इसेवाको नाम दुरुपयोग गर्दै अनलाइन सट्टेबाजी, क्रिकेटर र कलाकारहरू ब्रान्ड एम्बास्डर भएको झुटो दाबी
असार २८, २०८३ १७:४२
काठमाडौं । डिजिटल वालेट कम्पनी ‘इसेवा’को नाम दुरुपयोग गर्दै खुलेआम अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्मको प्रचार भइरहेको पाइएको छ । इसेवाले नै सञ्चालन गरेजस्तो देखिने गरी विभिन्न डोमेन दर्ता गरेर अवैध सट्टेबाजी प्लेटफर्म चलाइएको पाइएको हो ।
विशेषगरी esewa12.app, esewa12.org, esewa12casino.com र esewa12casinonp.com गरी चार वटा डोमेनमार्फत यो बेटिङ प्लेटफर्म सञ्चालन भइरहेको देखिन्छ । जारी फिफा विश्वकप २०२६ को माहोलमा नेपाली प्रयोगकर्तालाई लक्षित गरी यो प्लेटफर्म सक्रिय बनाइएको हो, जसले आफूलाई नेपालको ‘क्यासिनो प्लेटफर्म’ दाबी गरेको छ ।
ग्राहक सहायताका लागिसमेत नेपाली मोबाइल नम्बर नै प्रयोग गरिएको छ । यतिसम्म कि, यस प्लेटफर्ममा हुने कारोबारको रकम सोझै डिजिटल वालेट इसेवाबाटै निकाल्न (विथड्र गर्न) सकिने दाबी समेत गरिएको छ ।
आफूलाई थप विश्वसनीय देखाउन यस प्लेटफर्मले आफ्नो नाममा पटक-पटक 'इसेवा १२ नेपाल' प्रयोग गर्ने गरेको छ ।

यस प्लेटफर्मको विस्तृत विवरण बुझ्न फुटर सेक्सन हेर्दा यो ‘हिमालयन हार्मोनी ग्रुप’ ले सञ्चालन गरेको उल्लेख भएको पाइयो । थप खोजी गर्ने क्रममा यस समूहले नेपालमा अन्य अनलाइन सट्टेबाजी प्लेटफर्म पनि निर्वाध रूपमा सञ्चालन गरिरहेको भेटिएको छ ।
८एमबेट्स (8Mbets), एमजे८८ (MJ88), इसेवा१२ (Esewa12), मगर३३ (Magar33) र एनपीआर७७ (NPR77) जस्ता नेपाली प्रयोगकर्तालाई नै लक्षित गरी तयार पारिएका बेटिङ प्लेटफर्म सोही कम्पनीले सञ्चालन गरेको देखिन्छ ।

यति मात्र नभई यो प्लेटफर्मले नेपाली क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामीलाई आफ्नो ‘मगर३३’ नामक प्लेटफर्मको ब्रान्ड एम्बेस्डर दाबी गरेको छ ।

त्यस्तै, टिकटकर एनी लेप्चा र गायिका मेलिना राईलाई ‘इसेवा १२’, अभिनेत्री केकी अधिकारीलाई ‘एमजे८८’ तथा गायक सबिन राई र मोडल कविता नेपालीलाई ‘मगर३३’ को ब्रान्ड एम्बेस्डरका रूपमा चिनाइएको छ । यद्यपि, यी सबै दाबी झुटो हुन् ।

इसेवाको नाम दुरुपयोग भएको विषयमा कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा उनले यस प्लेटफर्मसँग इसेवाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे । “इसेवाले बेटिङ वा सट्टेबाजी साइट सञ्चालन गर्ने कुरै आउँदैन,” ती प्रतिनिधिले भने, “यो सरासर हाम्रो ब्राण्ड र नामको दुरुपयोग हो । हामी यस विरुद्ध कानुनी उपचारको विकल्प खोज्दैछौँ ।”
नेपालमा जुवा तथा सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्धित छ । भौतिक वा अनलाइन कुनै पनि माध्यमबाट यस्ता गतिविधि सञ्चालन गर्न वा खेल्न पाइँदैन । वर्तमान सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको १०० दिने १०० बुँदे शासकीय सुधारको सूचीमा २४ घण्टाभित्र सम्पूर्ण बेटिङ साइटहरू बन्द गर्ने निर्णय समावेश गरेको थियो । सरकारका अनुसार हालसम्म दुई लाखभन्दा बढी सट्टेबाजी प्लेटफर्महरू प्रतिबन्ध भइसकेका छन् । तर, खेलकुदका ठूला प्रतियोगिताको समयमा यस्ता प्लेटफर्महरू हरेक दिन नयाँ-नयाँ नाममा सक्रिय हुने गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १८:१
