close

राष्ट्रिय परिचयपत्रमा विवरण बिग्रिएर चिन्तित हुनुहुन्छ ? यसरी सच्याउन सकिन्छ गल्ती

टेकपाना टेकपाना

असार २०, २०८३ १२:२५

राष्ट्रिय परिचयपत्रमा विवरण बिग्रिएर चिन्तित हुनुहुन्छ ? यसरी सच्याउन सकिन्छ गल्ती

काठमाडौं । राष्ट्रिय परिचयप बनाउने क्रममा कतिपयको नाम, जन्ममिति वा अन्य व्यक्तिगत विवरणमा त्रुटि हुने गरेको पाइएको छ । यस्ता विवरण सच्याउन मिल्छ कि मिल्दैन र यसको प्रक्रिया के हो भन्नेबारे धेरैमा अन्योल रहेको देखिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार परिचयपत्रमा भएका कुनै पनि त्रुटिहरूलाई निश्चित प्रक्रिया पुरा गरेर सच्याउन सकिन्छ । विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक कमल प्रसाद पाण्डेले विवरण सच्याउने दुईवटा अवस्था र प्रक्रियाबारे जानकारी दिएका छन् ।

१. कार्ड छापिनुअगावै विवरण सच्याउने प्रक्रिया

यदि तपाईंले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता (इनरोलमेन्ट) गराउनुभएको छ, तर अहिलेसम्म परिचयपत्र छापिएको छैन भने विवरण सच्याउन सहज हुन्छ । यसलाई ‘पर्सनलाइजेसन’ हुनुभन्दा अगाडिको अवस्था भनिन्छ । यस्तो अवस्थामा सम्बन्धित व्यक्ति आफैँ जुनसुकै विवरण दर्ता एकाइमा उपस्थित भएर अनलाइन प्रणालीमार्फत आफ्नो विवरण अद्यावधिक गर्न सक्छन् । यसका लागि कुनै अतिरिक्त शुल्क लाग्दैन ।

२. कार्ड छापिसकेपछि विवरण सच्याउने प्रक्रिया

यदि तपाईंको राष्ट्रिय परिचयपत्र छापिएर हातमा परिसकेको छ र त्यसपछि मात्र विवरणमा त्रुटि भेटियो भने यसलाई प्रतिलिपि (डुप्लिकेट) प्रक्रियाबाट सच्याउनुपर्ने हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन र नियमावली अनुसार विवरण सच्याएर नयाँ कार्ड निकाल्नका लागि ५०० रुपैयाँ राजस्व दस्तुर तिर्नुपर्ने निर्देशक पाण्डेले जानकारी दिए । यस प्रक्रियामा पनि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु अनिवार्य हुन्छ ।

किन सच्याउने विवरण ? 

विवरणमा सानो त्रुटि हुँदा पनि भविष्यमा राहदानी बनाउन वा वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाँदा समस्या पर्न सक्छ । उदाहरणका लागि, कैलालीका चेतन उप्रेतीले आफ्नो बुबाको नामको एउटा अक्षर फरक पर्दा राहदानी बनाउन कठिनाइ भोग्नुपरेको थियो । यस्ता क्रिटिकल डेटा(नागरिकता नम्बर, ठेगाना, बुबाआमाको नाम) मेल नखाएमा सरकारी कामकाजमा बाधा पुग्ने भएकाले समयमै सच्याउन विभागको सुझाव छ ।

कहाँ जाने ? 

विवरण सच्याउनका लागि सेवाग्राहीले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, केही तोकिएका इलाका प्रशासन कार्यालय वा अभियानका रूपमा सञ्चालन भएका स्थानीय तहका केन्द्रहरूमा जान सक्छन् ।

आफ्ना कागजातहरूसँग मेल खाने गरी राष्ट्रिय परिचयपत्रको विवरण चुस्त राख्न र कुनै त्रुटि भएमा तुरुन्त नजिकैको दर्ता केन्द्रमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८३ १२:२५