close

राज्यलाई उल्लु बनाउँदै क्रिकेट मैदानमै खुलेआम अनलाइन बेटिङको प्रचार !

टेकपाना टेकपाना

पुस १६, २०७९ १८:४३

राज्यलाई उल्लु बनाउँदै क्रिकेट मैदानमै खुलेआम अनलाइन बेटिङको प्रचार !

काठमाडौं । राज्यलाई उल्लु बनाउँदै खुलेआम क्रिकेट मैदानमा अनलाइन बेटिङको प्रचार भइरहेको पाइएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा प्रतिबन्धित अनलाइन बेटिङ प्रचार भइरहेकाे छ ।

प्रतियोगिताको मुख्य प्रायोजकसमेत रहेको वनएक्स ब्याट (1X Bat)को पृष्ठभूमि सट्टेबाजीसँग जोडिएकाे छ । आफूलाई अनलाइन न्युज पोर्टलका रूपमा प्रस्तुत गरेपनि यसकाे मुख्य कम्पनी वनएक्स बेट हाे ।

वनएक्स बेटको सहायक कम्पनी वनएक्स ब्याट नेपाल टी-२० लिगकाे शीर्ष प्रायाेजक रहेपनि सट्टेबाजीमा संलग्न नरहेकाे भन्दै आयोजक नेपाल क्रिकेट संघ (क्यान) पन्छिन खोजेको छ ।

“वनएक्स ब्याट आईसीसीबाट प्रमाणीकरण पाएको स्पोर्टिङ कम्पनी हो । जसरी रुस्लान भोड्काले रुस्लान एफएमको प्रचार गर्छ, वनएक्स बेटले पनि त्यसरी नै प्रचार गरेको हो,” नेपाल क्रिकेट संघ (क्यान)का महासचिव प्रशान्त मल्लले भने ।

सीजी ग्रुपका विभिन्न उत्पादनको उदाहरण दिँदै उनले वनएक्स ब्याटले फरक सेवा दिने दाबी गरे । यसो त इन्टरनेटमा वनएक्स ब्याट (1X Bat) सर्च गर्दा वनएक्स बेट (1X bet)कै रिजल्ट बढी देखिन्छ, जसले उक्त प्रतिबन्धित साइटलाई कुनै न कुनै रूपमा प्रवर्द्धन गरिरहेको देख्न सकिन्छ ।

यसअघि ०७८ वैशाखमा क्यानले आयोजना गरेको ट्राई नेसन्स ट्वान्टी–२० सिरिजमा खुलेआम अनलाइन बेटिङको प्रचार गरिएको थियो । डाफाबेट नामको उक्त अनलाइन बेटिङ साइट विवादित बनेपछि उक्त विज्ञापनको ठाउँमा डाफा न्युजको विज्ञापन राखेर चलाखी गरिएको थियो ।

यसपटक पनि मुख्य प्रयोजक बनेको वनएक्स ब्याटले अवैध रूपमा आफ्नो प्रचार गरेको देखिन्छ । नेपाल टी-२० लिग अहिले विभिन्न सट्टेबाजीका साइटमा पनि उपलब्ध छ । बेटिङ साइटका लागि चर्चित मानिएको वनएक्स बेट, बेट ३६५ जस्ता विभिन्न एप तथा वेबसाइटमा नेपाल टी-२० लिग बेटिङका लागि उपलब्ध छ ।

भारतमा फ्यानकोड एपमार्फत नेपाल टी-२० लिगको बेटिङ कोडसहित सट्टेबाजी भइरहेको पाइएको छ । यसबाट फिक्सिङसमेत हुनसक्ने अनुमान गरिएको छ । 

नेपालमा सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्धित छ । त्यसैले नेपाली भूमिमा यो काम गैरकानूनी मानिन्छ । नेपाल क्रिकेट संघ (क्यान)बाट प्रतियोगिता सञ्चालनका लागि कमर्सियल एण्ड स्ट्राटेजिक साझेदार सम्झौता गरेको सेभेन थ्री स्पोर्ट्स भारतमा सट्टेबाजी घरहरू सञ्चालन गर्ने उद्देश्यले दर्ता भएको हो ।

गत अगस्ट २०२२ बाट सञ्चालनमा आएको यो साइटले आफूलाई अनलाइन न्युज पोर्टल बताए पनि यसको पृष्ठभूमि वनएक्स बेटसँगै जोडिएको तर्क पुष्टि गर्न गाह्रो छैन । अहिले वनएक्स ब्याटले अन्य खेल र प्रतियाेगितामा पनि प्रायाेजन गर्न थालेकाे छ ।

याे घटनाक्रम थाहा हुँदाहुँदै पनि क्यानका पदाधिकारी माैन हुनुले थप प्रश्न उब्जाएका छन् ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १९:३