close

गाउँका युवाहरूले आफ्नो बेइज्जत गरेर भिडि‌ओ भाइरल बनाइदिए पछि बालिकाले गरिन् आत्महत्या

टेकपाना टेकपाना

असार २१, २०८३ १९:२७

गाउँका युवाहरूले आफ्नो बेइज्जत गरेर भिडि‌ओ भाइरल बनाइदिए पछि बालिकाले गरिन् आत्महत्या

काठमाडौं । बारामा आफ्नो मानमर्दन हुने किसिमको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक किशोरीले आत्महत्या गरेकी छिन् । बाराको कलैया उपमहानगरपालिका-२१ की १३ वर्षीया सरिया खातुनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

गत १५ असारमा गाउँकै केही युवाहरूले बालिकालाई घेरेर अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडिओमा ती युवाले भोजपुरी भाषामा कुराकानी गर्दै बालिकालाई दुर्व्यवहार गरिरहेको सुनिन्छ ।

बालिकालाई बाँसको झाडीमा ‘बतासा’ भनिने एक युवकसँग देखेपछि युवाहरूले उनलाई घेरेर अश्लील र अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । भिडिओमा ती युवाहरूले बालिकालाई सिङ्गै गाउँका अगाडि लगेर बेइज्जत गर्ने धम्की दिइरहेको देखिन्छ भने बालिकाले रुँदै आफूलाई छाडिदिन अनुनय गरिरहेकी छिन् । सो क्रममा उनलाई थप्पड हान्ने र धकेल्ने समेत गरिएको भिडिओमा प्रस्ट देखिन्छ । अपमान गर्ने नियतले खिचिएको सो भिडिओ स्थानीय युवाहरूले नै सामाजिक सञ्जालमा फैलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार १५ असारमा भिडिओ खिचेर सार्वजनिक गरिएको थियो, त्यसको भोलिपल्टै बालिका आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

भिडिओ सार्वजनिक भएपछि सोही अपमान सहन नसकेर बालिकाले ज्यान फालेको परिवारको आरोप छ । घटनापछि पीडित परिवारले भिडिओमा देखिएका मध्ये सात जनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ र ‘बलात्कार उद्योग’को आरोपमा इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दिएको छ । जाहेरीका आधारमा प्रहरीले १७ असारमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी प्रमुख कुँवरले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । उनले टेकपानासँग भने, "घटनाक्रम हेर्दा भिडिओ सार्वजनिक भएको भोलिपल्ट नै आत्महत्या भएको देखिएको छ । यद्यपि, विषय अहिले अनुसन्धानकै क्रममा रहेकाले आत्महत्याको यकिन कारणबारे विस्तृत छानबिनपछि मात्र आधिकारिक रूपमा भन्न सकिन्छ ।"

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १९:३०