काठमाडौं । अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो ।
फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट मेसेज इनबक्समा पहुँच पाउन सकिने सुविधा सन् २०१६ मा हटाएको थियो । प्रयोगकर्तालाई मेसेञ्जर एप इन्स्टल गर्न लगाउने यो फेसबुकको भद्दा प्रयासको थियो ।
"हामी प्रयोगकर्ताले फेसबुक एपभित्रै मेसेञ्जर इनबक्समा पहुँच पाउन सक्ने सुविधाको परीक्षण गर्दैछौँ र तपाईँहरूले चाँडै यो परीक्षण विस्तार भएको थाहा पाउनु हुनेछ," ब्लगपोस्टमा भनिएको छ ।
यद्यपि प्रयोगकर्ताको चासोलाई सम्बोधन गर्ने उद्देश्यका साथ कम्पनीले यो कार्य गर्न लागेको भने होइन । ब्लग पोस्ट हेर्दा यो प्रयास कन्टेन्ट फेला पार्ने र शेयरिङ गर्ने कार्यमा जोड दिने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।
जे भए पनि अब यो स्थायी फिचरको रुपमा उपलब्ध हुने आशा गर्न सकिन्छ । अहिलेसम्म मेसेञ्जर एपमा इनबक्स सीमित गर्ने फेसबुकको कार्य फेसबुककै अर्को एप डाउनलोड गर्न लगाउने तुच्छ तरिका लाग्ने गरेको थियो ।