई गुनासो दर्ता गराउन समेत सकिने छ ।

हाल यती सेवा उपलब्ध भएतापनि नागरिक एपले सार्वजनिक सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने बताइएको छ । यसमा विस्तारै राष्ट्रिय परिचयपत्रलाई समेत जोडिनेछ उल्लेख गरिएको छ ।

यसबाट नागरिकको समय बचत हुनुका साथै झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भस्ट्राचार न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

जसअनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ । यो एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्नेछ ।

मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रुपमा पत्ता लगाउने छ । नागरिकता नम्बरकै भरमा एपले सम्बन्धित निकायको सिस्टममा पहुँच बनाउन सक्ने उल्लेख गरिएको छ ।

उदाहरणको लागि कुनै कार्यालयलाई तपाईंको प्यान विवरण चाहिने भए एपले राजश्व विभागको सिस्टमबाट स्वचालित रुपमा प्राप्त गर्न सक्छ । यसको अर्थ तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन ।

भने, नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन । एउटा क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिन्छ । यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्युनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१