‘सहमतिबिना रोजगारदाताले पासपोर्ट राखे ईमेल वा ह्वाट्सएपमार्फत जानकारी गराउनू: मलेसियास्थित राजदूतावास
असार ३०, २०८३ १८:३३
काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई मलेसियामा रहँदा वा यात्रा गर्दा आफ्नो राहदानी सधैँ आफैँसँग राख्न अनुरोध गरेको छ । मलेसियाको कानुन अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो परिचय खुल्ने कागजपत्र साथमै राख्नुपर्ने प्रावधानलाई मध्यनजर गर्दै दूतावासले मंगलबार (१४ जुलाई) मा एक सूचना जारी गर्दै सचेत गराएको हो ।
दूतावासले नेपाली नागरिकलाई रोजगारी प्रदान गर्ने सबै रोजगारदाताहरूलाई समेत आफ्ना नेपाली श्रमिकहरूले राहदानी सधैँ आफैँसँग राख्न पाउने व्यवस्था मिलाउन तथा त्यसको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
कानुनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति भएको अवस्थामा बाहेक श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न रोजगारदाताहरूलाई दूतावासले अनुरोध गरेको छ।
यदि कुनै पनि नेपाली नागरिकको राहदानी उनीहरूको सहमतिबिना रोजगारदाता वा अन्य कुनै पक्षले आफ्नो नियन्त्रणमा राखेको छ भने त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।
पीडित श्रमिकहरूले दूतावासको ह्वाट्सएप नम्बर +६०१६२४७२७७७ वा ईमेल [email protected] मार्फत जानकारी गराउन सक्ने जानकारी दिएको हो ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १८:४७
