close

ईमेल पठाउँदा ‘सीसी’ गर्ने कि ‘बीसीसी’ ? झुक्किँदा हुनसक्छ यस्तो गल्ती

टेकपाना टेकपाना

चैत २२, २०७८ १९:५१

ईमेल पठाउँदा ‘सीसी’ गर्ने कि ‘बीसीसी’ ? झुक्किँदा हुनसक्छ यस्तो गल्ती

काठमाडौं । तपाईँले ईमेल पठाउँदा ‘सीसी’ र ‘बीसीसी’ विकल्प त देख्नु भएकै होला । जिमेल सहित अन्य विभिन्न ईमेल सेवाप्रदायक कम्पनीले यो सुविधा दिइरहेका हुन्छन् ।

खासगरी ईमेलको अतिरिक्त कपी पठाउन यसको प्रयोग गरिन्छ । तर ‘सीसी’ तथा ‘बीसीसी’को अर्थ, त्यसको सही प्रयोग गर्न नजान्दा कतिपय प्रयोगकर्ता अलमलमा परिरहेका हुन्छन् ।

केही व्यक्ति तथा कम्पनीहरूले त अन्य व्यक्तिको ईमेलको सूची नै लिक गरिदिएका हुन्छन् । यस्तोमा कसैले रिप्लाई गर्दा अनावश्यक ईमेल आएर कहिलेकाहीँ तपाईँ पनि वाक्क दिक्क बन्नु भएको हुनसक्छ ।

त्यसैले आज हामी ईमेलमा प्रयोग हुने ‘सीसी’ र ‘बीसीसी’को विषयमा चर्चा गर्दै छौँ ।  

के हो ईमेलको सीसी र बीसीसीको अर्थ ? 

सीसी र बीसीसी दुवैले तपाईँले छनौट गरेका प्रापक ईमेल आईडीमा ईमेलको अतिरिक्त प्रति पठाउन सहयोग गर्दछन् । सीसीको पूरा रूप ‘कार्बन कपी’ हो, जुन खासगरी तेस्रो व्यक्तिलाई तपाईँले प्राथमिक प्रापकको रुपमा रहने गरी ईमेल पठाउन काम आउँछ ।

उदाहरणको लागि तपाईँले आफ्नो हाकिमलाई पठाउने ईमेलमा आफ्ना सहकर्मीहरूलाई सीसी गर्न  गर्न सक्नुहुन्छ । यस्तो ईमेल मुख्यतः तपाईँको हाकिमलाई नै पठाउन खोजिएको हुन्छ, तर त्यसमा तपाईँका सहकर्मी समेत जोडिएर रहेका हुन्छन् ।

तपाईँको हाकिमले सीसीमा रहेका तपाईँका सहकर्मीलाई देख्न सक्छ । जब तपाईँको ईमेलमा उनीहरूले रिप्लाई दिन्छन्, तपाईँको सीसीमा रहेका व्यक्तिलाई समेत समेत उक्त  रिप्लाई ईमेल पुग्छ ।

अब लागौँ बीसीसी तर्फ, जसको पूरा रूप ‘ब्लाइन्ड कार्बन कपी’ हुन्छ । जब ईमेलको कपी अर्को कसैलाई पठाउँदै हुनुहुन्छ, तर तपाईँ त्यसमा रहेको प्राथमिक प्रापकलाई उक्त कुराको जानकारी नहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले यो विकल्प रोज्नुपर्ने हुन्छ ।

उदाहरणको लागि तपाईँले प्राथमिक रुपमा आफू अन्तर्गत रहेको ट्रेनी अथवा इन्टर्नलाई पठाउन खोजेको ईमेलमा आफ्नो हाकिमलाई बीसीसी गर्न सक्नुहुन्छ । यस्तोमा तपाईँको ईमेल कुराकानी तपाईँको हाकिमले थाहा पाउँछ ।

तर तपाईँको ट्रेनी अथवा इन्टर्नलाई यस्तो ईमेल कुराकानी तपाईँको हाकिमले समेत देखिरहेको छ भन्ने कुराको जानकारी हुँदैन ।

यस्तो ईमेलमा जब तपाईँको ट्रेनी अथवा इन्टर्नले तपाईँको ईमेलको रिप्लाई लेख्छ, त्यस्तोमा तपाईँको हाकिमले भने त्यस्तो रिप्लाई पाउँदैन । साथै तपाईँको ट्रेनी वा इन्टर्नले बीसीसीमा भएका व्यक्तिलाई समेत देख्न सक्दैन । 

डेस्कटपबाट ईमेल पठाउँदा जिमेलमा कसरी गर्ने सीसी अथवा बीसीसी ? 

-जिमेलको डेस्कटप भर्सनमा सीसी वा बीसीसी प्रयोग गर्नका लागि सुरुमा आफ्नो वेब ब्राउजर खोल्नुहोस् र जिमेलको साइटमा जानुहोस् । 

-अब आफ्नो जिमेल अकाउन्ट साइन इन गर्नुहोस् । 

-जिमेलमा ईमेलको ड्राफ्ट तयार छ भने त्यसलाई खोल्नुहोस् अथवा माथि बायाँ कुनामा रहेको ‘कम्पोज’ (Compose) लाई छानेर नयाँ ईमेल तयार पार्नुहोस् । 

-अब आफ्नो ईमेलमा ‘न्यु मेसेज’ (New Message) विन्डोमा ‘टु’ (To) को पछाडि रहेको ‘सीसी’ (CC) वा ‘बीसीसी’ (BCC) छनौट गर्नुहोस् । यदि तपाईँ एक साथ दुवै विकल्प प्रयोग गर्न चाहनुहुन्छ भने दुवैमा क्लिक गर्नुहोस् । 

-यति गरिसकेपछि सुरुमा रहेको ‘टु’ (To) अघिको खाली ठाउँमा प्राथमिक प्रापकको ईमेल एड्रेस राख्नुहोस् ।

-त्यसैगरी ‘सीसी’ (CC) अगाडिको खाली ठाउँमा द्वितीय प्रापकको ईमेल आईडीहरू राख्नुहोस् । यहाँनिर ख्याल गर्नुहोस्, ‘सीसी’ (CC) खण्डमा रहेका व्यक्तिहरूलाई तपाईँको प्राथमिक प्रापकले देख्न सक्छ । 

-अब ‘बीसीसी’ (BCC) खण्डमा प्राथमिक प्रापकसँग लुकाउन चाहेका अर्थात उसले देख्न नपाओस् भनेर चाहेका प्रापकको ईमेल आईडी राख्नुहोस् । यति गरिसकेपछि ईमेलको विषय (subject) र ईमेलको मुख्य भाग (body) लेख्नुहोस् र ईमेल पठाउन ‘सेन्ड’ (Send) मा क्लिक गर्नुहोस् । 

जिमेलको मोबाइल एपमा कसरी गर्ने ?

-फोनबाट ईमेल पठाउँदा ‘सीसी’ (CC) अथवा ‘बीसीसी’ (BCC) गर्नका लागि सबैभन्दा पहिला मोबाइलमा रहेको जिमेल एप खोल्नुहोस् । 

-एपको तल दायाँ कुनामा रहेको ‘कम्पोज’ (Compose) बटनमा ट्याप गर्नुहोस् ।

-‘कम्पोज स्क्रिन’मा ‘टु’ (To) सँगै पछाडितर्फ रहेको तल फर्केको सङ्केतमा थिच्नुहोस् ।

-यति गरेपछि जिमेलले ‘सीसी’ (CC) र ‘बीसीसी’ (BCC) दुवै देखाउँछ । माथि उल्लेख गरिए अनुसार ‘टु’ (To), ‘सीसी’ (CC) र ‘बीसीसी’ (BCC) मा उपयुक्त प्रापक ईमेल आईडी राख्नुहोस् । 

-त्यसपछि ईमेलको विषय र मुख्य भाग लेखेर ईमेल पठाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५