close

हायर फोरके स्मार्ट टिभीको रिभ्यु

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ २६, २०७८ १४:२६

हायर फोरके स्मार्ट टिभीको रिभ्यु

काठमाडाैं । मान्छे जहिल्यै राम्रो, स्तरीय अनि उत्कृष्टको खोजीमा हुन्छ । तर कुनै समयमा उत्कृष्ट ठानिएको चिज पछि सामान्य बनिदिन्छ । प्रविधि क्षेत्र यो मामलामा अझै अगाडि छ ।

पातलो एलईडी टिभी आउँदै गर्दा हामीलाई त्यो नै सर्वोत्कृष्ट जस्तो लाग्थ्यो । समयसँगै त्यो अब पुरानो जमानाको टिभी बनिसकेको छ । त्यसैले स्मार्ट टिभी आजकल घर घरको शान बन्दै गएको पाइन्छ ।

यही मेसोमा आज म हायर Haier ब्राण्डको LE58K6600HQGA Smart Android Tv को रिभ्यु गर्दैछु । यो ५८ इन्चको टिभी हो । घरलाई मिनिथिएटरको फिल दिने सोचमा हुनुहुन्छ भने यत्तिको टिभी चाहिन्छ जस्तो लाग्छ ।

लुक्सवाइज कुरा गर्ने हो भने यो टिभीमा बेजल्सहरु एकदमै कम छ । त्यसमाथि यो टिभीले फाेरके रेजाेलुसनसँगै HDR10 अर्थात High Dynamic Range पनि सपोर्ट गर्छ ।

भन्नुको मतलब दृश्यहरु एकदमै स्तरीय कलरमा देखाउन सक्छ । जसले गर्दा टिभीमा नेटफिल्क्स वा युट्युवमा मुभी हेर्दा छुट्टै मजा आउँछ ।

तर सिनेमास्कोप राखिएका मुभी वा म्युजिक भिडिओ हेर्दा भने बेजललेस हुनुले कुनै फाइदा पुर्‍याएको आभास हुँदैन । फुल स्क्रिनमा हेर्दा भने छुट्टै आनन्द फिल हुँदो रहेछ ।

सायद त्यसैले होला मोबाइल होस् वा टिभी अधिकाँस ब्राण्डले बेजल्सलाई जति सक्दो कम गर्ने प्रयास गरेको पाइन्छ । जुन दौडमा Haier को यो टिभी अब्बल देखिन्छ ।

टिभीको पछाडिपट्टि हेर्ने हो भने अधिकांश स्मार्ट टिभीमा हुनेजस्ता USB, HDMI, HDMI ARC, Antena, Audio output पोर्टहरु त छन् नै, साथमा याे टिभिमा माइक्राे एसडी कार्ड स्लट पनि रहेछ ।

जसले पहिलो कुरा मोबाइलमा भएका फोटो वा भिडिओ टिभीमा हेर्न मन लाग्दा झनै सजिलो बनाउँछ भने दोस्राे, टिभीको स्टोरेज बढाउन पनि सहयोग पुर्‍याउँछ । दुईवटा यूएसबी पोर्ट भएकाले पेनड्राइभसँगै माउस वा किबाेर्ड राखेर टिभी चलाउन सकियो अनि एचडीएमआई पाेर्टको पनि यसमा कमी महसुस हुँदैन ।

किनकि एचडीएमआई २.० मात्र होइन, यसमा HDMI ARC पोर्ट पनि उपलब्ध छ । त्यस्तै यूएसबीबाट फोटो, भिडिओहरु हेर्न अनि गीत सुन्न मिल्छ । टिभीलाई अड्याउनका लागि स्टाइलिस स्ट्याण्डसँगै वालमाउन्टको अप्सन छुटेको छैन । 

यो एन्ड्राेइड टिभी हो, जुन कुरा मैले सुरुमै भनिसकेँ । एन्ड्राेइड ९ अपरेटिङ सिस्टम रहेकाले गुगल टिभीमा हुने सबै स्मार्ट फिचरहरु यसमा पनि उपलब्ध छन् । गुगल असिस्टेन्ट ईन-ब्युल्ट रुपमा नै छ, जसले टिभी चलाउन रिमोटको ‘की’ हरु धेरै चलाइरहनु पर्दैन ।

किनकि बोलेर नै हामीले युट्युव चलाउन अनि भिडिओहरु खोज्न सक्छौं । यसमा भएको ‘भ्वाइस सर्च’ को क्षमता ठीकठाक नै छ। रिमोट ब्लुटुथ ५.० मार्फत कनेक्ट हुने भएकाले यसका पनि छुट्टै फाइदा छन् । जस्तो कि रिमोट जता फर्काएर चलाउँदा पनि भयो । ब्लुटुथ स्पिकर, हेडफाेन, गेम कन्ट्राेलर वायरलेस माध्यमबाट जोड्न सकियो ।

यस्तै एन्ड्राेइड टिभी एप मोबाइलमा राखेर त्यसले नै टिभी अपरेट गर्न पनि सकिन्छ । त्यस्तै मोबाइल वा ल्यापटपमा हेरिरहेको कुरा ठूलो स्क्रिनमा हेर्नका लागि यो टिभीमा ‘क्राेम कास्ट’ फिचर पनि छ ।

Haier को यो टिभी आफैँमा स्मार्ट त छ नै साथमा स्मार्ट होमको कन्सेप्टलाई पुरा गर्न चाहनेका लागि IoT Hub को रुपमा पनि काम गरिदिन्छ ।

भन्नाले तपाईंसँग अन्य डिभाइसहरु जस्तै फ्रिज, AC, Light हरु पनि स्मार्ट अर्थात Android System सपोर्ट गर्ने खालका छन् भने यो टिभीलाई नै सबै कुरा कन्ट्रोल गर्न मिल्ने केन्द्र बनाउन पनि सकिन्छ ।

अथवा भनौं सिंगो घरलाई नै स्मार्ट बनाउन खोज्दै हुनुहुन्छ भने यो टिभी त्यसको लागि उपयोगी हुन्छ ।

कलर टोनको कुरा गर्ने हो भने मलाई निकै राम्रो लाग्यो। टिभीको पिक्चर क्वालीटी एकदमै आकर्षक छ ।   त्योसँगै आफ्नो रोजाई अनुसारको कलर टेम्प्रेचर मिलाउन मिल्ने अप्सन पनि सबै स्मार्ट टिभीमा झैं यसमा पनि छुटेको छैन । एडभान्स भिडिओमा गएर हेर्ने हाे भने अरू थुप्रै अप्सनहरू पनि छन् ।

गेम माेड, पीसी माेड अन गर्ने अप्सन पनि भएकाले टिभीलाई गेम खेल्न वा पिसी मनिटरकाे रूपमा प्रयाेग प्रयाेग गर्न पनि सकिन्छ । अडियोको कुरा गर्ने हो भने यसमा डल्बी डिजटल डिकाेडर छ, जसले तपाईंलाई थिएटरको फिल घरमै दिन सक्छ । टिभिकाे साउन्ड निकै नै ठूलाे पनि सुनिन्छ, त्यसकारण सायदै तपाइलाइ एक्सटर्नल स्पिकरकाे आवश्यकता पर्छ हाेला ।

प्लेस्टोरमा टन्नै एप्लीकेशनहरु उपलब्ध छन् । रोजीछाडी इन्स्टल गरेर त्यसको मजा लिन सकिन्छ । यहाँ उपलब्ध गेमहरु खेलेर समय कटाउन पनि उत्तिकै मजा आउँछ ।

एकदमै लोकप्रिय मानिने युट्युवको लागि रिमोटमै Hot Key दिइएको छ । धेरैजसो टिभीमा YouTube को लागि Dedicated Button दिएको पाइदैनथ्यो ।

यसमा रहेछ जुन कुरा मलाई निकै मन पर्‍यो । नेटफ्लिक्सले अधिकांश रिमोटमा आफ्नो स्थान सुरक्षित गरिरहेकै हुन्छ यसमा पनि छ । तर टिभी जति स्मार्ट छ रिमोट चाहिँ हातमा लिँदा खासै स्मार्ट फिल हुँदैन । हेर्दा पनि एकदमै भद्दा छ अनि निकै ठूलो जस्तो पनि फिल भयो ।

अब मूल्यको कुरा गरौं । यो टिभीको बजार मूल्य एक लाख ३० हजार छ, तर नियोस्टोरले भने १ लाख १७ हजारमा यो टिभी बेचिरहेको छ ।

संक्षेपमा भन्दा जो साँच्चिकै आफ्नो घरलाई स्मार्ट बनाउन चाहन्छन्, उसका लागि यो टिभी गतिलो अप्सन बन्न सक्छ । त्यस्तै घरलाई मिनिथिएटर जस्तै बनाएर मुभीहरुको मजा लिने मन हुनेहरुको लागि पनि यो बेस्ट अप्सन हुन सक्छ ।

किनकि 4K, HDR10 भिडिओ सपोर्ट गर्ने भएकाले हाइ रेजुलेसन भिडिओ दमदार देखिन्छ। अनि अडियो पनि उत्तिकै मजाको रहेछ । तर Android को लेटेस्ट भर्सन भएका टिभीहरु बजारमा टन्नै आइसकेका छन् । रिलिज डेटको आधारमा हेर्ने हो भने अलि पुरानो पनि लाग्न सक्छ ।

यद्यपि, टिभीमा धेरै बेजल्सहरु छैन, अनि स्लीम पनि छ। जसले गर्दा टिभी साँच्चै स्मार्ट देखिन्छ। बाँकी यहाँको मर्जी । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२