पूर्व-सांसद विनिता कठायतको पहिरनलाई लिएर तथानाम बोल्दै फेसबुक भिडिओ बनाउनेमाथि अदालतमा मुद्दा
साउन १, २०८३ १६:१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पूर्वसांसद विनिता कठायतको चरित्र हत्या गर्ने भिडिओ सम्प्रेषण गरेको अभियोगमा एकजना विरुद्ध मुद्दा दायर भएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा त्यस्तो भिडिओ राखेका रूपन्देहीका देवबहादुर बुढा विरुद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा सुरु भएको हो ।
जिल्ला सरकारी वकील कार्यालय, बागलुङले अभियुक्त बुढा विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबी गर्दै अभियोग पत्र दर्ता गराएको छ । साइबर अपराधको यो मुद्दा रूपन्देहीको तिलोत्तमा-११ भुपू सैनिक टोल स्थायी घर भई हाल पर्वतको कुस्मा-५ बस्ने ४१-४२ वर्षीय बुढासँग जोडिएको छ ।
बुढाले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्ट दिपुबाबु बीएम (deepubabu.bm) र टिकटक आईडी (@deep98477) बाट पूर्वसांसद कठायतको एउटा वनपिस पहिरनलाई लिएर अत्यन्तै तल्लो स्तरको टिप्पणीसहितको भिडिओ पोस्ट गरेका थिए । उनले भिडिओमा कठायतको तस्वीर राखी आफ्नै आवाजमा (भ्वाइसओभर) यस्तो आपत्तिजनक दाबी गरेका थिए:
"कुनै दिन रवि लामिछानेको ओतमा झुन्डिएर सांसद भवन प्रवेश गरेकी, माननीय समेत भइसकेकी विनिता कठायत अहिले यस्तो गेटअपमा देखिन्छिन् । यस्तो अवस्था देख्दा खेरि लाग्छ उनी बम्बैको कुनै कोठी तिर आफ्ना ग्राहकहरुसँग डिल गर्दै छिन् । मेरो आशंका यस्तो छ, तपाईंको के छ?..."
राजनीतिक असन्तुष्टिको नाममा चरित्र हत्या
प्रहरी हिरासतमा रहेका अभियुक्त बुढाले अनुसन्धान अधिकारी समक्ष दिएको बयानमा आफ्नो कसुर स्वीकार गर्दै यसको पछाडि राजनीतिक असन्तुष्टि रहेको दाबी गरेका छन् । बयानका क्रममा उनले नेपालका राजनीतिक दलहरूको व्यवहार र देशको राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि पोख्न टिकटक र फेसबुक रिलमा भिडिओ बनाउने गरेको बताएका छन् ।
उनले भनेका छन्:
"मिति २०८२ सालको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् तत्काल भदौ २३ गतेको घटनाको सम्बन्धमा अनुसन्धान कार्य सुरु भएको तर भदौ २४ गतेको घटनाका बारेमा कुनै अनुसन्धान कार्य नभएको र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको मलाई मन नपरेको हुँदा आफ्नो असन्तुष्टि भिडिओ बनाई पोस्ट गर्ने गरेको थिएँ ।"
उनले सामाजिक सञ्जालमा पूर्वसांसद कठायतको वनपिस कपडा लगाएको भिडिओ देखेपछि उनलाई 'बदनाम गरिदिने' उद्देश्यले उक्त अपमानजनक वाक्यहरू बोलेर भिडिओ रेकर्ड गरेको स्वीकारेका छन् । उनले प्रहरी समक्ष भनेका छन्, "महिलालाई व्यक्तिगत आरोप लगाई महिलाको अपमान हुने गरी भिडिओ बनाउनु मेरो गल्ती भयो, कानुन बमोजिम होस् ।"
सामाजिक सञ्जालमा आक्रोश
बुढाले पोस्ट गरेको सो भिडिओ सार्वजनिक भएपछि त्यसप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका छन् । फेसबुक र टिकटकका कमेन्ट बक्सहरूमा सयौं प्रयोगकर्ताहरूले उनको सङ्कुचित सोच, तल्लो स्तरको भाषा र चरित्र हत्या गर्ने प्रवृत्तिको विरोध गरेका थिए । कतिपय प्रयोगकर्ताले 'कसैको चरित्र हत्या गर्दा कत्तिको दिल दुख्छ त्यो सोच्नुपर्ने', 'व्यक्तिगत स्वतन्त्रताको सम्मान हुनुपर्ने' र 'यस्ता व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही हुनुपर्ने' भन्दै नेपाल प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी, घटनाको मौकामा बुझिएका स्थानीय साक्षीहरूले पनि यस्ता भ्रामक, तथ्यहीन र अमर्यादित सामग्रीले सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै कडा कारबाहीको माग गरेका छन् ।
के छ अभियोग ?
जिल्ला सरकारी वकिल कार्यालय, बागलुङकी सहायक जिल्ला न्यायाधिवक्ता समृद्धि केसीले अदालतमा दायर गरेको अभियोग पत्रमा प्रतिवादी बुढाले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको प्रमाणहरूले पुष्टि गरेको उल्लेख छ । उक्त कसुरमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको मागदाबी लिइएको छ ।
अब के हुन्छ ?
अभियोग पत्र दायर भएसँगै बागलुङ जिल्ला अदालतमा अभियुक्त बुढाको थुनछेक बहस सुरु हुनेछ । अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश जारी गर्नेछ । यो मुद्दाले नेपालमा राजनीतिक असन्तुष्टिका नाममा सामाजिक सञ्जालमा हुने लैङ्गिक हिंसा र व्यक्तिगत चरित्र हत्याको कानुनी दायरालाई थप बहसमा ल्याएको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ १६:३४
