close

फेसबुकमा किन भेटिँदैनन् दुर्घटनाअघि जहाजबाट लाइभ गर्ने सोनु जैसवाल ?

यती विमान दुर्घटना

टेकपाना टेकपाना

माघ २, २०७९ १६:१

फेसबुकमा किन भेटिँदैनन् दुर्घटनाअघि जहाजबाट लाइभ गर्ने सोनु जैसवाल ?

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । चालक दलसहित कूल ७२ जना यात्रुमध्ये ६८ जनाकाे मृत्यु भएको पृष्टि भइसकेको छ । दुर्घटनापछि सामाजिक सञ्जालमा थुप्रै भिडिओ भाइरल भएका छन् ।

यसमध्ये विमानमा यात्रुले खिचेको भनिएकाे एउटा भिडिओ अहिले भाइरल भइरल छ । दुर्घटनामा परेका भारतीय नागरिक सोनु जैसवालले खिचेर फेसबुक लाइभ राखेको भनिएको याे भिडिओले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । सँगै याे भिडिओले थुप्रै जिज्ञासा र प्रश्न उब्जाएको छ ।

फेसबुकमा लाइभ गरिएको भनिएकाे भिडिओ के साेनु जैसवालकै अकाउन्टबाट खिचिएकाे हाे त ? सामाजिक सञ्जालभर उनैले खिचेको भिडिओ भनेर प्रचार भइरहे पनि पत्याउने आधार के छ त ?

अर्काेतर्फ विमानमा चढेको बेला फेसबुक लाइभ गर्न कसरी सम्भव भयो ? लाइभ गर्दा गर्दै विमानमा आगलागी भई दुर्घटना भएको देखिन्छ, त्यस्तो अवस्थामा फेसबुकमा भिडिओ कसरी शेयर भयो ? यी विषयमा धेरैको जिज्ञासा छ ।

लाइभ गर्दागर्दै फोन अफ भयो भने के उक्त लाइभ भिडिओ​ शेयर हुन्छ ?

सोनु जैसवालले फेसबुकमा लाइभ गरिरहँदा विमान दुर्घटनामा परेको बुझ्न सकिन्छ । विमान भूईँमा झरेको केही सेकेन्डसम्म उक्त भिडिओ चलेको देखिन्छ । यदि फेसबुकमा लाइभ गर्दागर्दै केही कारण डेटा कनेक्सन टुट्यो भने के सो लाइभ भिडिओ फेसबुकमा शेयर हुन्छ ?

वास्तवमा फेसबुकमा लाइभ राख्दै गर्दा केही कारणले कनेक्सन टुट्यो भने उक्त लाइभ टाइमलाइनमा शेयर हुन्छ । त्यसकारण सोनुले फेसबुक लाइभ गरेको पुस्टि हुन्छ ।

विमानमा चढेको बेला फेसबुक लाइभ गर्न कसरी सम्भव भयो ?

विमानमा यात्रा गर्दा यात्रुलाई पहिले नै फोन अफ गर्न वा फ्लाइट मोडमा राख्न अनुरोध गरिएको हुन्छ । आकाशमा उडिरहेको विमानमा इन्टरनेट चल्ने कुरा विश्वका अत्याधुनिक केही विमानमा मात्र उपलब्ध छ । यस्तो अवस्थामा सोनुलाई डेटा खोलेर लाइभ शेयर गर्न कसरी सम्भव भयो ? सेलुलर डेटा कति उचाइसम्म चल्छ भन्ने कुरा दूरसञ्चार कम्पनीले प्रयोग गरेका प्रविधिले निर्धारण गरेको हुन्छ ।

विभिन्न रिपोर्टले थ्रीजी वा फोरजी नेटवर्क समुन्द्र सतहदेखि १० हजार फिटमाथिसम्म सपोर्ट गर्ने उल्लेख गरेका छन् । सोनुले पोस्ट गरेको लाइभ भिडिओमा विमान जमिनभन्दा थाेरै उचाइमा उडिरहेको देखिन्छ । यस्तो अवस्थामा डेटा चल्छ । तर, भिडिओ त्यति प्रष्ट चलेको छैन । बीच बीचमा भिडिओ अड्केको देख्दा डेटा राम्रोसँग नचलेको सजिलै अनुमान लगाउन सकिन्छ ।

के भिडिओ लाइभ गर्ने व्यक्ति सोनु जैसवाल नै हुन् ?

सामाजिक सञ्जालमा भाइरल भिडिओ उक्त विमान दुर्घटनामा पर्नुअघि त्यहीँका यात्रुले खिचेको पुष्टि गर्ने विभिन्न आधार छन् । यात्रु बसेको सिटमा भएको लोगो, अगाडि ट्रेमा भएको विज्ञापन, विमानको पंखाको रंग, त्यहाँबाट देखिएको बाहिरको दृश्य आदिले त्यो भिडिओ दुर्घटनामा पर्ने यात्रुले खिचेको भन्ने देखाउँछ । तर, सोनु जैसवालले नै खिचेको भन्ने आधार के छ भन्ने धेरैको प्रश्न छ ।

नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको यात्रुको नाममा सोनु जैसवालकाे नाम पनि छ ।

फर्स्ट इन्डिया नामक फेसबुक पेजमा सोनु जैसवाल नामको फेसबुक अकाउन्टबाट पोस्ट भएको स्टोरीको स्क्रिन रेकर्ड पोस्ट गरिएको छ ।

त्यस्तै अन्य विभिन्न सञ्चार माध्यमले पनि उक्त स्क्रिन रेकर्ड शेयर गरेका छन् ।

सो सक्रिन रेकर्डमा अकाउन्ट नेमका पछाडि दुईओटा व्यक्तिको आइकन अर्थात् फ्रेन्डको आइकन रहेको छ । उक्त आइकनले प्रोफाइल लक गरेको वा प्राइभेसी फ्रेन्ड्समा राकेको संकेत गर्छ । यसको अर्को लजिक के हुन्छ भने उक्त अकाउन्ट लक गर्दा भिडिओ सो अकाउन्टमा साथी बनेका व्यक्तिले मात्र हेर्न पाउँछन् । त्यसैले उनको अकाउन्टमा एड भएका व्यक्तिले सो लाइभ भिडिओ भाइरल वा सार्वजनिक गरेको अनुमान लगाउन सकिन्छ ।

सोनु जैसवाल उत्तरप्रदेशको गाजिपुर जिल्लामा बस्ने गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा सोनु जैशवाल गाजीपुर (Sonu Jaiswal Ghajipur) सर्च गर्दा सबैभन्दा माथि आमा र बच्चाको फोटो प्रोफाइलमा भएको अकाउन्ट देखिन्छ । सजेसनमा देखिएको सो अकाउन्टको प्रोफाइल स्टोरीको स्क्रिनरेकर्डमा भएको प्रोफाइलसँग मिल्छ । यस्ता विभिन्न कुरालाई आधार बनाउने हो भने उक्त अकाउन्ट सोनु जैसवालकै भएको पु्ष्टि हुन्छ ।

साथै तथ्य जाँच गर्ने नेपाली प्लेटफर्म नेपाल फ्याक्ट चेकले भारतीय पर्यटकहरूलाई नेपालमा हवाई टिकट लगायतको व्यवस्था गरेका काठमाडौँ निवासी अजय साहसित कुरा गरेको थियो । ती व्यक्तिले पनि सोनुको फेसबुक अकाउन्ट यही रहेको र उनले फेसबुकबाट भिडिओ लाइभ गरेको पुष्टि गरेको नेपाल फ्याक्ट चेकले उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी आईएएनएसको एउटा समाचारमा सोनुका आफन्त रजत जैसवालले भिडिओ फेसबुकमा लाइभ भएको पुष्टि फेला पारेको छ । "सोनुले फेसबुकमा लाइभ गरिरहेका थिए। सोनु र उनका साथीहरु खुसीको मूडमा थिए। तर अकस्मात् आगो दन्कियो र स्ट्रिमिङ रोकियो", उनले भनेका छन् ।

फेसबुकमा किन भेटिँदैनन् दुर्घटनाअघि जहाजबाट लाइभ गर्ने सोनु जैसवाल ?

भिडिओ लाइभ गर्ने सोनु जैसवालको फेसबुक अकाउन्टमा प्राेफाइल लक गरिएकाले पोस्ट गरेका सामग्री हेर्न उनीसँग एड हुनुपर्छ । अन्य व्यक्तिले उनको भिडिओ हेर्न पाउँदैनन् । त्यसैले फेसबुकमा उनको नामसहितको लाइभ भिडिओ भेट्टाउन सकिँदैन ।

पछिल्लो अध्यावधिक: माघ २, २०७९ १६:४६