close

अब फेसबुक मेसेञ्जर र इन्स्टाग्राममा आफ्नो कार्टुन अवतार राखेर भिडिओ कल गर्न सकिने

टेकपाना टेकपाना

असार २७, २०८० १७:५१

अब फेसबुक मेसेञ्जर र इन्स्टाग्राममा आफ्नो कार्टुन अवतार राखेर भिडिओ कल गर्न सकिने

 

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम र मेसेञ्जरका लागि नयाँ कार्टुन अवतार फिचर सार्वजनिक गरेको छ । प्रयोगकर्ताले भिडिओ कलमा आफ्नो अनुहार नदेखाएरै अवतारको माध्यमबाट हाउभाउ सहितको कुराकानी गर्न सकिने फिचर ल्याएको हो ।

कोरोना महामारीसँगै भिडिओ कल निकै लोकप्रिय भएको हो, तर कतिपयले त्यसको प्रक्रियामा सहज महसुस गरिरहेका हुँदैनन् । किन कि कुन पहिरन लगाउने, कपाल कस्तो देखिन्छ, अझ बिहान भर्खर ओच्छ्यानबाट ब्युँझिएको बेला छ भने आँखामा देखिने असर आदि कुराले चिन्तित बनाइरहेको हुन्छ ।

यस्तै खाले असहजतालाई सम्बोधन गर्न मेटाले इन्स्टाग्राम र मेसेञ्जरमा कार्टुन अवतार फिचर सार्वजनिक गरेको हो । "क्यामेरा बन्द गर्ने र खोल्ने बाहेक केही हदसम्म तपाईंलाई भिडिओ कलमा आफ्नो उपस्थिति जनाउने किसिमको कुनै तेस्रो विकल्प भइदिए गज्जब हुने थिएन ?" नयाँ फिचरको घोषणा गर्दै मेटाले राखेको पोस्टमा भनिएको छ ।

भिडिओ कलमा मेटाले ल्याएको कार्टुन अवतार फिचरले तपाईंको अनुहारको चाल, आँखा खोल्ने तथा बन्द गर्ने लगायतका हाउभाउ पच्छ्याउन सक्छ । मेटाको यो नयाँ फिचर एप्पलको फेसटाइम कलमा भएको इमोजी अवतारले जस्तै गरी काम गर्छ । नयाँ फिचर प्रवर्द्धन गर्न बनाइएको भिडिओ हेर्दा यसले आईओएस र एन्ड्रोइड दुवैमा काम गरेको देख्न सकिन्छ ।

त्यसबाट तपाईंले उल्लु, कुकुर तथा अन्य जनावरको कार्टुन अवतार रोज्न पनि सक्नु हुन्छ । कम्पनीको अवतार सिस्टम यसको बृहत् मेटाभर्स योजनाको मुख्य हिस्सा हो । किन कि यो तपाईं, तपाईंका साथी र सहकर्मीको कार्टुन तस्वीर हो, जसले मेटाले परिकल्पना गरेको भर्चुअल रियालिटीको संसारलाई पूर्णता दिने काम गर्नेछ ।

कम्पनीले फेसबुक र ह्वाट्सएपका लागि अर्को एउटा टुलमा पनि काम गरिरहेको जनाएको छ । जसको सहयोगमा एउटा लाइभ सेल्फी खिचेरकै भरमा सहजै आफ्नो अवतार तयार पार्न सकिनेछ । यसका लागि चाँडै एउटा अपडेट आउन सक्ने देखिन्छ । यसका साथै कम्पनीले इन्स्टाग्राम तथा फेसबुक स्टोरी, रिल्स, फेसबुक कमेन्ट, मेसेञ्जर र इन्स्टाग्रामको व्यक्तिगत मेसेजका लागि अवतार स्टिकर समेत सार्वजनिक गर्दैछ । 

पछिल्लो अध्यावधिक: असार २७, २०८० १७:५१